Online Nepal आइतबार, बैशाख १६ २०८१

धर्म संस्कृतीलाई रोक होइन, व्यवस्थित बनाउँ

धर्म संस्कृतीलाई रोक होइन, व्यवस्थित बनाउँ


मध्यान्तर
  • शुक्रबार, भाद्र १९ २०७७

  • नेपाल र नेपाली समाजमा धर्म संस्कृती रितिरिवाजको छुट्टै पहिचान रहँदै आएको छ । हामी चार जात छत्तिस बर्णहरुको आ–आफ्नै धर्म संस्कृती छ, जसको आफ्नै महत्व र पहिचान तथा धार्मिक, सांस्कृतीक विश्वास रहँदै आएको छ । लामो समयदेखि कोरोना भाइरसले गर्दा देश अहिले निषेधाज्ञा तथा बन्दाबन्दीको अवस्थामा छ, मानिसहरुलाई आपसी भेटघाट, जमघट, कुनै जात्रा चाडपर्व आफ्नै घरमा सुरक्षित रुपमा मनाउन सरकारको निर्देशन छ । तर हिजो राजधानीमा व्यापक जन सहभागिता रहेको रातो मछिन्द्रनाथको जात्रामा केहि तमासा देखिएको छ ।

    ललितपुरको जावलाखेलमा स्थानियले परम्परागतरुपमा मनाउँदै आएको रातो मछिन्द्रनाथको जात्रामा प्रहरी प्रशासन र रथ जात्रामा केहिबेर भएको झडपमा दर्जनौं रथयात्रामा सहभागि र प्रहरी घाईते भएका छन् । सरकारले देशको परम्परा र इतिहास बोकेको रातो मछिन्द्रनाथको रथ जात्रालाई व्यवस्थित बनाउनुको साटो बल प्रयोग गर्नु नाजायज नै हो । त्यसलाइ सामाजिक दुरी कायम गरी व्यवस्थित र स्वास्थ्य सुरक्षा अपनाइ संचालन गर्न दिनुपथ्र्यो । आजसम्मको इतिहास हेर्दा यसको आफ्नै महत्व र मान्यता छ । इतिहास र संस्कृतीको संरक्षण गर्नु राज्यको दायीत्व पनि हो । तर हिजोको ललितपुर घटना स्थानिय सरकार र प्रशासनबिचको समन्वयको अभाव हो ।

    प्रशासन, बिषेश गरी ललितपुरका प्रमुख जिल्ला अधिकारीको अहमताले यो घटना घट्न पुगेको हो । आज ललितपुरमा कर्फ्यू नै लगाउनु परेको छ । कर्फ्यू लगाएर समस्याको समाधान हुन्छ ? आफ्नो धर्म, संस्कृती तथा रितिरिवाजको जगेर्ना र संरक्षण गर्नु आम नागरिकको नैसर्गिक अधिकार हो । तर सरकारले जनताको अधिकार खोसेको छ । व्यवस्थित र मर्यादित बनाउनुपर्ने ठाउँमा दमन गर्ने नीति लोकतान्त्रिक पद्धति विपरित हो । त्यसले कुनैपनि स्थानिय धर्म संस्कृतीलाई दवाउने होइन, संरक्षण गर्नु सरकारको कर्तव्य हो । विहिबार ललितपुरमा घटेको घटनाको तत्काल छानविन गरी दोषीमाथि कडा भन्दा कडा कारवाहि हुनुपर्छ । कोरोना भाइरसका कारण रोकिएका यस्ता संस्कृती पर्वहरुलाई विश्व स्वास्थ्य संगठनको मापदण्डमा रहि व्यवस्थित र मर्यादित रुपमा संचालन गर्न दिनु पर्दछ ।

    प्रतिक्रिया
    थप समाचार