Online Nepal आइतबार, बैशाख १६ २०८१

तत्काल निषेधआज्ञा हटाउ, रोग होइन भोकबाट बचाउ

तत्काल निषेधआज्ञा हटाउ, रोग होइन भोकबाट बचाउ


सम्पादकीय
  • मंगलबार, भाद्र २३ २०७७

  • विश्वभर फैलिएको कोरोना भइरसको प्रभाव नेपालमा पनि प्रत्यक्ष रुपमा परेको छ । विगत ६ महिनादेखि देश लकडाउन र निषेधाज्ञाको अवस्थामा छ । आम नेपाली दाजुभाई तथा दिदिबहिनीहरु थुनिएर बस्नु परेको छ । तरपनि कोरोना संक्रमित घट्नुको साटो बढेको बढ्यै छ । सरकारले गत चैतमा लकडाउन गर्यो । त्यसपछि नियन्त्रणको न कुनै उपाय अपनाउन सक्यो, न विदेशिएकालाई व्यवस्थित रुपमा ल्याउन सक्यो । न त सिमानामा कडाइ नै गर्न सक्यो । न कन्ट्याक्ट ट्रेसिङको आधारमा पिसिआर परिक्षण नै गर्न सक्यो ! मात्रै जनतालाई लगातार घरैमा थुन्ने काम गर्यो । आज लाखौं नेपालीको रोजगारी गुमेको छ । त्यति मात्र होइन बिचल्लि नै भएको छ । यो लकडाउनको अवधिमा २ हजार भन्दा बढी व्यक्तिले आत्महत्या गरिसकेका छन् ।

    सरकार खाली प्रहरी प्रशासन लगाएर जनतालाइ थुन्ने काम मात्र गरिरहेको छ । तर ती जनताले के खाए ? कसरी बसेका छन् ? भन्ने कुरा सोच्न सकिरहेको छैन । बालुवाटार र सिंहदरबारको ओहोरदोहोरमा ६ महिना वितिसकेको छ । यस्तो तरिकाले कहिले कोरोना नियन्त्रणमा आउँछ ? तरपनि संक्रमणको जोखिम छ भनेर जनताले सरकारलाइ साथ दिइरहेका छन् । अब जनताको धैर्यताको बाँध फुट्न लागिसकेको छ । ६/६ महिना विना काम, विना आम्दानी जनता कसरी थुनिएर बसेका होलान् यसको कुनै पर्वाह नै छैन । सरकार जनताको कष्टमा बाँसुरी बजाइरहेको छ र आफ्नो सत्ताको आयु बढाउन आन्तरिक किचलो व्यवस्थापन गर्नमै व्यस्त छ ।

    अखिर लकडाउन केका लागि रहेछ भन्दा, सरकारको विरोध गर्नेहरुलाई दवाउने उत्तम विकल्प रहेछ । आम जनताले पनि यसलाई राम्ररी बुझेका छन् । आज विश्वले नै लकडाउनलाई कोरोना नियन्त्रणको विधि होइन भनेर स्विकार गरिसकेको अवस्था छ । विकसित तथा अल्पविकसित सानाठूला सबै देशले आर्थिक मन्दीको चपेटामा पर्ने डरले सुरक्षाका आधारभुत मापदण्ड लागु गरी लकडाउन खोलीसके । सामाजिक तथा भौतिक दूरी कायम हुने गरी आफ्ना दैनिक गतिविधिलाई संचालन गर्ने, व्यापार व्यवसाय गर्ने र रोजगारीका क्षेत्रहरुलाई खुल्ला गरिसकेका छन् । यस्तो परिवेषमा हाम्रो देशमा मात्रै लकडाउन गर्नु र अन्य विकल्प नअपनाउनु सरकारको चरम लापर्वाहि नै हो ।

    हाम्रो देश एक त अल्पविकसित, त्यसमाथि पनि गरिबी र वेरोजगार भएको ठाउँमा यसरी ६/६ महिना बन्द गर्दा अबको स्थिति के होला ? कल्पना गर्न पनि गाह्रो हुने अबस्था छ । आर्थिक बृद्धिदर नकारात्मक विन्दुमा पुगेको छ । हजारौं उद्योग व्यवसायहरु बन्द हुने स्थितिमा छन् । सरकाले त्यसलाई कहिल्यै सोच्न सकेन । लकडाउनले न कोरोना नियन्त्रणमा आउन सक्यो, न आर्थिक स्थिति सुधार्न सक्यो । यस्तो अबस्था देख्दा देख्दै किन गर्नुपर्यो लकडाउन र निषेधाज्ञा ? सरकार यो विषयमा तत्काल गम्भिर हुनपर्छ । खाली आफ्नो पद र सत्ता जोगाउनका लागि लकडाउनको अर्थ हुँदैन । अब पनि निषेधाज्ञा थपियो भने सर्वसाधारण देखि लिएर उद्योगी व्यवसायीहरुले खुलेर अवज्ञा गर्नेछन् ।

    दिनदिनै समाचार आइरहेको छ, कति जनता भोकले छट्पटाइरहेका छन् । सरकारले कुनै राहतको प्याकेज ल्याउन सकेको छैन । अब पनि लकडाउन थपियो भने जनता रोगले होइन की भोकले मार्न बाध्य हुनेछन् । रोग भन्दा भोक ठूलो हो । भोको पेटले रोगसँग लड्न सकिंदैन र भोको नहुनका लागि काम गर्ने बतावरण हुनुपर्यो । त्यसैले सरकार जनताप्रति उत्तरदायी छ र दयामाया गर्छ भने तत्काल निषेधाज्ञा हटाइ देशलाई आर्थिक रुपमा चलायमान बनाउ । जनतालाई रोगबाट भन्दा पनि भोकबाट बचाउ, मान्छे भोकबाट बाँच्यो भने रोगसँग आफैं लड्न सक्छ । यसतर्फ सरकारको गम्भिर ध्यानाकर्षण हुनु जरुरी छ ।

     

     

     

    प्रतिक्रिया
    थप समाचार