Online Nepal आइतबार, बैशाख १६ २०८१

अर्थशास्त्री होइन, अर्थतन्त्र बुझेको व्यक्ति अर्थमन्त्री हुनुपर्दछ

अर्थशास्त्री होइन, अर्थतन्त्र बुझेको व्यक्ति अर्थमन्त्री हुनुपर्दछ


मध्यान्तर
  • शनिबार, भाद्र २७ २०७७

  • एउटा उखान छ, पढेको भन्दा परेको मान्छे व्यवहारीक र अनुभवी हुन्छ । हाम्रो जस्तो सानो अर्थतन्त्र भएको देशमा यस्ता अनुभवी र अर्थतन्त्र बुझेको व्यक्तिले केही गर्न सक्छन् भन्ने उदाहरण विगतका अर्थमन्त्रीबाट थाहा पाइन्छ । अहिले देशमा दुई तिहाईको सरकार छ । यसलाई काम गर्न हुने बाधाअड्चन छँदैछैन भन्दा पनि हुन्छ । राणा शासनपछिको सबैभन्दा शक्तिशालि सरकार अहिले छ । तर यस्तो अवस्थामा पनि देशको आर्थिक विकास हुन सकिरहेको छैन । देशले एउटा विद्वान अर्थशास्त्री अर्थमन्त्री पाएको थियो ।

    सारा जनताको आशाको केन्द्र डा. युवराज खतिवडा थिए । जनताले नेकपाको सरकारसँग भन्दा अर्थमन्त्रीसँग बढी आशा गरेका थिए । तर त्यसको उपलब्धि सून्य भयो । उनको विद्वता व्यवहारमा देखिएन, उनले आफ्नो विद्वतालाई घमण्डमा परिणत गरे । आफु मात्र जान्ने अरु केही होइन भन्न थालेर देशको अर्थतन्त्र यो अवस्थामा पुर्याइदिए । हुन त देश विकास गर्नलाई इच्छाशक्ति चाहिन्छ, जहाँ इच्छा त्यहाँ उपाय भने जस्तो उनले त्यसो गर्न सकेनन् । आम लगानीकर्ता उद्योगी व्यवसायी तथा सर्वसाधारणलाई करको दायरा बढाइदिए तर आयको दायरा बढाईदिन सकेनन् । अर्थतन्त्र बढ्नुको साटो घट्ने प्रक्रिया सूरु भयो ।

    उनले योजना आयोग, राष्ट्र बैंक जस्ता ठाउँमा बस्दा जे गरे त्यो भन्दा बढी केही गर्न सकेनन् । नेकपाको सरकारको एउटा कमजोरी डा. खतिवडालाई अर्थमन्त्री नियुक्ति गर्दा भयो । अब नेकपाले त्यस्ता अर्थमन्त्री नियुक्त गरोस, जसले अहिलेको भाताभुङ्ग अर्थतन्त्रलाई सम्हाल्न सकोस । देशमा अहिले कोरोनाले गर्दा अर्थतन्त्र ओरालोमा लागेको छ । लाखौंको रोजगारी गुमेको छ । यसलाई व्यवस्थित गर्न विद्वान भन्दापनि अर्थतन्त्र बुझेको अर्थमन्त्री देशलाई आबश्यक छ ।

    पहुँच र नातावाद, कृपावाद भन्दापनि अनुभवी र क्षमतावान् साथै यो सरकारको गिरेको साख उठाउने अर्थमन्त्रीको खाँचो छ । देशको ढुकुटी जोगाउने र बढाउने काम अर्थमन्त्रीको हो । त्यो अहमता र घमण्डले हुँदैन । त्यो त अनुभवले मात्रै हुन्छ । हिजो सहमतिको सरकार हुन्थ्यो, भागबण्डामा मन्त्री छानिथ्यो तर आज एकलौटी सरकार छ, त्यस्तो भागबण्डा हुँदैन । त्यसैले सरकारको गिरेको साख उठाउन र गिरेको अर्थतन्त्र उठाउन योग्य र अनुभवी अर्थमन्त्री नियुक्ती गरियोस् ।

     

    प्रतिक्रिया
    थप समाचार