कवि– वैरागी जेठा
विल्कुलै असम्भव छ
फलामे किल्ला तोड्न आजको समयमा ।
शिशिरको याममा जीवन बुझ्न
कठिन छ प्रिय कमरेड !
वफादारी क्रान्तिमा होमिएका
लाल सेनाहरु भोकले छट्पटाइरहेछन्
तेपनि युद्ध जित्न भोक लुकाईरहेकै छन्
स्पातीमैदान भित्र ।
एक बृद्ध लाल सिपाही आकाशतिर हेर्दै
आँसु लुकाईरहेछ
गण्डकीबाट उठेका तुवाँलो फार्न
ऊ जीवनको गाथा कोरिरहेछ
क्रान्तिको ढोका बन्द गरिएको
विदारक समय हो ,यो र ?
कमरेड धनबहादुर
कमरेडहरुसँग निकै रुष्ट छ आजको दिन ।
भन्थ्यो धनबहादुर नर्कट र झारहरु उखेल्नु पर्छ
कमरेडलाई झारहरुले उखेलिदिए
शाहीका मान्छेहरु नै कमरेड भएपछि ,
यात्रा धरमरिएको छ
शहरमा फरफराईरहेका नर्कटहरु
कसरी भए कमरेड ? प्रश्न गर्छ , बृद्ध धनबहादुर
ऊ आजकल कमरेडहरुसँग
निकै आक्रोशित बनिरहेछ
इमान्दारी पूर्वक उसले युद्धलाई साथ दिएकै हो
भैरवगणका कमरेडहरुले भन्दा पनि
आफ्नै कमरेडहरुले बुट बजारेको देख्दा
निकै मुर्छित छ ऊ
मैले भन्ने गर्थे धने यस रंगीन वातावरणको भर छैन
मुटु थिचेर ,हाँस्न खोज्थ्यो
तर सक्दैन थियो हाँस्न ।
हामी कमरेडहरुका राता घोडा भयौँ
अघि बढिरह्यौँ
नदी झैँ कमरेडहरुले बजारे
म, हामी र धने जस्ता हजारौँ लाल घोडाहरु ।
पोखरीबाट उडिरहेका चराहरु
तप तप आँसु झारिरहेछन्
खुल्ला आकाशबाट पिशाचहरुले किल्ला बाँधेर
लालघोडाहरुलाई बध गरिएको
आँखाले हेर्नै सक्दैन
धने आजकल शहर आउँछ
र फेरि उराठ लाग्ने काँठतिर फर्कन्छ
ऊ कमरेडहरुसँग हातमिलाउँन मान्दैन
किनभने उसको मन पोखरीको
गहिराई जस्तै गरी दुखेको छ ।
धने वर्गीय लडाईँको गुलाफ हो
ति कमरेडहरुले हेक्कै गरेनन्
धनेलाई देखेर पोखरी रोइरहे छ ।