Online Nepal आइतबार, जेष्ठ ६ २०८१

कोरोनाविरुद्ध दुईअर्ब डोज खोप वितरण गर्ने विश्वव्यापी अभियानमा चीन

कोरोनाविरुद्ध दुईअर्ब डोज खोप वितरण गर्ने विश्वव्यापी अभियानमा चीन


मध्यान्तर
  • शुक्रबार, असोज २३ २०७७

  • काठमाडौं । कोरोनाभाइरसको खोप बनाउने र विभिन्न मुलुकमा २ अर्ब डोज वितरण गर्ने विश्वव्यापी अभियानमा चीन पनि औपचारिक रूपमा जोडिएको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले शुक्रबार कोभ्याक्स नाम दिइएको उक्त अभियानमा आफ्नो देश पनि जोडिएको जानकारी दिइन् ।

    ‘साझा समुदायको अवधारणालाई मजबुद् बनाउन र कोभिड–१९को खोप विश्वका सबै मानिसको पहुँचमा पुर्‍याउन गरिएको प्रतिबद्धतालाई सम्मान गर्न चीनले यो महत्वपूर्ण कदम चालेको हो’ –हुवाले ट्वीटरमा लेखेकी छन् ।

    सुरूमा बेइजिङले कोभ्याक्स अभियानमा जोडिन ढिला गरेको थियो । यस अभियानमा विश्व स्वास्थ्य संगठन, गाभी, द भ्याक्सिन अलाइन्स र द कोलियसन फर एपिडिमिक प्रिपेडनेस एन्ड इनोभेसन्सलगायत संस्थाहरू छन् ।

    एक सय ५६ राष्ट्र जोडिएको यस अभियानको उद्देश्य कोभिड–१९को खोप प्रदान गर्नु हो । सुरूमा खोप हरेक राष्ट्रका जोखिममा रहेका ३ प्रतिशत जनसंख्यालाई प्रदान गरिनेछ । त्यसपछि सबै मुलुकका २० प्रतिशत जनसंख्याकालाई खोप दिइने छ ।

    विश्व स्वास्थ्य संगठनका निर्देशक टेड्रोस अडानोम गेब्रियससले खोप सबै राष्ट्रमा पुग्ने तर सबैलाई नदिइने बताएका थिए ।

    गत वर्ष डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक देखिएको संक्रमणविरूद्ध लड्न छिटो केही नगरेको भन्दै आलोचना भएको थियो । अहिले कोभ्याक्समा जोडिएपछि बेइजिङले आफ्नो छवि सुधारेको छ ।

    ‘विश्वमा चीन आफ्नो एड्भान्स चरणका अनुसन्धान तथा विकासबाट र पर्यात उत्पादन क्षमताले धेरै भ्याक्सिन बनाउनेमा अग्रणी स्थानमा रहे पनि यसले कोभ्याक्समा जोडिने निर्णय गर्‍यो’ –प्रवक्ता हुवाले भनिन् ।

    कोभिड–१९को खोपको तेस्रो चरणको क्लिनिकल ट्रायलमा अग्रणी स्थानमा रहेका चार राष्ट्रमध्ये चीन पनि एक हो । स्वास्थ्य अधिकारीहरूले भ्याक्सिन नोभेम्बर वा डिसेम्बरसम्ममा आइसक्ने बताएका छन् ।

    प्रतिक्रिया
    थप समाचार