Online Nepal मंगलबार, बैशाख २५ २०८१

नेकपा किचलो: ‘साँढेको जुधाइ बाच्छोको मिचाई’

नेकपा किचलो: ‘साँढेको जुधाइ बाच्छोको मिचाई’


गणेश खड्का
  • शनिबार, कार्तिक २२ २०७७

  • काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएदेखि नै किचलो सुरु भएको थियो । अध्यक्षको भूमिका र सरकारको नेतृत्वको कार्यकालको विषयमा विवाद अहिलेसम्म चलिरहेको छ । र यो विवाद यो सरकार रहेसम्म रहिरहनेछ । नेकपामा एकले अर्कालाई अस्तित्व नस्विकारेपछि यो समस्या देखिएको हो । आज नेपाली जनताले दुइ तिहाई मत केपी ओली र प्रचण्डलाई झगडा गर्न दिएको होइन । देशमा स्थिर सरकार बन्छ, समृद्ध हुन्छ, राजनीतिक किचलो अन्त्य हुन्छ भनेर जनताले मत दिएका हुन् । तर आज त्यो मत आन्तरिक द्वन्दको विउ बनेको छ । दुई पक्षबिचका झगडा र रोइलोले गर्दा आम जनता एक त निरास बनेका छन् भने अर्को तमाम समस्यामा जुध्न बाध्य भइरहेका छन् ।

    नेकपाको आन्तरिक झगडाले जनताका आबश्यकता र समस्याहरु ओझेलमा परेका छन् । कोभिड–१९ सुरु हुनुभन्दा अगाडी देखि नै देशमा काण्डै काण्ड मच्चियो । त्यस्ता विभिन्न काण्डले गर्दा सरकार त्यसमा नै रमाउन थाल्यो । जनताप्रति गम्भिर भएन । खाली मिडिया र सामाजिक अभियन्ताहरुलाई गाली र धरपकड गर्न थाल्यो । तर जनताप्रति कहिल्यै संवेदनशिल बन्न सकेन, बिहान बेलुका पार्टीको झगडामा केन्द्रीत भयो नेकपा र केपी ओलीको सरकार । कोरोना भाइरसको नेपालमा संक्रमण हुन थालेपछि झन् नेकपामा विवाद बढ्दै गएर सरकार ढाल्न र टिकाउन धेरै चलखेल हुन थाल्यो ।

    कोरोना नियन्त्रणमा कुनै ठोस योजना ल्याउन सकेन र अहिले मृत्युदर र संक्रमित दिनदिनै बढेको बढ्यै छ । यसलाई मुख्य काम मान्नुपर्नेमा सरकार खाली आफ्नो पार्टीको विवादमा केन्द्रीत छ । सरकारले अहिलेसम्म गरिब, निमुखा र कोरोना संक्रमितलाई राहत प्याकेज ल्याउन सकेन । अझ कोरोना परिक्षण र उपचार आफैं गर भन्यो । तर नेताहरु विरामी तथा संक्रमित भए भने पाँचतारे होटलको आइशोलेशनमा बस्छन् । यहि हो जनतालाई दुइतिहाइ मतको उपहार ? नेकपा भित्र अहिलेको झगडा नेपाली जनतालाई ‘साँढेको जुधाइ बाच्छाको मिचाई’ बनेको छ । उनिहरु झगडा गर्छन, जनता मरेको मर्यै छन् । उनिहरुको झगडाले गर्दा जनताका कामहरु हुन सकेका छैनन् । तर सरकार जनताको समस्यालाई भन्दा पार्टीको झगडालाई बढी महत्व दिइरहेको छ ।

    आज समस्यामा नपरेको कुनै क्षेत्र, व्यक्ति छैन । तर यसलाई सरकारले कहिल्यै बुझेन र बुझ्न चाहेन । अब आम नेपाली जनताले नेकपाका नेताहरुलाई धिकार्ने छन् । जनताको मतले त्यो ठाउँमा पुगेर झगडा गर्नसक्ने बनाएका तिनिहरुलाई जनताले चाहे भने पूर्वराजा ज्ञानेन्द्र शाहको जस्तोे हालत बनाइदिन पछि पर्दैनन् बेलैमा चेतना भया । देश भनेको बालुवाटार र खुमलटार मात्र होइन । दिनको चार पाँच पटक खुमलटार र वालुवाटार धायो अनि ड्युटि पुरा गर्यो । नेकपालाई मत खाली बालुवाटार र खुमलटारको ड्युटि गर्न दिएका हुन् ? अब जनताले नेकपा र कम्युनिष्ट पार्टीको विकल्प खोज्न थालिसकेका छन् ।

    प्रतिक्रिया
    थप समाचार