Online Nepal मंगलबार, बैशाख २५ २०८१

यस्तो छ नेपाल संवतको इतिहास

यस्तो छ नेपाल संवतको इतिहास


मध्यान्तर
  • आइतबार, कार्तिक ३० २०७७

  • –दीर्घराज प्रसाई

    यो साल मंसिर १ गतेदेखि नेपाल संवत् ११४१ प्रारम्भ भएको छ । नेपालमा धेरैबर्ष अगाडिदेखि विक्रम संवत्, नेपाल संवत्, शाके संवतहरु चल्दै आएका छन् । विक्रम, शाके र नेपाल संवत् तीथिकै आधारमा चलेका र तर तीथिहरु गडवड भइरहने हुँदा शासन व्यवस्थामा अप्ठयारो परेकाले जोतिषीहरुको सम्मेलनको निर्णयबाट चन्द्रशम्सेरले तीथिहरु यथावतै राखी १९६१ वैशाख मेष संक्रान्तिदेखि विक्रम संवत्लाई गतेबाट लेख्न प्रारम्भ गराए । भारतमा शकवंशलाई समाप्त पारेर कुषाणवंशी राजा कनिष्कको पालादेखि ईस्वी संवत् ७८ मा शक संवत् प्रारम्भ भएको हो । मुगल सम्राज्य र त्यसपछिको अंगे्रजहरुले उपनिषद कायम गरिसकेपछि भारतमा शक संवत्को प्रचलन हराउँदै गयो । भारत स्वतन्त्र भएपछि मुगल सम्राज्यदेखि निष्क्रिय भइसकेको शक संवत्लाई भारतका प्रधानमंत्री जवाहरलाल नेहरुले आफ्नो मौलिक संवत् भनी सन् १९५७ देखि शुुरु गराए । तर, शक संवत्मा बर्षमा ३५४ दिनमात्र हुनेहुँदा व्यवहारिक नभएर प्रचलन हुनसकेन र भारतमा इस्वी संवत्नैं चलनमा ल्याइयो । जसरी भारतमा शक संवत् व्यवहारिक भएन त्यस्तै नेपाल संवतमा् पनि बर्षमा ३५४ दिन हुने हँदा र नेपाल संवत् भन्दा ९३७ बर्ष पुरानो विक्रम संवत्मा तीथि र गते समेतको व्यवस्था भएकाले विक्रम संवत् व्यवहारिक हुन सकेको हो । त्यस्तै अन्तराष्ट्रिय लेखापढीमा इस्वी संवतलाइ प्रार्थमिकता दिएको छ । नेपाल संवत् नेपालको इतिहासमा एक कालखण्डमा उठान भएकाले यसको ऐतिहासिक महत्व त्यत्तिकै छ ।
    नेपाल संवत् ११४१ कार्तिक शुक्लपक्ष, विक्रम संवत् २०७७ कार्तिक ३० गते प्रारम्भ हुन्छ । नयाँ संवत् सम्पूर्ण नेपालीहरुको संवत् भएता पनि नेवार समूदायहरुले म्हः पूजाको दिनमा यो संवत्लाई नयाँ बर्ष मानेर खुसियाली मनाउँछन् । नेपालमा धेरैबर्ष अगाडिदेखि विक्रम संवत्, नेपाल संवत् र अन्य संवत्हरु चल्दै आएका छन् । नेपाल संवत् बारेमा गोपाल वंशावलीमा राजा राघवदेव र संवत् बारेमा उल्लेख छ –‘राजा श्री राघवदेव वर्ष ६३ श्री पशुपति भट्टारके संवत्सर प्रवृत्तिःकृताः ।’ नेपाल संवत्को कसरी उत्पति भयो भन्ने बारेमा धेरै इतिहास खोजकर्ताहरुले लेखेका छन् । फ्रान्सेली विद्धान सिल्यान लेभीले नेपाल ईशाको सातौं शताब्दीदेखि नवौं शताब्दीसम्म त्यससमयको वृहत भोटको अधीनमा रहेको र भोटका तत्कालीन राजाको अत्याचारी नीति विरुद्ध त्यहाँका जनताले विद्रोह गरी साम्राज्य कमजोर हुन पुगेको अवस्थामा नेपाल भोट सम्राज्यबाट स्वतन्त्र भएको र त्यसैको संझना स्वरुप इ.सं. ८७९–८८० तिर नेपाल संवत् चलेको भनेका छन् । नेपाल सम्वत्को प्रचलनको बारेमा प्रो. वेण्डालले फेला पारेको वा संकलन गरेको वंशावली अनुसार लिच्छवीकालको उत्तरार्धका राजाहरुको नामावली सूचिमा राजा राघवदेवको नाम निकै महत्वपूर्णकासाथ उल्लेखगरेका छन् । राजा राघवदेवको पालादेखि नेपाल संवतको सुरु भएको हो भन्ने राय इतिहासकार कलिंधमको पनि तर्कसंगत ठानेका छन् । उनले भनेका छन्– ‘समय गणनाअनुसार राजा राघवदेवको शासनकाल इ.सं. ८८० तिर पर्दछ र नेपाल सम्वत्को सुरुवात त्यही समयतिर उनैबाट भएको हो ।’ इतिहासविद् वालचन्द्र शर्माले पनि यसकुरालाई समर्थन जनाएका छन् ।
    इतिहासका अर्का विद्धान धनवज्र वज्राचार्यले पशुपतिमा विभिन्नरुपले सम्मान व्यक्त गर्ने प्राचीन परम्पराअनुसार राजा राघवदेवले पशुपतिको सम्मानमा यो संवत् चलाएका हुन् भन्नुभएको छ । त्यसैगरी एकजना इटालियन विद्धान लसियानो पेट्रेकद्वारा प्रकाशित गोपाल वंशावलीमा राजा राघवदेवले पशुपतिलाई संकेत गरेर नै सम्वत् चलाएका हुन् भन्ने उल्लेख गरिएको छ । सम्भवतः यसैकारण गोपाल वंशावलीमा राजा राघवदेवलाई ‘पशुपति भट्टारक सम्वत्सर’ भन्ने उपाधि दिएको पाइन्छ । ताडपत्रमा लेखिएको हस्तलिखित सुमरितन्त्र सहोत्तरतन्त्र ग्रन्थको पुष्पिका वाक्य एवं गोपालराज वंशावलीको वाक्यांशहरुबाट पनि मानदेव चतुर्थका छोरा राजा राघवदेवले यो सम्वत् चलाएको भन्ने उल्लेख छ । यसविषयमा इतिहासविद् वैकुण्ठप्रसाद लाकौलले लेख्नुभएको छ–‘नेपालको इतिहासमा अन्धयुग ठानिएको मध्यकालीन इतिवृत्त बारे– गोपाल वंशावली जति प्रमाणित ग्रन्थ अरु छैन भन्ने कुरा निर्विवाद भइसकेको छ । यी सबै परिवन्दले नेपाल संवत् राजा राघवदेवको पालामा प्रचलनमा आएको सिद्धहुन्छ ।’ यसैगरी इतिहासकार दुण्डिराज भण्डारीले नेपालको ऐतिहासिक विवेचनामा लेख्नुभएकोछ– ‘नुवाकोट ठकुरीवंशका प्रथम राजा भाष्करदेव वर्माको शासनकालमा लेखिएको ‘विष्णुधर्म’ नामको हस्तलिखित ग्रन्थको उपसंहारमा यसग्रन्थको निर्माणकाल राजा राघवदेवले प्रचलित गरेको नेपाल संवत् १६७ उल्लेख भएकोले उक्त सम्वत् नेपाल संवत नैं हो ।
    नेपाल संवत्को उठान सम्बन्धमा अर्का थरीका विद्धानहरुको भनाई छ– भक्तपुरका राजा आनन्द मल्ललाई ज्योतिषीले भनेको महुर्तमा विष्णुमति नदीको दोभानबाट झिकेर ल्याएको बालुवा सुन हुन्छ भनेकाले राजाले बालुबा बोक्न भरिया पठाए । शंखधरले भरियाहरुले झिकेर लगिरहेको बालुवा आफ्नो घरमा लगी खन्याउन लगाएर अर्को बालुवा राजाकोमा लान लगाए । बालुबा सुन भयो । सुन भएको बालुवा बेचेर शंखधरले कान्तिपुर र भक्तपुरका जनताको ऋण तिरीदिएको संझनामा नेपालसम्वत् प्रचलन भएको हो भनिन्छ । तर बालुबा सुनमा परिणत हुन सक्तैन भन्ने कुरा र त्योयुगमा राजाले झिकाएको बालुवालाई एक व्यापारीको कुरा भरियाहरुले राजाको आँखा छलेर काम गर्ने आँट गर्नसक्तैन । यता आनन्द मल्लको कार्यकाललाई तुलना गर्दा नेपाल सम्वत्को शुरुवात भएको धेरैवर्षपछि मात्र भक्तपुरका राजा आनन्द मल्लको नाम आउ“छ भने नेपाल संवत्सँग आनन्द मल्लको नाम जोड्न मिल्दैन । नदीले बगाई ल्याएको बोटे, सुनाहा समुदायले बटुल्ने गरेका सुनका कंँणहरु बटुलेको सन्दर्भ शंखधरको बेलाको होइन । केहीबर्ष अगाडिदेखि सुनका कँणहरु बटुलेको कुरासँग जोडेर सफाई दिने काम भएको छ । यहाँ बोटे, सुनाहाहरुले बटुलेको जस्ता सुनको पंशङ्ग होइन । शंखधरको बेलाको कुरा त बालुवा नैं सुनमा परिणत भएको भन्ने कुरा कुरा हो जुन पत्याउन सकिदैन ।
    इतिहासकार बाबुराम आचार्यले– ‘नेपाल संवत्को उठान राजा राघवदेवको समयमा भएको हो भन्ने निश्चित भएको, स्मारकस्वरुप यिनले नैं ‘पशुपतिभट्टारक–संवत्को नामले नयाँ सम्वत्को आरम्भ गराएकाु, पछि यस सम्वत्सँग शंखधरको नाम जोडिन थालेको पाइन्छ, तर शंखधर संवन्धी अलौकिक र अतिरञ्जित किंवदन्तीहरु माथि भने विश्वास गर्न सकिदैन’ भनेका छन् । इतिहासकार कृष्णबहादुर उदय भन्छन्—‘राजालाई ‘नारायण‘ भन्ने प्रचलन र संस्कृति छ । शंखधर,चक्रधर भनेका उनै नारायण अथवा बिष्णु हुन् । त्यसैले शंकखधर भनेकानैं राघवदेव हुन् । ‘राजा राघवदेवको समयमा शंखधर भन्ने पूँजीवाल काठमाण्डौंमा थिए भन्ने प्रमाण भेटिदैन ।’ यसैसन्दर्भमा एमालेका नेता प्रदीप नेपाल मंत्री भएका बेला नेपाल संवतलाई राजनीतिक दबाबबाट सरकारी कामकाज घोषणा गराउने मध्येका हुन् । उनी भन्छन्–‘ नेपाल संवत्लाई सबै भाषाभाषीहरुका लागि सुपाच्य बनाउन सकिएको छैन । नेपाल संवत्को तिथिमितिको गणना पनि समस्या हो । तीनसय पैंसठ्ठी दिनको कुनै रातमा पनि बालुबा सुनमा परिणत हुँदैन । मध्यरातमा झिकिएको बालुबा बिहान उज्यालो हुनासाथ सुनमा परिणत भयो भन्ने कथा अपत्यारिलो र आधारहीन बन्नपुग्छ, भाषा र संवत् सैद्धान्तिक वहसका विषय होइनन् । तिनको व्यवहारिक प्रयोग विज्ञानसम्मत हुनुपर्छ । (गोरखापत्र २०६६।७।१२।’
    पशुपतिनाथको दक्षिण ढोका उन्मुक्त भैरवको ठीक पश्चिम तर्फ धेरै राजाहरुको मूर्तिछ र त्यहीं पहिलो, शंख हातमा लिएको शिलामूर्ति छ । त्यसैलाई शंखधर भनिएको छ । तर त्यो शंखधर होइन । पृथ्वीमा पानी नपरेर हाहाकार भएपछि राजा भगीरथले महादेव र गंगा माताको तपस्या गरेर पानी मागेको अवस्थाको चित्रण हो । लिच्छविकालदेखि कतिपय हिन्दु देवी देवताका मन्दिर र मूर्ति र धाराहरुका अगाडि पछाडि शंख धारण गरिएका मूर्तिहरु राख्ने प्रचलन रहिआएको छ– (योगी नरहरिनाथ) । त्यस्ता मूर्तिहरु पशुपतिनाथको दक्षिणढोका मात्र होइन, सबै मन्दिरका अगाडि, पशुपति आर्यघाट गंगामाताको मन्दिर अगाडि, बागमती पारीका १०८ शिवमन्दिरहरुमा, हरेक लिच्छवीकालीन धारालगायत धरहराको सुन्धारामा पनि त्यस्ता शिलामूर्ति छन् । पाटनको स्वर्ण बौद्ध मन्दिरका मूलढोका अगाडि पनि त्यस्तै मूर्ति देख्न पाइन्छ । तर कुण्डल तथा श्रीपेज लाउने र शंखधारण गर्ने नेवार जातिभित्र कुनै परम्परा पाइदैन । नेपालको इतिहासमा लगभग विक्रम सम्वत् ७८० देखि ९३५ वर्षसम्मको समयलाई कालोयुग भनिन्छ । त्यो डेढ शताब्दिको समयमा नेपालमा मात्र अडमुण्डि नाम गरेका राजाले शासन गरेको र त्यसताका कास्मीरका हिन्दु राजा जयापिडले नेपाललाई आक्रमण गर्दा नेपालका अडमुण्डि नामका राजाले गण्डकी थुनी जयापिडका सेनालाई बगाईदिएका र जयापिडलाई कैद गरेको कुरा मात्र डेडसयभन्दा बढी बर्षभित्रको इतिहासमा उल्लेख छ । त्यसबेला लिच्छविवंशलाई कुनै राजवंश वा भोटले हडपेको हुनसक्छ । भोटमा स्रोङचंङगम्बोका सन्तानहरुको बीचमा आपसी झगडा भएर गडबड मच्चिएको मौकामा लिच्छविवंश कै राजा राघवदेवबाट लिच्छविवंशलाई स्वतन्त्र गराई आफू राजा भएका बेलादेखि नेपाल संबत्को उठान भएको कुरा नैं सत्य देखिन्छ ।
    मल्लकालमा तिब्बत, बंगाल र कतिपय छिमेकी देशहरुमा पनि चलनमा आएको पनि हो । नेपाल सम्वत् मध्यलिच्छविकालदेखि पृथ्वीनारायण शाहको समयकाल अगाडि र पछाडि राणाकाल आधुनिब नेपालमा स्थापित भइसकेको छ । विक्रम, शक र नेपाल सम्वत् तीथिकै आधारमा चलेका र तीथिहरु गडवड भइरहने हुँदा शासन व्यवस्थामा अप्ठयारो परेकाले जोतिषीहरुको सम्मेलनको निर्णयबाट चन्द्रशम्सेरको शासनकालदेखि तीथिहरु यथावतै राखी १९६१ वैशाख मेष संक्रान्तिदेखि विक्रम संवत्लाई गतेबाट लेख्न प्रारम्भ गरिएको हो । विक्रम संवत्मा बर्षमा ३६५ दिन र नेपाल सम्वत् ३५२ दिन हुने हँदा विक्रम संवत्को दाँजोमा नेपाल संवत् व्यवहारिक हुन नसकेको हो ।संवत् बारेमा जातीय र राजनीतिक तानातान्को हैसियत राखेर ब्याख्या गर्ने काम कतैबाट नहोस् भन्ने आग्रह हाम्रो छ । नेपाल संवत्को प्रणेता को हुन् भन्ने कुरामा राजा राघवदेवको बारेमा यतिका प्रमाणहरु जुट्न सकेता पनि शंखधर बारेमा इतिहासले पत्याउने सामग्री जुट्न सकेका छैनन् । जति जुटाइएका छन् त्यसमा भरपर्दा प्रमाण छैनन् । एतिहासिक प्रमाण नजुटाई इतिहासलाई जातीय र राजनीतिक तानातानको वहसमा भिडिरहनु उचित हुँदैन । यी सबै तथ्यले बताउँछ– नेपाल संवत् राजा राघव देवबाट उठान भएको र नेपाल संवत् विक्रम संवत् झैं नेपालका उपज हुन् । २०७७ सालको तिहार तथा नेपाल संवत् ११४१ को उपलक्षमा सबैमा सुख समृद्धिको कामना गर्दछु शुभकामना ।
    दीर्घराज प्रसाई

    प्रतिक्रिया
    थप समाचार