Online Nepal शुक्रबार, माघ २० २०७९

नैतिकताको कठघरामा आम नागरिक

नैतिकताको कठघरामा आम नागरिक


जयराम बिडारी
  • सोमबार, मंसिर १२ २०७९

  • काठमाडौं । हरेकले कलम चलाउँदा ती निर्दोष नागरिकहरुको अपेक्षाहरुलाई आँखा अगाडि अनि मन र मस्तिष्कमा स्पष्ट रुपमा राखेर अनि विवेकको प्रयोग गरेर कलम चलाउनु पर्दछ । अनि मात्र विषयवस्तुको गहिराइमा पुग्दै लेखनले लक्षित समूहको प्रतिनिधित्व गरेको ठहर्छ । नीति, विधि, पद्धतिको प्रसंगमा एउटा नीतिकथाको प्रसंग याद आइरहेको छ ।

    एकपटक एकजना धार्मिक प्रवृत्तिका सज्जन मानिस धार्मिक यात्राका क्रममा बनारस गएछन् । ट्रेनबाट उत्रिएर केही अगाडि बढ्दै थिए ओहो मामा कहिले आइपुग्नु भयो ? भन्दै एकजना मानिस उनको पाउमा परेर दण्डवत गर्न आइपुगेछन् । नचिनेको मानिसले बीच बजारमा दण्डवत गर्दा उनलाई अचम्म लाग्नु स्वभाविकै थियो । उनले आश्चर्य मान्दै सोधेछन् तिमी को हौ बाबु ? ती नयाँ व्यक्तिले सहज उत्तर दिएछन् चिन्नु भएन म हजुरको भान्जा पर्ने मुन्ना हुँ, भन्दै अगाडि बढ्दै जाँदा मामाजीको गुन्टा (आजकलको भाषामा लगेज) ती भान्जा भनिनेले बोकिदिंदै आपसमा मिठा मिठा कुरा गर्दै यो मन्दिर र त्यो मन्दिर डुल्दै गर्दा स्नान कुण्डका नजिक पुगेपछि मामाको मनमा गंगा स्नान गर्ने विचार आएछ । त्यसै क्रममा मामाले के हो मुन्ना गंगस्नान गर्ने होइन त ? अरे मामा बनारस आउनु भा छ ननुहाइ कसरी फर्किनु हुन्छ ? अवश्य नुहाउनुस् भनेछन् जसै मामा कुण्डमा डुबुल्कि मार्न गए यता भान्जा गुण्टा बोकेर फरार भएछन् ।

    विभिन्न वाद र विचारका झोला बोक्ने छद्मभेषी भान्जाहरु भर्खरै सम्पन्न आमनिर्वाचनपछि अब यसैगरि बिच बजारमा नक्कली मामा बनाउन र तीनका पाउ छुन आएका भान्जाहरु एकाएक अलप हुनेछन् । नीति, विधि, पद्धति नैतिकता र आचरण सुन्नमा कर्णप्रिय लागेपनि यथार्थमा यो पाताल लोक भासिएको दशकौं भइसकेको तितो यथार्थता हाम्रा सामु छर्लंग छँदैछ । आमसंचारले नागरिकमा तुलनात्मक रुपमा सन्तुलित र निश्पक्ष मत उद्घाटित गर्नु प्रमुख उत्तरदायित्व हुन्छ । समकालीन आमसंचारमा त्यसको खडेरी परेको देखिनु गम्भीर चासो र चिन्ताको विषय हो । आ-आफ्नो रुची र प्रयोजनका लागि संचार जगतको प्रयोग गरिनुले जनतामा भ्रमको सृजना हुन जान्छ । शब्दमा प्रजातन्त्र,लाेकतन्त्र, गणतन्त्र जे प्रयोग गरिए तापनि जनताका जनजीविकाका सवालमा अधिकारको समानुपातिक प्रयोगमा कुन मात्रामा प्रयोग गरिएको छ भन्ने मूलरुपमा हेरिनु आवश्यक देखिन्छ ।

    प्रजातन्त्रमा जनता सार्वभौम हुन्छन् भनेर गरिने व्याख्या नेपाली राजनैतिक परिदृश्यमा गलत त होइन भन्ने आम बुझाइ रहेको पाइन्छ । यो दलले यति जित्यो उ दलले हार्यो अथवा यस्ले जितेकोमा र उसले हारेकोमा खुशी मनाउन आवश्यक देखिँदैन । यसबाट देश विकासको कुरा त छाडिदिऊँ राजनैतिक निकाश समेत पाउन मुश्किल छ । अघिल्लो निर्वाचनमा एमाले माओवादी कार्यगत एकताका साथ संयुक्त घोषणापत्र सहित निर्वाचनमा होमिँदा करिब दुई तिहाइको नजिक प्राप्त परिणामलाई जोगाउन नसकि अस्थिर बनेको राजनीतिलाई वर्तमानको प्राप्त परिणामको आधारमा कुनै दलको स्पष्ट बहुमत आउने संकेत नदेखिएको अवस्थामा विकास निर्माणको सपना देख्नु र स्थिर सरकारको परिकल्पना गर्नु आफैंमा मिठो कल्पना बाहेक केही हुने छैन ।

    हिजो महाकाली सन्धि शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेकोमा केपी ओलीले महाकाली नदी बेचेको आरोप लगाइनुका साथै महाकालीमा राष्ट्रघात गरेको बताइन्छ त्यसपछि कतिपटक नेपालमा आमनिर्वाचन गरियो ? यदि महाकालीमा राष्ट्रघात भएको हो भने त्यसका मतियार भनिने ओली, देउवा लगायत तत्कालीन जनप्रतिनिधि भनिनेहरु कतिपटक जनताबाट दण्डित भएर निर्वाचनमा हराइए र त्यसलाई राष्ट्रवादमा किन परिणत गरिएन ? हामी जनता भनिने बबुरोहरुको चेतनास्तरको कुरो गरि साध्य छैन । हालै सम्पन्न निर्वाचनमा MCC का भरियाहरुलाई दण्डित गर्नुपर्ने कुरा यीनले बुझ्ने कहिले ? कसले हामीलाई काखमा राखेर घांटी रेटिरहेका छन् भनेर बुझ्नै अझै धेरै समय लाग्ने देखिन्छ । MCC लगायत SPP का साथै नागरिकता विधेयकमा त्यस्तै वकालत गर्ने मतियारहरुलाई भर्खरै सम्मपन्न निर्वाचनमा जिताएर पुरस्कृत किन गरियो ? त्यसको उत्तर सचेत भनिने मतदाता अर्थात् सार्वभौम जनताले दिनु पर्छ कि पर्दैन ? त्यसैले हरेक देशमा जनताको हैसियत अनुसारको नेता प्राप्त हुने हो । हैसियत भन्दा बढीको उपलब्धि प्राप्त भएर पनि त्यो उपलब्धि जोगाउन सकिंदैन ।

    नागरिक उत्तरदायित्वको रुपमा सुषुप्त अवस्थामा रहेका जनतालाई जागृत गराउनु आमसंचार लगायत प्रबुद्ध वर्गको दायित्व हो । नेपाल विश्वकै एक मात्र हिन्दु राष्ट्र थियो । ॐकार परिवार, हिन्दु, बौद्ध, किराँत, बोन समेत गर्दा करिब ९१% तीनको बाहुल्यता यस देशमा रहेको पाइन्छ । शान्त पोखरीमा ढुंगा हानेर तरंग उत्पन्न गरिए जस्तै सनातन संस्कृतिलाई प्रहारको विषयवस्तु बनाइनु अग्रगमनको नाममा हामीलेा हाम्रा पहिचान र मौलिकतालाई तिलान्जली दिंदै आफ्नो संस्कार संस्कृतिलाई क्रमश नष्ट गर्दै गइरहेकोमा हर्ष मान्ने कि क्षोभ सोच्नुपर्ने भएको छ ।

    हालै सम्पन्न निर्वाचनमा यो गणतन्त्र समर्थित जो सुकैले जिते पनि हुने केही होइन तर कतिपय युवा नेतृत्वहरुको प्रवेशलाई सकारात्मक रुपमा बुझ्नु पनि आवश्यक देखिएन । लोकतान्त्रिक व्यवस्थाका बैकल्पिकक शक्तिको रुपमा हेरिएको बिद्रोही स्वतन्त्रहरुलाई आशा भरोसाको रुपमा बुझ्ने जमातको कमि थिएन । तर पाँच दलीय गठबन्धन जस्तै गरि एमाले राप्रपा चुनावी तालमेललाई राष्ट्रिय स्वतन्त्र पार्टीले समेत कतिपय ठाउँमा अघोषित तालमेल गरिएको जनगुनासो सुनिनुले आशंका उब्जाएको छ । पार्टी निर्माणको छोटाे समयमै संदेहको घेराबन्दीमा पर्नुलाइ सुखद संयोग मान्न सकिन्न ।

    गगन थापालाई किश्चियनिटी भोट सुरक्षित गरिदिन अनि रबिन्द्र मिश्रलाई चर्चको भोट रोक्नका लागि रविको स्वतन्त्र पार्टीको उमेद्वारी फिर्ता लिने र नलिने भन्ने चर्चा हुनुले जति धेरै खरानी घसेर नयाँ जोगीहरु आए पनि आखिरमा कानै चिरिएका भन्ने उखानलाई सिद्ध गरेको महशुष मात्रै होइन हिन्दु बौद्ध समूदाय कमजोर पार्दै क्रिश्चियनिटीलाई प्रोत्साहित पार्ने पश्चिमा रणनीतिको खेतालाका रुपमा गठजोड गरिएको प्रपंच हो भने नयाँ दल, चर्चित युवा जस्ता विशेषणको प्रयोग गरेर यिनको गाथा गाइरहनुको कुनै औचित्य रहने छैन । व्यवस्थालाई स्वीकार गरेर अवस्थामा परिवर्तनका नारा घन्काउने चटकीहरुलाई वैकल्पिक शक्तिको रुपमा बुझ्न सकिंदैन । यो परिस्थितिले विचार र सिद्धान्तको अवमूल्यन हुने धार्मिक सहिष्णुतामा खलल् पुग्नुका साथै कृश्चियनिटी बढ्ने खतरा देखिनुका साथै आगामी दिनमा यिनले संसदमा खेल्ने भूमिकामा स्वतन्त्र विचार सम्प्रेषण हुने कुरामा शंका उत्पन्न हुनेछ ।

    प्राप्त परिणामको आधारमा विश्लेषण गर्दा नेपाली जनतालाई दलप्रियता अधिक मात्रामा देखिन्छ । करिब ९० % जनता विभिन्न पार्टीमा विभाजित देखिन्छन् । आखिर नेता होस् वा कार्यकर्ता अथवा सर्वसाधारण नै किन नहुन् प्रत्येक व्यक्ति एक भोटको मालिक हो भन्ने सत्यको बोध नहुँदा तीनले आफ्नो विवेकको सहि प्रयोग गर्न नसक्नु नै २०४६ साल पछि राष्ट्रियता, राष्ट्रिय एकता, सार्वभौमिक सर्वाेच्चता, भ्रष्टाचार नियन्त्रणमा असफलता तथा सर्बत्र राजनीतिकरणका कारण मुलुक पछौटेपनको शिकार हुनुपरेको तितो यथार्थता बिर्सन सकिंदैन । सामाजिक संजलको प्रभावका कारण आंशिक रुपमा सकारात्मक परिणाम प्राप्त भएतापनि उपलब्धि यथेष्ट छैन भन्नुपर्ने हुन्छ । हरेक दलबाट प्रतिनिधित्व गर्नेहरु मध्येबाट असल कर्म गरेका स्वच्छ छवी निर्माण गरेका विकासप्रेमी प्रतिनिधिहरुलाई निर्वाचनका माध्यमबाट दोहोर्याएर पुरस्कृत गरिनु र कुण्ठित मानसिकताले ग्रसित अराजकतावादी गतिहीन र मतिहीन, शासन संचालनमा पटकपटक अयोग्य सावित भइसकेका हरुको पुनरागमनले हामी अझै दिशाहीन राजनीतिको दलदलमा भासिंदै जाने कुरामा स्पष्ट हुनु जरुरी देखिन्छ ।

    प्रतिक्रिया
    थप समाचार