Online Nepal आइतबार, बैशाख २३ २०८१

कुखुरा पालनबाट महिनामै लाख, विदेशको साटो घरमै उद्यम

कुखुरा पालनबाट महिनामै लाख, विदेशको साटो घरमै उद्यम


मध्यान्तर
  • आइतबार, पुष १६ २०७४

  • पढाइ सकेपछि हातमा प्रमाणपत्र लिएर जागिर खोज्न हिँड्नेको जमात ठूलो छ । तर, जागिरतिर नलागी खेती र पशुपालन गरेर मनग्य आम्दानी गर्नेहरु पनि यही समाजमा छन् । त्यस्तै एउटा नाम हो, सुजन न्यौपाने ।

    नेपालमा काम नै छैन भन्नेहरुका लागि उदाहरणीय बनेका छन्, तानसेन-८ का न्यौपाने । कुखुरा फार्मका सञ्चालक न्यौपाने उमेरले भर्खर २४ लागेे । यो उमेरमा कलेज जाने र बाँकी समय बेकामे भएर बस्ने युवा प्रशस्तै छन् ।

    सुजनलाई भने मदनपोखरामा किराना पसल तथा फोटो स्टुडियो खोल्न जानुअघि कुखुरालाई दानापानी खुवाउने चटारो हुन्छ । कुखुरापालनबाटै उनी महिनामा सबै खर्च कटाएर एक लाख रुपैयाँभन्दा बढी कमाउँछन् ।

    उनको फार्ममा साना-ठूला गरी दुई हजारभन्दा बढी ब्रोइलर कुखुरा छन् । दुई वर्षअघि उनले यो व्यवसाय शुरु गरेका हुन् । मासुका लागि पालिने विकासे प्रजातिको कुखुरामा धेरै रोग लाग्ने र मर्ने भए पनि निरन्तर मिहिनेत गर्दै जाँदा सफल भइने उनको अनुभव छ ।

    दाइले विदेशमा दुःख गरेर कमाएको पैसा स्वदेशमै लगानी गर्दा फाइदा हुने देखेर कुखुरापालन थालेको न्यौपानेले बताए । ‘दाइले गरेको दुःख र आफन्तसँग छुट्टएिर कमाएको पैसाले राम्रै प्रतिफल दिएको छ,’ सुजनले भने ।

    उनका दाइ रञ्जित हाल मलेसियामा छन् । दाइ फर्केर आएपछि मिलेर अझै व्यवस्थित तरिकाले पाल्ने उनको सोच छ । बाबु खेमराज, आमा र बहिनीको पनि निकै मिहिनेत परेको छ, सुजनको व्यवसाय सफल हुनुमा ।

    स्नातक तेस्रो वर्ष अध्ययनरत उनले समाजशास्त्र र पत्रकारिता पनि पढ्ने सुर गरेका छन् । पढ्दै गर्दा उनले पनि कमाइका लागि विदेश जाने सोच बनाएका थिए । धेरैपल्ट विदेश जाने प्रयास गरे पनि । पछि यहीं दुःख गर्ने निर्णय लिए ।

    काम गर्दा अलि फोहोर भए पनि दाम राम्रो कमाउन सकिने उनको अनुभव छ ।

    ‘सस्तोमा प्रोटिनका लागि अझै १० वर्ष कुखुराको मासुको विकल्प छैन । बरु कुखुरामा विभिन्न रोग देखिन थालेका छन्,’ उनले भने, ‘बाहिरी वातावरणले असर नगर्ने गरी एयरकन्डिसनमा कुखुरापालन गर्ने क्लोजिङ हाउस चाहिने भएको छ ।’

    शुरु-शुरुमा धेरै कुखुरा मरेर हैरान भएका थिए, उनी । घाटा पनि बेहोरे । तर, काम गर्दै गएपछि राम्रो हुन्छ भनेर कामलाई निरन्तरता दिए ।

    निरन्तर मिहिनेत र काममा खटिनेका लागि कुखुरापालन व्यवसाय निकै राम्रो कमाइ हुने माध्यम रहेको न्यौपानेको अनुभव छ । उनको अनुसरण गर्ने युवा पनि बढ्न थालेका छन् ।

    थोरै जग्गा र कम लगानीमै व्यवसाय सञ्चालन गर्न सकिने उनको भनाइ छ । वर्षमा सात पटकसम्म कुखुरा बेच्न सकिने उनले बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार