Online Nepal शुक्रबार, बैशाख २१ २०८१

डोजरसहित ‘स्ट्यान्डबाई’ बालेनको टिम, यी हुन् आज भत्काइने सम्भावित क्षेत्र

डोजरसहित ‘स्ट्यान्डबाई’ बालेनको टिम, यी हुन् आज भत्काइने सम्भावित क्षेत्र


मध्यान्तर
  • शुक्रबार, भाद्र १० २०७९

  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को टोली आज पनि अवैध संरचना भत्काउने तयारीमा छ । बिहीबार नै योजना बनाएर बसेको मेयरको सचिवालयका प्रमुख स्वकीय सचिव भुपदेव शाहले जानकारी दिए ।

    यसअघि अवैध संरचना हटाउन निर्देशन दिएका ठाउँमा आज डोजरसहित बालेन जानसक्ने सम्भावना रहेको महानगरका एक अधिकारीले बताए ।

    यसअघि मेयर बालेनले शंखमुल बेसमेन्टमा सञ्चालित बर्गर हाउस, दरबारमार्गस्थित लण्डन पपको अन्डरग्राउण्ड, कोटेश्वर प्रहरी चौकीबाट उत्तरतर्फ जाने बाटोमा बनाइएको ट्रस्ट र नबिल बैंकको न्यूरोड शाखको अवैध संरचना आफैं हटाउन निर्देशन दिएका थिए ।

    कोटेश्वरको ट्रष्ट कार्यालयको अवैध संरचना महानगरले बिहीबार नै हटाउन भनेको थियो । तर, बानेश्वरको अल्फाबिटा कम्प्लेक्सको अवैध संरचना हटाउन थालेपछि कोटेश्वर पुग्न सकेको थिएन ।

    यद्यपि, स्वकीय सचिव शाहले कहाँ जाने भन्नेबारे ९ बजे मात्रै यकिन हुने बताए । “कहाँ जाने भन्नेबारे हाम्रो प्लान बनिसकेको छ । ९ बजे मात्रै सार्वजनिक गर्छौं,” उनले भने ।

    पछिल्लो समय मेयर बालेनको एक्सनप्रति आम नागरिकले प्रशंसा गरिरहेका छन् भने व्यापारीहरु असन्तुष्ट छन् ।

    बुधबार बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सले बनाएको संरचनामा मेयर बालेनले डोजर चलाएका थिए । बिहान अनुगमनमा जाँदा मेयर बालेन र अल्फाबिटाका सञ्चालक द्धिराज शर्माबीच चर्काचर्की भएको थियो । सञ्चालक शर्माले आफूसँग नक्सा पासको प्रतिलिपि नभएको जवाफ फर्काएपछि बालेनले अफिस आएर नक्सापासको प्रतिलिपि र डोजरसहित अल्फाबिटा पुगेका थिए ।

    बालेनले भदौ ६ गते बानेश्वरस्थित एक कम्प्लेक्समा डोजर चलाएर अण्डरग्राउण्ड खालि गराएका थिए । त्यसपछि काठमाडौं महलले बनाएको अवैध संरचना, रञ्जना गल्लीभित्रका संरचनामा डोजर चलाएको थियो ।

    मेयर बालेनको कदमलाई लिएर नेपाल उद्योग वाणिज्य संघ काठमाडौं र नेकपा एमाले युवासंघले आपत्ति जनाएको छ ।
    बालेनले नियोजित तरिकाले व्यापारीमाथि आक्रमण गरेको भन्दै संघले महानगरलाई सबै क्षतिपूर्ति भराउने दाबी गरेको छ ।
    कोरोना महामारीले घाटामा रहेका व्यापारीलाई दशैंको मुखमा यस्तो हबिगत बनाउनु गलत रहेको संघले जनाएको छ ।
    काठमाडौं उपत्यका ट्राफिक कार्यालयकी प्रमुख डीआईजी मिरा चौधरी, मेयर बालेन नेतृत्वसहित नगरप्रहरीको टोली अवैध संरचना हटाउन लागि परेको छ ।

    डीआईजी चौधरी उपत्यका ट्राफिक प्रमुखमा नियुक्त भएपछि बालेनले भेटवार्ता गरेका थिए । सो वार्ताले अन्डरग्राउण्ड पार्किङमा भएको अवैध व्यापारलाई हटाए उपत्यकाको सवारी जाम कम हुने निष्कर्ष निकालेको थियो ।

    नक्सापासविपरित अन्डरग्राउण्ड पार्किङ क्षेत्रमा अवैध व्यापार गर्ने व्यापारीको विवरण ३२ सै वडाका वडाध्यक्षहरूलाई संकलन गर्न लगाइएको छ ।

    महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले अवैध संरचना भत्काउने कामको दायरा बढाउँदै लैजाने बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार