Online Nepal शुक्रबार, बैशाख १४ २०८१

चीनसँग `शीतयुद्ध’ नहुने अमेरिकी राष्ट्रपति बाइडेनको वाचा

चीनसँग `शीतयुद्ध’ नहुने अमेरिकी राष्ट्रपति बाइडेनको वाचा


मध्यान्तर
  • मंगलबार, कार्तिक २९ २०७९

  • काठमाडौं । चीनसँग ` शीतयुद्ध’ नहुने अमेरिकी राष्ट्रपति जो बाइडेनले वाचा गरेका छन्।

    चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको इन्डोनेशियामा भएको वार्तापछि बाइडेनले आफूहरूबीच सौहार्द र खुला कुराकानी भएको जानकारी दिए।

    चीनले ताइवानमाथि आक्रमण गर्छ भन्ने आफूलाई नलागेको बाइडेनले बताए। बाइडेन अमेरिकाको राष्ट्रपति बनेपछि विश्वका दुई महाशक्ति नेताबीच पहिलोपटक प्रत्यक्ष वार्ता भएको हो।

    बाइडेन र सीबीच भएको वार्तामा उत्तर कोरिया तथा रुसले युक्रेनमाथि गरेको आक्रमणसहितका विषयमा छलफल भएको जनाइएको छ।

    पत्रकारसँग बाइडेनले भने, ‘मैले अमेरिकाको पक्ष राखेँ, राष्ट्रपति सीले चीनको पक्ष राख्नुभयो। हामीले स्पष्ट रूपमा वार्ता गरेका छौँ र यो क्रम जारी रहने छ।’

    बाइडेनसहितका विश्वका धनी देशका नेताहरु जी-२० सम्मेलनका लागि बाली पुगेका छन्।

    दुवै नेताले युक्रेनमा रासायनिक हतियार प्रयोगको विरोध गर्ने बताएका छन्। युक्रेनमा जारी युद्ध गम्भीर रहेकाले त्यसको सहज समाधान खोज्न अप्ठ्यारो हुने सीले बताए।

    पत्रकार सम्मेलनमा बाइडेनले भने, ‘चीनले उत्तर कोरियालाई नियन्त्रण गर्न सक्छ भन्न सक्ने अवस्थामा छैन। तर, अर्को परमाणु हतियार परीक्षणबाट रोक्नका लागि चीनको जिम्मेवारी रहेको कुरा मैले भनेको छु।’

    तीन घण्टा लामो वार्ताको क्रममा ताइवान प्रमुख विषय बनेको थियो। चीनले ताइवानलाई आफ्नो देशको अंश दाबी गर्दै आएको छ। तर, ताइवानले भने आफू स्वतन्त्र स्वायत्त राज्य रहेको बताउँदै आएको छ। अमेरिका-चीन सम्बन्धमा ताइवान जहिले पनि विवादास्पद विषय बन्ने गरेको छ।

    बाइडेनले एक चीन नीतिमा अमेरिका अडिग रहेको तर ताइवानका सम्बन्धमा पनि नीतिगत परिवर्तन नभएको उनले बताए। आक्रमण भएको अवस्थामा ताइवानको रक्षा गर्ने उनले उल्लेख गरे।

    आफूहरूबीच प्रमुख मुद्धा सम्बोधनका लागि वार्ताको संरचना बनाउन सहमति भएको बाइडेनले जानकारी दिए। चाँडै नै विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले वार्तालाई निरन्तरता दिन चीनको भ्रमण गर्ने पनि उनले बताए।

    दुई देशबीचको प्रतिस्पर्धालाई स्वीकार गर्दै तनावलाई समाधान गर्ने तर्फ वार्ताले सहयोग गर्ने अपेक्षा उनले बताए। आफूहरूबीच जलवायु परिवर्तनको मुद्धा सम्बोधनका सम्बन्धमा पनि कुराकानी भएको बाइडेनले जानकारी दिए।

     

    प्रतिक्रिया
    थप समाचार