Online Nepal शुक्रबार, बैशाख १४ २०८१

जेल चलान भए सांसद चौधरी

जेल चलान भए सांसद चौधरी


मध्यान्तर
  • शुक्रबार, माघ २० २०७९

  • काठमाडौं । १३ वर्ष अगाडि थरुहट आन्दोलनका क्रममा ट्याक्टर जलाएको घटनामा कसुरदार ठहर भई पक्राउ परेका प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी जेल चलान भएका छन्।

    प्रहरीले शुक्रबार बिहानै उनलाई जिल्ला अदालत कैलालीमा पेश गरेको थियो। अदालतबाट कैदी पुर्जी बुझेर चौधरी कारागार चलान भएका हुन्।

    २०६६ सालमा भएको थरुहट आन्दोलनको क्रममा बन्दको अवज्ञा गरिएको भन्दै लु २ त २११ नम्बरको ट्याक्टरमा बन्दकर्ताले आगजनी गरेका थिए। ट्याक्टरमा आगजनी गरिएको भन्दै ट्याक्टर धनी साबिककै बलिया–५ का महादेव बजगाईँले २०६७ भदौ ५ मा चौधरीसहित तीन जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। बजगाई लम्कीचुहा नगरपालिका पूर्वमेयर पनि हुन्।

    प्रतिवादीको अनुपस्थितिमा २०७० वैशाख १० गते अदालतले फैसला गरेको थियो। अदालतले साबिकको बलिया गाविस–३ का अरुणकुमार चौधरी, सोही ठाउँका परशुराम चौधरी र कोटातुल्सीपुर गाविस–१ वीरबहादुर चौधरीलाई जनही छ महिना कैद सजायसहित आठ लाख १९ हजार ४२३ रुपियाँ बिगो तिर्नु पर्ने फैसला सुनाएको थियो।

    १० वर्ष अगाडि नै अदालतले फैसला गरे पनि चौधरीसहित कसुरदार तीनै जनालाई पक्राउ नगरी फरार सूचीमा राखिएको थियो। गत मंसिरमा सम्पन्न निर्वाचनमा उनी कैलाली–२ बाट नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए।

    मुलुकी फौजदारी कार्यविधी संहिता ऐन, २०७४ को दफा १५५ मा ‘एक वर्षभन्दा कम कैद बापत रकम तिर्न सकिने’ व्यवस्था भए पनि चौधरीले त्यसको लागि कुनै निवेदन दिएका छैनन्।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार