Online Nepal बुधबार, बैशाख १९ २०८१

विविध कार्यक्रम गरी आज इन्द्रजात्रा मनाईंदै, उपत्यकामा सार्बजनिक विदा

विविध कार्यक्रम गरी आज इन्द्रजात्रा मनाईंदै, उपत्यकामा सार्बजनिक विदा


मध्यान्तर
  • सोमबार, असोज ८ २०७५

  • काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा(आरधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा यो जात्रा मनाइन्छ । सरकारले इन्द्रजात्राको अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ ।

    भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ । भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

    यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेको नालास्थित जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेपछि लिङ्गोलाई उपत्यका भित्राउन पनि साइत हेरिन्छ । उपत्यका भित्राएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ । यस दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ । आज चोखो धागोमा अनन्त मन्त्रण गरी बाँध्नाले वर्षभर शुभ हुन्छ भन्ने विश्वास छ ।

    श्रावण शुक्ल पूर्णिमाका दिन कुनै कारणवश जनै (यज्ञोपवीत) मन्त्रन नपाएकाले आजै मन्त्रने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए । यस वर्ष आइतबार र सोमबार दुवै दिन सूर्योदयकालमा चतुर्दशी तिथि भए पनि पूर्णिमा तिथि भने मङ्गलबार बिहानको सूर्योदयकालमा भएकाले सोमबार इन्द्रजात्रा मनाउने निर्णय गरिएको समितिले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार