काठमाडौं । भारतको बिहारमा विधानसभा चुनावको नतिजा आएसँगै नीतिश कुमार नेतृत्वको एनडीएले पुनः बहुुमत हासिल गरेेको छ । भाजपा तथा जनता दल युनाइटेडसहितको एनडीए गठबन्धनले बहुमतको आँकडा पार गरि १२५ सिटमा जित हाँसिल गरेको हो ।
२४३ सिटको बिहार विधानसभामा बहुमतका लागि १२२ सिट चाहिन्छ । तेजस्वी यादवको राष्ट्रिय जनता दल (आरजेडी) सहितको महागठबन्धन पछि रह्यो । तर आरजेडी सबैभन्दा ठूलो पार्टी भने बनेको छ ।
महागठबन्धनले ११० सिटमा जित हाँसिल गर्दा आरजेडीको खातामा ७५ सिट गयो । भजापाले ७४ तथा जेडीयूले ४३ सिटमा जित हाँसिल गरेका छन् ।
जेडीयूको विरोध गरेर विधानसभामा एक्लै चुनाव लडेको चिराग पासवानको लोक जनशक्ति पार्टी (एलजेपी) ले मात्रै एक सिटमा जित हाँसिल गरेको छ ।
यो चुनावमा भाजपाले आफ्नो सिट संख्या पाँच वर्षअघिको चुनावमा भन्दा बढाएको छ । २०१५ को चुनावमा ८० सिट जितेको आरजेडीले योपटक ७५ तथा ५३ सिट जितेको भाजपाले योपटक ७४ सिटमा जित हाँसिल गरेको हो ।
तर पाँच वर्ष पहिलेको चुनावमा ७१ सिट जितेको जेडीयूले योपटक मात्रै ४३ सिटमा जित हाँसिल गरेको छ । यस्तै पाँच वर्ष पहिले २७ सिट जितेको कांग्रेसले यो वर्ष मात्रै १९ सिटमा जित हाँसिल गरेको छ । तर एनडीएले नीतिश कुमारलाई पुनः मुख्यमन्त्रीको उम्मेदवार बनाए पनि भाजपा अघि आएपछि त्यसमा भने अहिले नै भन्न सक्ने अवस्था नरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।