Online Nepal आइतबार, बैशाख २३ २०८१

शेष घलेको नेतृत्वमा भएको गैरआवासीय नेपाली संघको अध्यक्षमा विनोद कुँवर चयन

शेष घलेको नेतृत्वमा भएको गैरआवासीय नेपाली संघको अध्यक्षमा विनोद कुँवर चयन


मध्यान्तर
  • बिहिबार, चैत्र १० २०७८

  • काठमाडौं । शेष घलेको नेतृत्वमा भएको गैरआवासीय नेपाली संघ एनआरएनए को १० औँ विश्व सम्मेलनबाट अध्यक्षमा विनोद कुँवर चयन भएका छन् । बुधबार राति सम्पन्न विश्व सम्मेलनबाट कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
    एनआरएनएभित्रको विवादका बीच घलेको नेतृत्वमा चैत ८ देखि छुट्टै विश्व सम्मेलन गरिएको थियो । संस्थापन पक्षले भने यसअघि असन्तुष्ट बनेका कुल आचार्यसहितलाई समेटेर मार्च २६ र २७ तारिखमा विश्व सम्मेलन आयोजना गरेको छ भने सोअघि बिहीबारदेखि सहमतिमै नेतृत्व चयन गरिनेछ । उनी हाल कोरियामा व्यवसायमा स्थापित छन् ।

    सन् २००६ देखि एनआरएनएमा लागेका उनी संस्थापक सदस्य हुँदै सन् २००९–११ मा कोरियाको अध्यक्ष भए । त्यसपछि एनआरएनए कोरियाको सल्लाहकारको रूपमा रहेका उनी सन् २०१३ देखि ०१५ सम्मको कार्यकाल फेरि अध्यक्ष चयन भए । २०१५–०१७ मा आईसीसी सदस्य बनेका उनी २०१७–०१९ को कार्यकालमा भने एसिया प्यासिफिक क्षेत्रको उपसंयोजक भएर काम गरे । पछिल्लो समय २०१९–२०२१ को कार्यकालमा भने उनी सोही पदमा पराजित बनेका थिए ।

    अध्यक्षमा चयन भएपछि उनले एनआरएनए विशुद्ध गैरराजनीतिक र सामाजिक संस्था भएकाले आफूले सोही अनुसार भूमिका खेल्ने बताए । उनले एनआरएनएहरुबीच अझै एकताको विकल्प नभएको बताउँदै त्यसका लागि आफूले पहल गर्ने पनि बताए । ‘एनआरएनएलाई एउटै मालामा उनेर जानुपर्छ । केही मतभेद पक्कै देखिएका छन्’, उनले भने, गल्ती कहाँबाट भयो सबै इमानदार भएर सच्याएर अघि बढ्नेतर्फ लाग्नुपर्छ ।’

    नवौँ कार्यसमितिले डेलिगेट चयन लगायतका विषयमा सुझबुझपूर्ण निर्णय गर्न नसक्दा अहिलेको अवस्था निम्तिएको उनको भनाइ छ । घले समूहको विश्व सम्मेलनबाट उपाध्यक्षमा थर्कबहादुर सेन, सुरेन्द्र सिग्देल, उमेश कुमार पुडासैनी, बाबुराम लामा चयन भएका छन् भने महिला उपाध्यक्षमा भूमा लिम्बु चयन भएकी छन् ।

    यस्तै महासचिवमा जानकी गुरुङ चयन हुँदा सचिवमा जुनु गुरुङ निर्वाचित भएकी छन् । यस्तै कोषाध्यक्षमा डिलाराम खरेल, क्षेत्री संयोजक युएसएमा कृष्ण पोखरेल, ओसियानामा केशव कँडेल र युरोप क्षेत्रीय उपसंयोजकमा उल्का प्रसाद घिमिरे चयन भएको निर्वाचन समितिले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार