Online Nepal शुक्रबार, बैशाख १४ २०८१

उपेन्द्र यादवको सहयोगमा अबको प्रधानमन्त्री केपी ओली बन्नुहुन्छ : डा. महतो

उपेन्द्र यादवको सहयोगमा अबको प्रधानमन्त्री केपी ओली बन्नुहुन्छ : डा. महतो


मध्यान्तर
  • बिहिबार, कार्तिक ३ २०७९

  • काठमाडौं, । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा प्रतिनिधिसभाका लागि सिरहा–४ बाट प्रत्यक्षतर्फका उम्मेदवार डा. वीरेन्द्र प्रसाद महतोले मुलुक समृद्ध बनाउने बाहेक आफ्नो अर्को एजेण्डा नभएको बताएका छन् । उनले चुनाव नआउँदै आफूलाई सो क्षेत्रका जनताले विजयी भैसकेको घोषणा गरेको सुनाए ।

    चुनावी अभियान–मंसिर ४ महासंग्राममा  कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले यसअघि जितेकाहरुले सो क्षेत्रको विकास र समृद्धिमा उल्लेखनीय योगदान पुर्याउन नसकेको टिप्पणी गरे । उनले भने,‘यो जिल्लामा गर्नुपर्नै काम धेरै छन् । यो क्षेत्रका बहुसंख्यक जनता कृषिमा आधारित छन् । हामीले कृषिमा आधुनीकीकरण गर्नुपर्ने छ, बेरोजगारीको समस्या त्यस्तै छ, त्यसमा पनि योगदान गर्नुछ, स्वास्थ्य र शिक्षाको समस्या त्यस्तै छ । यसमा सुधार गर्नुछ । कृषि बजार व्यवस्थित् भएको छैन् । यी क्षेत्रमा मेरो योगदान हुनेछ । युवाहरु हजारौंको संख्यामा विदेशिन बाध्य भएका छन् । विदेश जाँदापनि यहीँबाट दक्ष बनेर, सिप सिकेर जानुपर्छ भन्ने मेरो मान्यता छ ।यो क्षेत्रमा एउटा राम्रो गुणस्तरी प्राविधिक कलेजको आवश्यकत्ता छ ।’

    यसअघि सो क्षेत्रमा जति विकास हुनुपर्ने थियो त्यति नभएको उनको गुनासो छ । उनले भने,‘यो क्षेत्रको विकास नहुनुको कारण, यहाँबाट जितेर गएकाले जितेपछि यहाँका जनता बिर्सिए । अर्को कुरा, यहीँका जनता हामी पनि दोषी हौं । जनताले नेताहरुलाई जिताएर पठाउनुभयो तर राम्रो काम गर्नुभएन । म कसैलाई पनि दोष लगाउन चाहन्नँ । यो क्षेत्रबाट जितेर जानुभएकाहरुले आफूले सकेको यागदान गर्नुभयो । म यहीँ जन्मिए, यो क्षेत्रको विकास गर्नुछ । यो क्षेत्रका जनताले पनि नयाँ अनुहार खोजेका छन् । यहाँको विकासर समृद्धिको लागि म योगदान पुर्याउनेछु । शिक्षा र स्वास्थ्यमा हाम्रो योगदान पनि छ, यो निरन्तर रहन्छ । मैले अध्ययन र व्यवसायको दौरान लामो समय विदेशमा खर्चिएको छु, विदेशबाट सिकेर आएको ज्ञान, सिप र आर्जन गरेको पुँजीको यहाँको विकास र समृद्धिको लागि खर्चिने प्रण गरेर म चुनावी मैदानमा छु । आशा छ, यहाँका जनताले मलाई विश्वास गर्नुहुन्छ ।’

    ०६४ र ०७० मा संविधानसभाको रुपमा काम गरेका डा. महतोले यसपटक प्रत्यक्षमा उम्मेदवारी दिनुको कारण भनेको जनताबाट प्रत्यक्ष रुपमा अनुमोदिन हुन खोजेको सुनाए । उनले भने,‘मैले जन्मिएको ठाउँलाई कसरी बिर्सिने ? जहाँ म जन्मिएँ, त्यो माटोको लागि केही गर्नुपर्छ भनेर आएको हुँ। यही समाजबाट मैले शिक्षा, दिक्षा लिएर गएको हुँ । त्यो गुण तिर्न म यहाँ आएको हुँ । म जन्मिएको यो समाजलाई समृद्ध पार्न मेरो योगदान हुनेछ ।’

    महतोले नेपालमा ठूला ठूला क्रान्ति र राजनीतिक परिवर्तन भएपनि आर्थिक क्रान्ति नभएकोमा दुःखेसो पोखे । उनले भने,‘यहाँ मुख्य कुरा खासगरी नेपालको इतिहास हेर्नुभयो भने, देशमा राजनीतिक अस्थिरता अहिलेपनि विद्यमान छ । हाम्रो देशमा ठूला ठूला राजनीतिक क्रान्ति भएका छन् । त्यसमा हामीले सफलता पाएका छौं । तर, आर्थिक क्रान्ति हुन सकेको छैन् । अब आर्थिक समृद्धिको यात्रा तय गर्नुछ । राजनीतिक एजेण्डाभन्दापनि आर्थिक विकास र समृद्ध नेपाल बनाउनेतर्फ मेरो जोड रहनेछ । नयाँ सोच र विचार लिएर म यो क्षेत्रको विकासको लागि चुनावी मैदानमा उत्रिएको छु । अहिले यो क्षेत्रमा यो अवधिमा केही पनि काम भएको छैन भनेर म भन्दिनँ । म मा काम गर्ने इच्छाशक्ति छ । जनताका आधारभूत आवश्यकत्तामा मेरो ध्यान जानेछ । बाटो÷घाटोतर्फ ध्यान दिनेछु ।’

    महतोले भ्रष्टाचारको जरो उखेलेर फाल्ने पनि प्रतिबद्धता जनाए । उनले भने,‘हामी भ्रष्टाचारमुक्त समाज र देश बनाऔं । हामीसँग काम गर्ने भीजन छ । राजनीतिलाई मैले पेशाको रुपमा लिएको छैन् । समाजसेवाको रुपमा म राजनीतिमा होमिएको हुँ, देश र जनताको अहित हुने काम गर्दिनँ । अबको चार वर्षभित्र यो क्षेत्र परिवर्तन गरेर देखाउँछु । तपाईँ आएर हेर्नुहोला ।’

    डा. महतोले आफूहरुले आफ्नो क्षेत्रको समग्र विकासको लागि सकेको योगदान गरेको स्पष्ट पारे । उनले भने,‘यहाँ हामीले आमाको नाममा सुविधासम्पन्न अस्पताल बनाएका छौं, यो अस्पताल सिरहामा मात्रै नभएर यो मधेश प्रदेशको सबैभन्दा ठूलो अस्पताल हो । हामीले आखिरी मरेर लाने केही होईन । हामीले आर्जन गरेको पैसा, सिप र पुँजी यही समाजको लागि खर्चिनेछौं । आउने दिनमा पनि हाम्रो समाजसेवा झनै बढ्नेछ । हामीले कमाएका पैसा यही समाजलाई छोडेर जाने हो ।’

    उनले देशको विकास र समृद्धिको लागि नेतृत्वकर्तामा भित्रैबाट काम गर्ने भाव जागृत भएर आउनुपर्ने तर्क गरे । उनले आफ्नो क्षेत्रमा वर्षाद्को समयमा बाटोमा अवरुद्धता हुने गरेको सुनाए । त्यस्तै, बेरोजगारीको समस्या रहेको उल्लेख गर्दै महतोले युवाहरुको लागि बहुप्राविधिक शिक्षालय स्थापना गर्न पहल गर्ने विश्वास दिलाए ।

    त्यस्तै, कृषि व्यवस्थापनमा पनि ध्यान दिने उनको भनाई छ । उनले भने,‘धान, चामल, गुहँलगायतका अन्नबालीको बजारीकरणमा ध्यान दिनेछु । मल कारखाना स्थापनाको लागि ठूलो लगानी आवश्यक छ । हामी (निजी क्षेत्र) र सरकार दुवै मिलेर कारखाना पनि खोल्न सक्छौं । अहिले कुराकानी भैरहेको छ । यसको लागि हाम्रो विजनेस ग्रुपहरुसँग मिलेर अघि बढ्छौं । खेतीको समयमा किसानहरु म्ल तथा खाद्य नपाएर भौतारिएको मैले देखेको छु, त्यसैले एउटा मलकाखाना खोल्नेतर्फ ध्यान दिनेछ । यो देशलाई चाहिने पनि कुरा हो । सरकारले पनि यसबारे गम्भीरतापूर्वक हेरेको छ ।’

    उद्योगपति तथा व्यवसायीहरु राजनीतिमा आउने क्रेज बढ्नुलाई आफूले गलत रुपमा नलिएको महतोको भनाई छ । उनले भने,‘हामी एकले अर्कोलाई गाली मात्रै गर्छौं । हामी त देशको विकासमा सकारात्मक योगदान पु्याउन आएका हौं । निजी क्षेत्रमा राम्रो व्यापार गर्न सक्ने, सफल पनि हुने अनि देशलाई समृद्ध बनाउन किन नसक्ने ? अरुलाई गाली गर्नुभन्दापनि त्यो पदमा पुगेर केही गरौं भन्ने भावले हामी राजनीतिमा आएका हौं । अरु थुप्रै साथीहरु आउनुभएको छ, यसलाई मैले सकारात्मक रुपमा लिएको छु । उद्योगपतिले पनि देश र जनताको सेवा गर्नुपर्छ । देशका विद्यमान प्रणालीमा सुधार गरेर अघि बढ्नुपर्छ ।’

    महतोले आफूले जनताको मन जित्ने कुरालाई प्रधान रूपमा लिएको उल्लेख गरे । उनले भने,‘आफ्नो क्षेत्रमाकेही गरौं, देशको मुहार फेरौं भनेर म राजनीतिमा लागेको हुँ । यो कुरा मैले बारम्बार भन्दै आएको छु । अरुलाई गाली गर्ने र अरुको मुख ताकेरमात्रै देशको विकास हुँदैन् । देशको सेवकको रुपमा राजनीतिमा आउनु खुशीको कुरा हो । यो स्वागतयोग्य कुरा हो ।’

    उनले उद्योगी तथा व्यवसायीले कर नतिरे देश कसरी चलेको छ त ? भन्दै प्रश्न पनि गरे । उनले थपे–‘धनी हुनु भनेको पाप हो ? बेईमानी हो ? हामी जसरी धनी र समृद्ध भएका छौं, त्यसैगरि यो समाज र देशपनि समृद्ध हुनुपर्छ । मसँग पैसा भए पो मैले सेवागर्ने हो, यो २१औं शताब्दी हो । यो समय भनेको समृद्धि र विकास नै हो । देशमा यस्तै बेरोजगार रहे आउने पाँच वर्षमा युवाहरु रहँदैनन्, हामीले बरोजगारीको समस्या समाधान गर्नुपर्छ । हाम्रो दायित्व छ कि देशमा रोजगारी सिर्जना गर्नुपर्छ ।’

    उनले आफू जन्मिएको ठाउँ कर्जन्हामा आमाको नाममा फूलमकुमारी महतो मेमोरियल अस्पताल सञ्चालनमा रहेको र सो अस्पताल अहिले सबैको लागि लाभदायी भएको सुनाए । उनले भने,‘हामीले यो अस्पताल खोल्दाखेरि २५ बेडबाट सुरु गरेका थियौं, अहिले १०० बेडमा पुगेको छ ।यो अस्पतालबाट धनुषा, सिरहा, उदयपुरका जनता लाभान्वित भएका छन् । यो अस्पताल सञ्चालनमा नआउँदा विराटनगर, जनकपुर र काठमाडौं जानुपर्ने बाध्यता थियो । अहिले त्यो बाधयता हटेको छ । यो अस्पताललाई अझै ठूलो रुपमा लैजाने योजनामा छौं । यसलाई नर्सिङ र मेडिकल कलेजको रुपमा विकास गर्ने सोच छ ।’

    उनले आमाकै नाममा स्थापित फूलकुमारी महतो मेमोरियल ट्रष्टमार्फत आफूहरु समाजसेवामा सक्रिय रहेको सुनाए । उनले अघि भने–‘कर्जन्हामा पनि हामीले यो अस्पताल खोलेका छौं, यो नाफाको लागि खोलेको होइन । च्यारिटी अस्पताल खोलेपछि नाफा र घाटाको कुरा हुँदैन, यो अस्पताल घाटामा हुँदापनि हामीले चलाएका छौं । तर, व्यवसाय गरेर पनि घाटा भयो भने त त्यो मान्छे असफल भैगयो नि । व्यवसाय गर्नु पैसा कमाउनको लागि हो । पैसा कमाएपछि रोजगारी सिर्जनागर्ने, राज्यलाई कर तिर्ने हो ।’

    उनले ढिलो/चाँडो मुलुक समृद्ध हुने विश्वास दिलाए । उनले भने,‘देशका सबै जनता सम्पन्नशाली हुन समय लाग्छ । विकास र समृद्धि भनेको जादुको छडी होईन । विदेशमा पनि हाम्रा नेपाली युवा पुस्ताले ठूलो सफलता हाँसिल गरेका छन् । उनीहरुको सिप, ज्ञान र पुँजीलाई नेपालमा सदुपयोग गर्नुपर्छ । बेरोजगारी समस्या समाधान नगरेसम्म देश विकास हुँदैन् । देशको आफ्नो साधन र स्रोतलाई उच्चतम प्रयोग गर्नुपर्छ । हाम्रो युवालाई अवसर दिनुपर्छ । यहाँ देश निर्माणको काममा लगाउनुपर्छ । यसतर्फ सरकार र निजी क्षेत्र सबै जिम्मेवार हुनुपर्छ ।’

    उनले कृषिलाई आधनुकीकरण गर्नको लागि सो क्षेत्रमा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए । बैकिङ क्षेत्रमा अहिले समस्या भएपनि चाँडै त्यो समस्या पनि समाधान हुने उनको विश्वास छ । उनले देशमा विद्यमान बैंकहरुले ठूलो मात्रामा मुलुकमा रोजगारी सिर्जना गरेको भन्दै आगामी दिनमा पनि बैंकले मुलुक निर्माणको लागि सकारात्मक योगदान पुर्याउने विश्वास दिलाए ।

    महतोले आफ्नो दल जसपा र नेकपा (एमाले) बीचको गठबन्धन मुलुक र जनताको आवश्यकत्ता भएको बताए । उनले भने,‘हाम्रो गठबनधन पवित्र गठबन्धन हो । राष्ट्र र मधेश निर्माणमा यो गठबन्धनको जितले योगदान पुर्याउने छ । अहिले केपी ओली र उपेन्द्र यादव एकै ठाउँमा उभिनुभएको छ । यो मधेश र सिंगो देशको लागि पनि सकारात्मक सन्देश हो ।’ उनले एमाले–जसपा गठबन्धनले आगामी निर्वाचनमा दुई तिहाई भन्दा बढि बहुमत ल्याउने ठोकुवा गरे ।
    उनले भने,‘मंसिर ४ गतेको निर्वाचनको नतिजा हेर्नुहोला । मधेश प्रदेशको सरकार यो गठबन्धनले बनाउँछ । देउवा र प्रचण्डको गठबन्धनले बहुमत ल्याउँदैन् । एमाले र जसपाको सहकार्यले मधेशमा अहिले जोश, जाँगर आएको छ । दुवै शक्ति एक ठाउँमा आएकोले जनतामा खुशियाली पनि छाएको छ । मधेश प्रदशेमा कांग्रेस पत्तासाफ भएको छ । कांग्रेसले एक सिटमा पनि जित्दैन् ।’

    उनले टाउको काट्ने र टाउकाको मुल्य तोक्नेहरुबीच गठबन्धन भएको भन्दै कांग्रेस–माओवादीसहितको पाँच दलीय गठबन्धनको विरोध गरे । उनले भने,‘त्यो गठबन्धन एजेण्डाबिहीन छ । तर, हाम्रो त एजेण्डासहितगठबन्धन बनेको छ ।’
    उनले निर्वाचनपछि नागरिकताको समस्या पनि समाधान हुने बताए । उनले भने,‘नागरिकता विद्येयक अल्झाएर राख्ने को हो ? केपी ओली हो र ? अब मंसिर ४ गतेपछि सबै समस्या समाधान हुन्छ । हामी दुई तिहाई बहुमत ल्याएर सबै समस्या समाधान गर्छौं ।’

    उनले आफूले चुनाव जितिसकेको र घोषणा हुनमात्रै बाँकी रहेको सुनाए । उनले भने,‘यहाँ भन्नलाई त जे पनि भन्लान्, तर जनताले मलाई तपाईँको जित भैसकेको छ भनिसक्नुभएको छ । यो मेरो भनाई होईन है, उहाँ (जनताहरुको) आवाज हो, मैले त्यही आवाज यहाँ बोलेको हो । २० दलीय गठबन्धन आएपनि केही हुँदैन्, पाँच दलीय गठबन्धन त के भयो र ? मैले चुनाव जितिसकें ।’

    महतोले आफ्नो क्षेत्रबाट धेरै नेता बनेको बताए । सोही क्षेत्रबाट प्रचण्डले पनि जितेको र मुलुकको नेतृत्व गर्दापनि सो क्षेत्रको विकासको लागि केही पनि नगरेको उनको गुनासो थियो । उनले भने,‘उहाँले केही पनि गर्नुभएन । जितेर गएपछि उहाँ फर्किएर आउनुभएन । अहिले म प्रत्यक्षमा चुनाव लड्न लागेको पहिलोपटक हो, ठूलो नेता प्रचण्ड चुनाव लड्न आउनुभयो भनेर मैले ०७० मा एकपटक छोडेको हुँ । त्यसपछि ०७४ मा पनि मैले पार्टीको आग्रहलाई स्विकार गर्दै पछि हटेको थिएँ, म २ पटक ब्याक भएको हुँ । अहिले म प्रत्यक्षको लागि चुनावी मैदानमा छु, मेरो जित १०० प्रतिशत सुनिश्चित छ ।’

    उनले आफ्नो विरुद्धमा प्रतिष्पर्धामा रहेका सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का नेता धर्मनाथ साहले सो क्षेत्रको विकास र समृद्धिको लागि केही पनि काम नगरेको आरोप लगाए । उनले भने,‘उहाँले यो क्षेत्रको लागि के काम गर्नुभयो ? धेरै भन्दिनँ, जम्मा पाँच वटा काम मात्रै देखाईदिए हुन्छ । अब यो निर्वाचनमा जनताले मूल्यांकन गर्छन् ।’

    डा. महतोले आगामी निर्वाचनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरे । उनले भने,‘अबको प्रधानमन्त्री केप ीओली नै हो । हाम्रो पार्टीका आदरणीय अध्यक्ष उपेन्द्र यादवले उहाँलाई प्रधानमन्त्री बनाउने हो । जसपाको समर्थन रहन्छ ।’

    महतोले आफू मन्त्री बन्नकै लागि वा कुनै पद पाउँछु भनेर राजनीतिमा नलागेको जिकिर गरे । उनले भने,‘म मन्त्री बन्नु वा नबन्नु ठूलो कुरा होईन । तर, मन्त्री पद भनेको चाहना हो । राजनीतिमा लाग्दा मन्त्री हुने चाहना छ, तर म मरिहत्ते भएर मन्त्री बन्नकै लागि भनेरलाग्दिनँ । जनताले जिताएर पठाएपछि उहाँहरुको माया म फर्काउँछु ।’
    उनले संघीयताको मुद्दाले एमाले र जसपामा द्धन्द्ध नभएको पनि स्पष्ट पारे । उनले भने,‘संघीयता देशको लागि अभिषाप होइन, यसलाई वरदान बनाउनुपर्छ । संघीयता लागु गर्ने कुरामा सुधार गर्नुपर्छ । अधिकार प्रत्यायोजन गर्दा ध्यान दिनुपर्छ । संघको पैसा ल्याएर प्रदेश चलाउनुहुँदैन् । प्रदेश आँफै समृद्ध हुनुपर्छ । संघीयता कहिल्यैपनि खारेज हुँदैन् । जनताले खारेजीगर्दैनन् । सिंहदरबारको अधिकार अहिले स्थानीय तहमा आएको छ । यो व्यवस्थालाई परिस्कृत बनाउनुपर्छ । बलियो बनाउनुपर्छ । संघीयता अभ्यास गर्दै जाँदा कतिपय कुरा सुधार गरेर जानुपर्छ । मुख्य कुरा भनेको डेलिभरी हो । जनताले सुविधा पाए कि पाएनन् भन्ने नै हो । अर्को कुरा, सुशासन कायम गर्नुपर्छ ।’

    उनले आफूसँग राजनीतिक एजेण्डाभन्दा समृद्ध देश बनाउने कुरामात्रै दिल र दिमागमा रहेको सुनाए । उनले भने,‘युवा जोश, जाँगर लिएर हामी राजनीतिमा होमिएका छौं, देश बनाउन सक्छौं । नेपाल धेरै कुरामा सम्भावना बोकेको देश हो । यसलाई समृद्ध बनाउन सक्छौं । कृषिदेखि पर्यटन सबै क्षेत्रमा प्रचुर सम्भावना छ, यी क्षेत्रमा राम्रो गर्न सकियो भने धेरै विकास हुन्छ ।मलाई लाग्छ, यो देश १० देखि १५ वर्षभित्र समृद्ध बन्छ । हाम्रो प्रत्येक पाईला र कदम अब समृद्ध नेपालको लागि हुने प्रण गर्दछु ।’

    महतोले आफ्ना दाइ डा. उपेन्द्र महतो राजनीतिमा नआउने सुनाए । तर, देशको विकास र समृद्धिमा उपेन्द्र महतोले ठूलो योगदान पुर्याउँदै आएको र आगामी दिनमा पनि त्यो योगदान निरन्तर रहने उनको भनाई छ ।

    प्रतिक्रिया
    थप समाचार