Online Nepal शनिबार, जेष्ठ ५ २०८१

धर्मेन्द्र झाको नयाँ कृति, ‘शहरक भीडमे एसगर हम’ अर्थात् ‘शहरको भिडमा एक्लो म’

धर्मेन्द्र झाको नयाँ कृति, ‘शहरक भीडमे एसगर हम’ अर्थात् ‘शहरको भिडमा एक्लो म’


मध्यान्तर
  • शुक्रबार, पुष १३ २०८०

  • धर्मेन्द्र झा जसरी वरिष्ठ पत्रकारका रुपमा परिचित छन्, त्यसरी नै साहित्यकार माँझ धर्मेन्द्र विह्वल परिचित छन् । यी दुवै नाम एकै व्यक्तिको हो, जसले पत्रकारितामा तीन दशक भन्दा बढी समय बिताएका छन् । यो परिचयपछि उहाँलाई नचिन्नेको संख्या सायदै होला ।

    तीन दशकभन्दा बढी समयदेखि देशलाई निरन्तर सूसुचित गर्दै आएका उनै झा त्यति नै समय – धर्मेन्द्र विह्वलका नामबाट साहित्य लेखनमा सक्रिय भएका छन् । नेपालीसँगै मैथिली साहित्यको पुनरुत्थानमा लागिपरेका विह्वलले साहित्य यात्राको अर्को खुड्किलो पार गरेका छन् । अर्थात् मैथिली साहित्यको दस्तावेजमा अर्को एउटा कृति थपेका छन्– ‘शहरक भीडमे एसगर हम’ अर्थात् ‘शहरको भिडमा एक्लो म’ ।

    मैथिली कविताको छैठौँ शृंखलाका रूपमा प्रकाशित यो कृति यसकारण पनि विशेष छ कि यसमा एकै शीर्षकमा ५१ वटा कविता अटाएका छन् । शहर शीर्षक दिइएका ५१ वटा कविता २०४७ सालदेखि २०६६ सालको बीचमा विभिन्न मितिमा लेखिएका छन् ।

    यस कृतिमा कवि विह्वलले कवितामार्फत शहर सपना र शहरको वास्तविकता खोतल्ने प्रयास गरेका छन् । अधिकांश कवितामा उनले आफैँ भोगेका अनुभव समेटिएको विह्वल बताउँछन् । ‘मैले पत्रकार र साहित्यकार बन्ने हुटहुटीले शहर बसाइका बीचमा जे भोगेँ, जे देखेँ, त्यही नै कविताका रूपमा उतारेको हुँ,’ विह्वलले भने, ‘साहित्य कल्पनामात्रै होइन, यसमा कही न कहीँ वास्तविकताको अंश पनि हुन्छ, यसमा त्यही प्रयुक्त छ ।’

    यस कृतिको भूमिकामा नेपाल संगीत तथा प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषद्का पूर्वसदस्य रमेश रञ्जनले लेखेका छन्,‘विह्वलका प्रकाशित सबै कृतिका आधारमा उनी कविता र साहित्य लेखनका सबै विधामा उत्तिकै माहिर छन् भन्ने प्रमाणित गर्छ । विह्वलका रचनामा शब्दमात्रै छैनन, त्यहाँ भावना, अनुभव र संवेदना पनि उत्तिकै सान्दर्भिक छन् ।’

    रमेश रञ्जनले भनेजस्ते विह्वलले साहित्य लेखनमा नौलो प्रयोग पनि गर्दै आएका छन् । यसअघि मैथिली साहित्यको पहिलो तांका संग्रह प्रकाशन गरेका विह्वलले ‘शहरक भीडमे एसगर हम’ मा पनि नयाँ प्रयोग गरेका छन् । यस कृतिमा मैथिल चित्रकार एससी सुमनको हस्तलिखित चित्र राखिएको छ, त्यो पनि हरेक कवितामा अलग–अलग । आवरणमा पनि उनै सुमनको कला उतारिएको छ । यसमा प्रयोग भएका हरेक चित्र र स्केचमा कुनै सम्पादन नगरिएको विह्वल बताउँछन् ।

    मिथिला नट्यकला परिषद्ले प्रकाशन गरेको यस कृतिको मूल्य ३ सय २० रुपैयाँ राखिएको छ भने भारु २०० मूल्य तोकिएको छ । विह्वलले भने, ‘लोप हुँदै गएको मैथिली साहित्यको जगेर्ना गर्नु र साहित्यकै माध्यमबाट समाजलाई एड्भोकेसी गर्नु मेरो मुख्य उद्देश्य हो ।’

    निकट भविष्यमै मैथिली भाषामै अर्को कृति प्रकाशनको तयारीमा रहेको बताउने विह्वल बाँचुन्जेल पत्रकारिता र साहित्य लेखनमा सक्रिय रहने चाहना रहेको बताउँछन् । ‘साहित्य लेखन र पत्रकारिता मेरो जीवनका अभिन्न अंग बनिसके । अब यसबाट विश्राम लिने कल्पना पनि छैन,’ उनी भन्छन्, ‘यी क्षेत्रमा काम गर्दा म बेग्लै आनन्दको अनुभूति गर्छु ।’

    प्रतिक्रिया
    थप समाचार