काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने थुनामुक्त भएका छन् । नाबालिग बलात्कारको आरोप लागेका उनी २० लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन् ।
उच्च अदालत पाटनले उनलाई बिहीबार नै रिहा गर्न आदेश दिएको थियो । तर धरौटी बुझाउन ढिलो भएकाले क्रिया पुर्याएर लामिछाने आजमात्र रिहा गरिएको केन्द्रीय कारागार प्रशासनले जनाएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई सर्तसहित रिहा गर्न आदेश दिएका थिए ।
उनी गत भदौ २० गते नाबालिग बलात्कारको अभियोगमा पक्राउ परेका थिए । लामिछानेले गत भदौ ५ को राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । त्यसको भोलिपल्ट २२ गते प्रहरीले लामिछाने विरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान शुरु गरेको थियो ।
सन्दीपलाई काठमाडौँ जिल्ला अदालतले कार्तिक १८ गते पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो । वादी र प्रतिवादीका तर्फबाट भएको कानुन व्यवसायीको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद घिमिरेले आरोपित लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएका थिए ।
संयोग त यो छ कि उनी थुनामा परेको दिन कार्तिक १८ गते शुक्रबार थियो भने थुनामुक्त हुने दिन पुस २९ गते पनि शुक्रबार परेका छन् । सन्दीप ७० दिनपछि थुनामुक्त हुने भएका हुन् ।