Online Nepal शनिबार, बैशाख २२ २०८१

‘१३ औं इक्यान बृहत शैक्षिक मेलाको तयारी अन्तिम चरणमा’

‘१३ औं इक्यान बृहत शैक्षिक मेलाको तयारी अन्तिम चरणमा’


मध्यान्तर
  • आइतबार, असार २२ २०७६

  • काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ(इक्यान)ले यहि असार २६ देखि २९ गतेसम्म संचालन गर्ने १३औं बृहत शैक्षिक मेला संचालनको तयारी अन्तिम चरणमा पुगेको छ । नेपालको सवैभन्दा ठुलो शैक्षिक मेलाको रुपमा स्थापित भईसकेको इक्यान शैक्षिक मेलामार्फत एकै थलोबाट विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालालाई अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धि सहि जानकारी र परामर्श दिन आयोजना गरिएको मेला संचालनको तयारी अन्तिम चरणमा पुगेको हो ।

    स्टल निर्माण र केहि प्राविधिक काम बाहेक मेला संचालनको लागि गर्नुपर्ने सबै तयारी गरिसकेको इक्यानका सचिव एवं मेला संयोजक दिपक भुषालले बताए । उनले भने– ‘ईक्यानमा आवद्ध व्यवसायी साथीहरुले उत्साहपूर्वक लगभग पुरै स्टल बुक गरिसक्नु भएको छ । हामीले पनि मेलाललाई आकर्षक र भव्य बनाउन यसपटक गएका बर्षभन्दा पृथक शैलि अपनाएका छौं । मेलामा सहभागिहरुले पक्कै पनि फरक महसुस गर्नुहुनेछ ।’ भुषालले मेलामा सहभागिता जनाउन विभिन्न देशका राजदुतावास तथा कुटनितिक नियोगहरुलाई समेत आग्रह एवं पत्राचार गरिएको जानकारी दिए ।

    मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, डेनमार्क, साईप्रस लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागीता रहने इक्यानले जनाएको छ ।

    नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना एवम् अवसरहरु जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नुका साथै स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने मेलाको प्रमुख उद्देश्य रहेको संयोजक भुषालले बताए । मेलामा वैदेशिक अध्ययनमा जान चाहने हरेक विद्यार्थी तथा तिनका अभिभावकहरुको लागि, अन्तर्राष्ट्रिय शैक्षिक क्षेत्रका नविनतम जानकारी, विभिन्न देशका शिक्षा नीतिहरु, नीतिमा आएका परिवर्तनहरु, रहन सहन, हावा पानी, बातावरण, कलेज एवमं देश अनुसारको शुल्क तथा विद्यार्थीहरुका लागि चाहिने सवै विषयवस्तुहरुमा यथार्थ जानकारी लिन उचित थलोको रुपमा प्रयोग गर्न भुषालले आग्रह गरे ।

    एक लाखभन्दा बढी विद्यार्थी एवं अभिभावकले अवलोकन गर्ने अपेक्षा गरिएको मेलामा करिब ४ सयको स्टल रहनेछ भने प्रदर्शनी गृह पुर्णतया डस्टफ्रि जोन (धुलो मुक्त क्षेत्र) हुनेछ । प्रदर्शन क्षेत्रभरी फ्रि वाईफाई, लाइभ टक सो को व्यवस्था हुनेछ । मेलाको अवलोकनलाई लक्षित बनाएर आउने विद्यार्थीहरुको लागि मात्र उपत्यकाका मुख्य रुटहरुमा निःशुल्क वससेवाको व्यवस्था हुने जनाइएको छ । ईक्यानको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस मेलामा चारैदिन रक्तदान कार्यक्रम आयोजना गरिने छ तथा प्राथमिक उपचार केन्द्र तथा डेन्टल क्याम्पको पनि ब्यवस्था गरिने छ ।

    यसपटकको मेलालाई वल्र्ड विजनेस म्यानेजमेन्ट एण्ड कन्सल्टयान्टस (डब्लुबीएमसी)ले व्यवस्थापन गर्ने अवसर पाएको छ भने मेलाको प्रस्तुति व्रिटिस काउन्सिलले गरेको छ । त्यस्तै शिर्ष प्रायोजकमा राइटपाथ एजुकेशन छ भने मुख्य प्रायोजकमा मेट्स एजुकेशन रहेको छ ।

    प्रतिक्रिया
    थप समाचार