काठमार्डाैँ । वर्तमान सरकार गठनपछि पहिलोपटक भारतको औपचारिक भ्रमणमा जानुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री डा. एस जयशङ्करबीच नयाँदिल्लीमा प्रतिनिधिमण्डलस्तरीय वार्ता सम्पन्न भएको छ। वार्ताका क्रममा दुई देशबीचको विकास सहकार्य, कनेक्टिभिटी, व्यापार, पारवहन र ऊर्जा क्षेत्रमा भएका प्रगतिको समीक्षा गर्दै बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने सहमति भएको छ। यस भ्रमणका क्रममा नेपालको ‘नेशनल पेमेन्ट्स इन्टरफेस’ (NPI) र भारतको ‘युनिफाइड पेमेन्ट्स इन्टरफेस’ (UPI) बीच ‘पियर-टु-पियर’ आबद्धताको शुभारम्भ गरिएको छ, जसले सीमापार वित्तीय कारोबार र रेमिट्यान्सलाई थप सहज बनाउनेछ। साथै, सन् २०१५ को भूकम्पपछि भारतको सहयोगमा पुनःनिर्माण गरिएका ७२ वटा स्वास्थ्य संस्था र १२ वटा सांस्कृतिक सम्पदा परियोजनाहरू नेपाललाई हस्तान्तरण गरिएको छ।
यसैगरी, डिजिटल क्षेत्रको सहकार्यलाई अघि बढाउँदै काठमाडौँ विश्वविद्यालय र ‘डिजिटल इण्डिया भाषिनी’ बीच भाषा अनुवाद प्लेटफर्म निर्माणका लागि समझदारी भएको छ भने सीमापार अपराध नियन्त्रणका लागि पारस्परिक कानुनी सहायता सम्झौता (MLAA) कार्यान्वयनको प्रक्रिया पूरा भएकोमा दुवै पक्षले स्वागत गरेका छन्। भ्रमणका क्रममा मन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र भाजपाका विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेसँग पनि भेटवार्ता गर्नुभएको थियो। समग्रमा, भारतको ‘छिमेक पहिले’ नीति र नेपालको आपसी हितलाई केन्द्रमा राखेर गरिएको यो भ्रमणले दुई देशबीचको कूटनीतिक विश्वास र जनस्तरको सम्बन्धलाई थप ऊर्जा प्रदान गर्दै उच्चस्तरीय राजनीतिक संवादको परम्परालाई निरन्तरता दिएको छ।