Online Nepal सोमबार, बैशाख २४ २०८१

प्रदेश २ का मन्त्रीद्वारा एक करोड भ्रष्टाचार !

प्रदेश २ का मन्त्रीद्वारा एक करोड भ्रष्टाचार !


मध्यान्तर
  • मंगलबार, जेष्ठ २२ २०७५

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला मञ्च व्यवस्थापनको पैसामा फेरि एक पटक विवाद उत्पन्न भएको छ । राजपा नेपालका महामन्त्री एवम् प्रदेश २ का मन्त्री जितेन्द्र सोनलले मञ्च व्यवस्थापनका लागि २ करोड खर्च भएको भन्दै पैसा निकासका लागि दवाव दिइरहेका छन् । तर, मञ्च व्यवस्थापनमा यति धेरै पैसा कसरी खर्च भयो भनेर सबै चकित परेका छन् ।

    मञ्च व्यवस्थापनको जिम्मेवारी पाएका सोनलले मञ्च बनाउँदा करिव एक करोड ३५ लाख रुपियाँ अनियमितता गरेको आरोप लागेको छ । एघार सदस्यीय मञ्च व्यवस्थापन समितिका चारजना बाहेक बाँकी सदस्यले पैसा निकासको निर्णयमा हस्ताक्षर गर्न मानेका छैनन् ।

    समितिमा संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालका प्रदेश सांसदहरू सदस्य थिए । भारतीय प्रधानमन्त्री मोदीका लागि निर्माण गरिएको अस्थायी ट्वाइलेट पनि चोरी भएको छ । पाँच लाख खर्च गरेर प्रदेश मन्त्री सोनलले अस्थाइ ट्वाइलेट बनाएका थिए । त्यसको सामान रातारात चोरी भएको स्रोतले जनाएको छ ।

    स्रोतका अनुसार भारतीय पक्षले पण्डाल भारतको सीतामडीबाट ल्याएको थियो । पण्डालको पैसा नदिन भारतीय राजदूतावासले आग्रह गरिसकेको छ । तर, पण्डालका नाममा प्रदेशका मन्त्री सोनलले प्रदेश २ को मुख्यमन्त्रीको कार्यालयका सचिवलाई दवाव दिएका छन् ।

    तर, मुख्यमन्त्रीको कार्यालयका सचिवले पण्डाल र मञ्च व्यवस्थापनका नाममा पैसा दिने हो भने अख्तियार दुरुपयोग अनुसन्धानले छानविन गर्ने र फस्ने भएको भन्दै सोनललाई पैसा मानिरहेका छैनन् । समितिका सदस्यहरूले पनि निर्णय गर्न मानेका छैनन् ।

    यसैबीच, मोदीको भ्रमणका बेला व्यवस्थापनका नाममा करोडौँ रुपियाँ भ्रष्टाचार भएको भन्दै छानविनको माग गरेर स्थानीय युवाहरूले अख्तियारमा उजुरी दिने भएका छन् । प्रदेश २ को सरकार असार पहिलो साता गिर्ने अवस्थामा छ । त्योभन्दा अगाडि नै मञ्च व्यवस्थापनको नाममा एक करोड ३५ लाख लिएर आफ्नो भविस्य सुरक्षित गर्ने दाउमा प्रदेश २ का मन्त्री सोनल लागेको आरोप छ ।

    त्यति मात्रै होइन मन्त्री सोनलसहितका अन्य मन्त्रीहरू मिलेर मोदीको भ्रमणका बेला सडकमा ग्राभेल गरेको भन्दै लाखौँ रुपियाँ अनियमितता गरेको खुलासा पनि भएको छ । उता, राजाप नेपालका संयोजक महन्थ ठाकुरले प्रदेश २ का मन्त्री जितेन्द्र सोनललाई पदबाट राजीनामा दिन दवाव दिएका छन् ।

    संघीय फोरमले सहकार्य तोडेर नेपाल कम्युनिस्ट पार्टीसँग मिल्न गएको भन्दै राजपाबाट मन्त्री भएका सबैलाई राजीनामा दिन सुझाव दिएका हुन् । यद्यपि, प्रदेश २ का मन्त्री जितेन्द्र सोनल संघीय फोरमसँग मिलेरै सरकारमा बसिरहनुपर्ने भनेर ठाकुरसँग आग्रह गरिरहेको स्रोतको भनाइ छ ।

     

    www.samajikpatra. com/state/47889/

    प्रतिक्रिया
    थप समाचार