पुरुषोत्तम मास अर्थात अधिक मास वा मलमास हिन्दू धर्ममा विशेष धार्मिक महिना मानिन्छ। यसलाई “मलमास” वा “पुरुषोत्तम मास” पनि भनिन्छ। यसपाली २०८३ जेठ महिनाभरि पुरूषाेत्तम मास परेकाे छ। असार १ गतेबाट पुरूषाेत्तम मास सकिन्छ। यो महिनामा भगवान विष्णु नारायणलाई सम्झिदै पुजा र दर्शन गरिन्छ।
पुरुषोत्तम मास के हो ?
हिन्दू पात्रो चन्द्रमासमा आधारित हुन्छ । सौर्य वर्षसँग मिलाउन करिब ३२ महिना १६ दिनपछि एउटा अतिरिक्त महिना थपिन्छ। यही अतिरिक्त महिनालाई “अधिक मास” वा “पुरुषोत्तम मास” वा ” मलमास” भनिन्छ। हिन्दु धर्मशास्त्रमा सामान्यतया प्रत्येक महिनासँग कुनै न कुनै देवताको सम्बन्ध रहेकाे हुन्छ। तर अधिक मासमा भने कुनै राशिमा सूर्य सङ्क्रान्ति नपर्ने भएकाले यसलाई “अनाथ” वा “मलमास” भनिन्छ। हिन्दु पुराणका अनुसार यो महिना भगवान् विष्णुकहाँ गएर शरण माग्दा विष्णुले यसलाई आफ्नो नाम “पुरुषोत्तम” दिएर सबै महिनामध्ये श्रेष्ठ बनाइ दिएका हुन।
याे महिनामा किन नारायणको पूजा गरिन्छ ?
हिन्दु पुराणहरूका अनुसार यो महिना स्वयं भगवान् विष्णुलाई समर्पित भएकाले नारायणको पूजा,आराधना र भजन गरिन्छ।
भागवत गीता,श्रीमद भागवत लगायतका धार्मिक ग्रन्थको पाठ गरिन्छ। व्रत, दान, जप र तीर्थदर्शनको विशेष महत्व मानिन्छ।
यस महिनामा गरिएको पुण्यकर्मको फल अन्य महिनाको तुलनामा धेरै गुणा प्राप्त हुने धार्मिक जनविश्वास छ।
नारायण दर्शनको विशेष महत्व :
पुरुषोत्तम मासमा नारायण मन्दिरको दर्शन,तुलसी पूजा,विष्णु सहस्रनाम पाठ,”ॐ नमो भगवते वासुदेवाय” मन्त्र जप गर्नु
विशेष फलदायी मानिन्छ। काठमाडौं उपत्यकामा चन्द्रागिरी नगरपालिकाकाे १२ नं वडा मच्छेगाउँमा रहेकाे मच्छेनारायण मन्दिरमा विशेष पुजा,भजन किर्तन हुन्छ। मलमासभरि मेला लाग्छ। श्रद्वालु भक्तजनहरू पुजा र दर्शन गर्न जान्छन। एक महिनाभरि ठुलाे मेला लाग्छ। साथै पुरूषाेत्तम मासकाे जेठ महिनाभरि काठमाडौं उपत्यकाका चार प्रसिद्ध नारायण मन्दिरहरू बुढानिलकण्ठ,इचङगु नारायण,शेष नारायण, बिशङ्खु नारायण र चाँगु नारायण मन्दिरमा नारायण भगवानकाे दर्शन र पुजा गर्ने श्रद्वालु भक्तजनहरूकाे भिडभाड बढने गर्दछ।
पुरुषोत्तम मासमा यी चार नारायणको दर्शन गरे विशेष पुण्य प्राप्त हुने जनविश्वास छ। धार्मिक दृष्टिले पुरुषोत्तम मास आत्मशुद्धि, भक्ति, दान र सदाचारमा समर्पित भएर भगवान् नारायणको आराधना गर्ने विशेष अवसर मानिन्छ।