Online Nepal शनिबार, बैशाख १५ २०८१

दर्शकको माग ‘पर्खी बसेँ तिमीलाई २’ चाहियो !

दर्शकको माग ‘पर्खी बसेँ तिमीलाई २’ चाहियो !


मध्यान्तर
  • शनिबार, पुष २८ २०८०

  • काठमाडौँ । नेपाली फिल्म ‘पर्खी बसेँ तिमीलाई’ हेरेर निस्किएका दर्शकले सिक्वेलको माग गरेका छन् । ललितपुरस्थित लाविम मलमा रहेको क्युएफएक्समा प्रतिक्रिया लिन पुगेको निर्माण टिमलाई दर्शकले माग गरेका थिए । निर्माता राजाराम बुढाथोकी, निर्देशक दीपक श्रेष्ठ, नव कलाकारद्वय किरण श्रेष्ठ र रक्षा बुढाथोकी, वितरक करण श्रेष्ठसहितको टिमलाई दर्शकले सिक्वेल बनाउँ आग्रह गरेका हुन् ।

    फिल्म हेरेर निस्किदै गर्दा अधिकाँस दर्शकका आँखा रसाएका थिए । उनीहरूले फिल्मको विषयवस्तुसँगै प्रस्तुतीकरणको तारिफ गरेका थिए । धेरैपछि विशुद्ध प्रेम कथानक फिल्म हेर्न पाएको भन्दै उनीहरूले तारिफ समेत गरे ।

    निर्देशक श्रेष्ठले हल प्रतिक्रिया शत प्रतिशत सकारात्मक रहेको बताए । ‘म केही समयको अन्तरालमा निर्देशक बनेर आएको थिएँ । युवापुस्ताको प्रेमलाई मैले बुझे अनुरूप प्रस्तुत गरे । यसलाई दर्शकले रिलेट गर्नुभयो, म एकदमै खुसी छु’, निर्देशक श्रेष्ठले भने,‘मैले देखाएको कथा पर्दाबाट दर्शकसम्म पुग्नु मेरो सफलता हो । हाम्रो फिल्मको व्यापार अपेक्षाकृत छ । दर्शकले नै दर्शक अब हलसम्म ल्याउनु हुनेछ ।’

    निर्माता बुढाथोकीले विहिबारसम्म भएको डर हटेको प्रतिक्रिया दिए । उनले आउँदो केही दिन हलमै पुगेर दर्शक प्रतिक्रिया लिने समेत जानकारी दिए । ‘नयाँ कलाकार लिएर आउँदा डर नभएको होइन, तर त्यो भन्दा बढी रहेको आत्मविश्वासले काम गर्यो । नाम नयाँ तर नव कलाकारको काम पुरानै जस्तै छ’, निर्माता बुढाथोकीले भने,‘स्पेसल स्क्रिनीङ र हल प्रतिक्रियाले म ढुक्क भएँ ।’

    अभिनेता श्रेष्ठले मण्डला नाटकघर हुँदै फिल्मसम्मको यात्राले बल्ल सार्थकता पाएको बताए । ‘मैले पाईरहेको प्रतिक्रियाले उत्साह थपेको छ । म कलाकार बन्ने सपना बोकेर आएको थिएँ । म कलात्मक र व्यावसायिक दुवै मेकर्सको रोजाईमा पर्ने फिल्म गर्न चाहन्थे । यसको सुरुआत राम्रो भएको छ’, अभिनेता श्रेष्ठले भने ।

    अभिनेत्री बुढाथोकीले प्रत्यक्षसँगै सोसल मिडियामार्फत पाइरहेको प्रतिक्रियाले आगामी यात्रा तय गर्न सहज हुने बताइन । ‘मलाई लभर गर्लको भूमिकामा राम्रो गरेउ भन्ने प्रतिक्रिया प्राप्त भएको छ । यो फिल्म गर्दा मैले सिकेका कुराहरूले आउँदो समयमा मलाई निकै सहयोग गर्नेछ । आफ्नो फिल्म हेर्दा केही स्थानमा आफैँ पनि भावनात्मक भएँ’,अभिनेत्री बुढाथोकीले भनिन् ।

    काठमाडौँ उपत्यकाका वितरक करण श्रेष्ठले पहिलो दिन फिल्मको व्यापार उत्साहजनक रहेको जानकारी दिए । ‘पहिलो दिन दर्शकको उपस्थिति राम्रो छ । हेर्नेले सकारात्मक प्रतिक्रिया दिईरहनु भएको छ । यसले आगामी दिनमा दर्शकको चाँप बढाउनेमा विश्वस्त छु’, वितरक श्रेष्ठले भने । उनका अनुसार पहिलो दिनको तुलनामा दोस्रो दिन शनिवार नै सो संख्यामा वृद्धि भएको छ ।

    फिल्म टिमले माघेसंक्रान्तिसम्म उपत्यकाका विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिदैछन् । डेब्यु फिल्ममै पाएको प्रतिक्रिया आफूहरू उर्जाशील रहेको नव कलाकार किरण र रक्षाले प्रतिक्रिया दिए ।

    रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ । फिल्मलाई उपत्यकामा रीच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गरेको छ ।

    प्रतिक्रिया
    थप समाचार