Online Nepal शनिबार, बैशाख १५ २०८१

सन्दर्भ अन्तर्राष्ट्रिय श्रवण दिवसः बहिरोपना रोकथामका लागि यस्ता छन् विशेषज्ञका १० सुझाव

सन्दर्भ अन्तर्राष्ट्रिय श्रवण दिवसः बहिरोपना रोकथामका लागि यस्ता छन् विशेषज्ञका १० सुझाव


मध्यान्तर
  • आइतबार, फाल्गुन २० २०८०

  • काठमाडौं । अन्तर्राष्ट्रिय श्रवण दिवसको अवसरमा सोसाइटी अफ ओटोलारिन्गोलोजिस्ट अफ नेपालले बहिरोपना रोकथामका लागि १० सुझावहरु दिएको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी श्रवण सम्बन्धी रोग र यसको रोकथामको उपाय जानकारी गराएको हो ।

    सोसाइटी अफ ओटोलारिन्गोलोजिस्ट अफ नेपालका महासचिव डा. योगेश न्यौपानेले आफूहरुको उद्देश्य श्रवण सम्बन्धि तथ्यहरु समाजमा पुर्याउने र त्यस सम्बन्धमा योगदान दिने रहेको बताए । उनले अन्धोपनाले मान्छेलाई संसारबाट छुट्याउने र बहिरोपनले भने मान्छेलाई मान्छेबाट नै छुट्याउने बताए । कानमा प्रयोग गरिने एयरफोन श्रवण शक्तिका लागि धेरै घातक रहेको उनको भनाइ छ ।
    सोसाइटी अफ ओटोलारिन्गोलोजिस्ट अफ नेपालका अनुुसार धेरैजसो बहिरोपना रोक्न सकिने प्रकृतिका हुन्छन् । नेपालमा बहिरोपनबाट बच्न र बचाउनका लागि सरकारीस्तरबाट देशव्यापी रुपमा सर्वेक्षण हुन आवश्यक रहेको सोसाइटी अफ ओटोलारिन्गोलोजिस्ट अफ नेपालको सुझाव छ ।

    सोसाइटी अफ ओटोलारिन्गोलोजिस्ट अफ नेपालले बहिरोपन रोकथाम गर्नको लागि निम्न कुरामा ध्यान दिनुपर्ने सुझाएको छः
    १.संक्रमणबाट कानलाई बचाउनुपर्छ । कान पाकिहाले नजिकैको चिकित्सकसँग सल्लाह लिनुपर्दछ । रुघाखोकी लागेमा मध्यकान र नाकको पछाडि भाग जोडने नली बन्द हुन जान्छ । यो नली लामो समयसम्म बन्द भइरहेमा मध्य कानमा असर पर्छ । यो समस्या बच्चाहरुमा बढी देखा पर्ने भएकोले बच्चाहरुलाई रुघाखोकी लाग्नबाट बचाउनका लागि आमाको दुध खुवाउने, दुध खुवाउँदा बसालेर खुवाउने, घर वरिपरि पाइने ताजा खानेकुरा खुवाउने र जङ्क फुड नखुवाउने गर्नुपर्छ । रुघा लागेमा तातो, तातो झोल पदार्थ खुवाउनुपर्छ । निको नभएमा नजिकैको स्वास्थ्यचौकी वा अस्पतालमा लैजानु पर्छ ।

    २.कानलाई चोटपटकबाट बचाउनुपर्छ । कान कोट्याउँदा कानको जालीमा असर पर्छ र जाली फुटने सम्भावना हुन्छ । त्यसैले कान कोट्याउनु हँुदैन भन्ने कुरा जनमानसमा सिकाउनुपर्छ ।
    ३. बच्चाको सुनाइ सम्बन्धि शंका लागेमा नजिकैको चिकित्सकको सल्लाह लिनु पर्छ ।
    ४.कानमा तेल अथवा अरु कुनै पनि झोल पदार्थ हाल्नु हुँदैन ।
    ५.गर्भवती भएको पहिलो तीन महिनासम्म आफुखुसी औषधिको सेवन गर्नु हुँदैन, गर्नै परेमा चिकित्सकको सल्लाह लिनुपर्छ । गर्भवती आमाले जाँडरक्सी र चुरोट सेवन गर्न हुँदैन ।
    ६.आफ्नो बच्चाले नसुन्ने शंका लागेमा सम्बन्धित चिकित्सकलाई जचाई सल्लाह लिनु पर्छ ।
    ७.सर्वसाधारणको जमघट हुने स्थानमा चर्को ध्वनी उत्पन्न हुने उपकरणको प्रयोग गर्नु हुँदैन । वाजाहरु पनि धेरै चर्को रुपमा बजाउनु हुँदैन । गाडीको हर्न निषेध गरिएको ठाउँमा चर्को हर्न बजाउनु हुँदैन ।
    ८. मोवाइल वा हेड फोन धेरै समयसम्म प्रयोग गर्नु हुँदैन । गर्नै परे चर्को सुन्नु हुँदैन ।
    ९. कलकारखानामा काम गर्ने व्यक्तिहरुले इएर प्लगको प्रयोग गरी कानलाई चर्को ध्वनीबाट बचाउन पर्छ । यस्ता ठाउँमा कम्तिमा वर्षको एकपटक श्रवण परीक्षण गर्ने व्यवस्था मिलाउनुपर्छ ।
    १०. श्रवण शक्तिलाई कसरी बचाउन सकिन्छ, श्रवण शक्तिको ह्रास भइहालेमा के कस्ता विधिहरु अपनाएर रोकथाम र्गा सकिन्छ र छिटोभन्दा छिटो बच्चामा श्रवण शक्तिको परिक्षण कसरी गर्न सकिन्छ भन्नेबारे सर्वसाधारणलाई विभिन्न माध्यमबाट शिक्षा दिनुपर्छ ।

    प्रतिक्रिया
    थप समाचार