Online Nepal शनिबार, बैशाख २९ २०८१

राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा सस्तो ब्याजदर

राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा सस्तो ब्याजदर


मध्यान्तर
  • बिहिबार, साउन २९ २०७७

  • काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले लिने कर्जाको ब्याजदर नेपालको बैंकिङ क्षेत्रमा सबैभन्दा सस्तो बनेको छ । बैंकको आधारदर ६ प्रतिशतभन्दा कम भएकाले समग्रमा ब्याजदर पनि एकल विन्दुमा झरेको छ ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको आधारदर ६ प्रतिशतभन्दा पनि तल ५ दशमलव ९० प्रतिशत कायम भएको बताए । यसमा १ दशमलव २५ प्रतिशत देखि ३ दशमलव २५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा उपलब्ध गराइएको श्रेष्ठले बताए । अधिकतम प्रिमियम जोड्दासमेत बैंकको ब्याजदर ९ प्रतिशतको हाराहारीमा रहेकाले अन्य बैंकहरुको भन्दा ब्याजदर निकै सस्तो भएको उनको दावी छ । श्रेष्ठले ७ दशमलव २५ प्रतिशत ब्याजदरको घरकर्जा उपलब्ध गराइएको जानकारी दिए ।

    यो कर्जा घर किन्‍न, घडेरी किनेर घर बनाउन र अन्य बैंकबाट लिएको घरकर्जालाई स्वाप गर्ने सुविधासमेत दिइएको बताए । कोभिड १९ को असरले कर्जाको माग कम भएर गएको र निक्षेपमा चाप नपर्दा लगानीयोग्य रकम बढेकाले निक्षेप र कर्जा दुवैमा ब्याजदर घटेको उनले बताए । उनले नेपालका वाणिज्य बैंकहरुमा सबैभन्दा बढी प्रतिस्पर्धी राष्ट्रिय वाणिज्य बैंक नै रहेको र यसको ब्याजदर पनि अन्य बैंकको तुलनामा न्यून भएको बताए ।

    अहिले बैंकिङ प्रणालीमा यसै पनि निक्षेप बढी र कर्जाको माग कम हुँदा अधिक तरलता देखिएको छ । यो अवस्था राष्ट्रिय वाणिज्य बैंकमा पनि छ । पछिल्लो अवस्थामा राष्ट्रिय वाणिज्य बैंकमा कर्जा-पुँजी-निक्षेप अनुपात ६३ प्रतिशत कायम भएको छ । यसको अर्थ बैंकमा अझै लगानीयोग्य रकम प्रसस्त छ । त्यसैले कर्जाको ब्याजदर तत्काल हेरफेर हुने सम्भावना नभएको पनि श्रेष्ठले बताए ।

    हाल बैंकले सामान्य बचतमा ३ दशमलव ५ प्रतिशत, विशेष बचत, सुनौलो बचतलगायत खातामा रकम जम्मा गर्दा ५ प्रतिशत ब्याजदर दिएको छ । त्यस्तै अमेरिकी डलर बचतमा १.५ प्रतिशत, युरो र अन्य मुद्रामा शून्य दशमलव ७५ प्रतिशत ब्याजदर छ । मुद्दती निक्षेपअन्तर्गत व्यक्तिगतमा ७ प्रतिशत देखि ७ दशमलव २५ प्रतिशत र संस्थागतमा ६ दशमलव ५ प्रतिशतदेखि ६ दशमलव ६ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।

     

    प्रतिक्रिया
    थप समाचार