Online Nepal आइतबार, बैशाख २३ २०८१

गुणस्तर तथा नापतौल विभागको बजार अनुगमनः ठगी गर्ने ८५ उद्योगलाई कारबाही, ५ वटा फर्मविरुद्ध मुद्धा दर्ता

गुणस्तर तथा नापतौल विभागको बजार अनुगमनः ठगी गर्ने ८५ उद्योगलाई कारबाही, ५ वटा फर्मविरुद्ध मुद्धा दर्ता


मध्यान्तर
  • बुधबार, कार्तिक ५ २०७७

  • काठमाडौं । नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने ८५ उद्योग कारबाहीमा परेका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागले भदौ र असोजमा बजार अनुगमन गरी नापतौल यन्त्रको माध्यमबाट ठगी गर्ने ८५ उद्योगी तथा व्यवसायीलाई कारबाही गरेको हो ।

    विभागले २ महिनामा ६ सय ९० वटा उद्योग तथा विभिन्न खालका पसलको अनुगमन गरेको थियो । जसमा ८५ वटा उद्योगको नापतौल यन्त्रमा खराबी फेला पारेको छ। विभागले १ सय ५१ वटा किराना पसल, ३२ वटा होलसेल विक्रेता, ६० वटा उद्योग, ५३ वटा फलफूल–तरकारी पसल, ३८ वटा माछा मासु पसल, १८ वटा ग्यास उद्योग, ९० वटा पेट्रोल पम्प र १ सय ४५ वटा सुनचाँदी पसलको अनुगमन गरेको थियो ।

    अनुगमनका क्रममा विभागले विक्री स्थलमा तौलने यन्त्र नराखेको र नाप्ने तौलने यन्त्रहरुको समयमै नवीकरण नगरेको फेला पारेको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।

    यसैगरी विभागले विभिन्न फर्मले नाप तौलसम्बन्धित कागजपत्र पेस नगरेको र स्टाण्डर्ड नाप र तौल ऐन २०२५ को दफा २५ अनुरुप नापतौल वा नाप्ने तौलने यन्त्र प्रयोग गर्न अनुमति नलिएकोसमेत फेला पारेको थियो । यसैबीच विभागले ५ वटा फर्मविरुद्ध विभिन्न जिल्ला अदालतमा अभियोग दर्ता गरेको जनाएको छ । जसमा काठमाडौं कार्यालयबाट गोरखकाली ग्यास सेन्टर ढुंगेधारा, मातारानी टेडिङ प्रालि घट्टेकुलो र न्यु टीका डेरी सेन्टर मानभवनविरुद्ध अभियोग दर्ता गरेको छ । यसैगरी वीरगञ्ज कार्यालयबाट एपोलो फिड्स चितवन र जगदम्बा इन्टरप्राइजेज पर्साविरुद्ध पनि अभियोग दर्ता गराएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार