Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

भूकम्प प्रभावित ४ हजार ६ सय ४७ विद्यालयको पुनर्निर्माण कार्य सम्पन्न

भूकम्प प्रभावित ४ हजार ६ सय ४७ विद्यालयको पुनर्निर्माण कार्य सम्पन्न


मध्यान्तर
  • बुधबार, जेष्ठ २९ २०७६

  • काठमाडौं । हालसम्म भूकम्प प्रभावित ४ हजार ६ सय ४७ विद्यालयको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) र शिक्षा पत्रकार समूहले मंगलबार संयुक्त रुपमा आयोजना गरेको भूकम्पपछि विद्यालय पुनर्निर्माणको अवस्था विषयक छलफल कार्यक्रममा १ हजार ६ सय १५ विद्यालय बनिरहेका जानकारी दिइयो ।

    प्रभावित ३ सय ९८ विद्यालय निर्माणका लागि छनोट मात्र भएका छन् । विसं २०७२ बैसाख १२ गतेको भूकम्पले ३२ जिल्लाका ७ हजार ९ सय २३ विद्यालयमा क्षति पुगेको थियो । भूकम्पले २१ हजार १ सय ६९ कक्षाकोठा पूर्ण रुपमा, १२ हजार ५ सय २२ अधिकरुपमा र १५ हजार ९ सय ९० कक्षाकोठा आङ्शिक रुपमा क्षति भएका थिए । क्षति भएकामध्ये ३ सय ७० विद्यालय गाभिएका छन् ।

    कार्यक्रममा एकाइका आयोजना निर्देशक इमनारायण श्रेष्ठले जग्गा नभएका विद्यालयमा पुनर्निर्माणमा समस्या भएको बताए । यस्ता विद्यालय भवन बनाउन स्थानीय सरकारले सार्वजनिक जग्गाको अनुमति दिए पुनर्निर्माण गर्न सकिने उनको भनाइ थियो । ढुङ्गा माटाको भूकम्प प्रतिरोधी विद्यालय भवन पनि बनाउन सकिने गरी नयाँ मापदण्ड आउने तयारी अन्तिम चरणमा पुगेको निर्देशक श्रेष्ठले जानकारी दिए ।

    एकाइका वरिष्ठ डिभीजनल इञ्जिनियर दिलीप श्रेष्ठले ८० प्रतिशत विद्यालय व्यवस्थापन समितिबाटै बनाउनुपर्ने बाध्यता रहेको बताए । विद्यालय भवन पुनर्निर्माणमा राष्ट्रिय भवन संहिता अनिवार्य रुपमा पालना गरिएको उनले सुनाए ।

    विद्यालय भवन पुनर्निर्माण भइरहेका बेला प्राविधिकबाट निरन्तर निरीक्षण गराइएको एकाइले जनाएको छ । विद्यालय भवन ढलानका बेला विशेष ध्यान दिइएको छ । पाकिस्तानमा भूकम्पले ढलान झर्दा धेरै विद्यार्थीको दुःखद् निधन भएकाले त्यसको पाठले ढलान अझ बलियो बनाउन निर्देशन दिइएको श्रेष्ठले जानकारी दिए ।

    प्रतिक्रिया
    थप समाचार