Online Nepal सोमबार, जेष्ठ ७ २०८१

भारत र चीनबीच भएको ५ बुँदे सहमतिले सीमा क्षेत्रको तनाव टऱ्यो

भारत र चीनबीच भएको ५ बुँदे सहमतिले सीमा क्षेत्रको तनाव टऱ्यो


मध्यान्तर
  • शुक्रबार, भाद्र २६ २०७७

  • काठमाडौं । छिमेकी मुलुक भारत र चीनबिच सिमा क्षेत्रलाई लिएर उत्पन्न भएको विवाद अन्त्य गर्न र सम्बन्ध सुधार्न सहमति भएको छ । दुई देशबिच केही महिनायता सिमा विवादलाई लिएर तनावग्रस्त अवस्था उत्पन्न हुन पुगेपछि सम्बन्धमा सुधार ल्याउन सहमत भएका हुन् । सीमा क्षेत्रको लद्दाख क्षेत्रमा पछिल्लो दिन र्दुपक्षीय सेनाबिच हिंसात्मक झडप हुँदै आएको थियो ।

    दुई देशबिचको सहमतिले तत्काल युद्ध हुने हो कि भन्ने आशंका टरेको छ । भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच रुसको मस्कोमा भएको साढे दुई घन्टाभन्दा बढी लामो बैठकले सहमतिको पाँच बुँदा पहिल्याएको भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसले जनाएको छ ।

    सहमतिपछि भारतीय विदेशमन्त्री एस जयशंकरले भारत सीमा विवादलाई लिएर जारी तनावलाई थप बढाउन नचाहेको बताए । तर, उनले भारतको चीनप्रतिको नीतिमा पनि कुनै परिवर्तन भने नआएको स्पष्ट पारेको बिबिसीले जनाएको छ ।

    त्यसैगरी चीनको विदेश मन्त्रालयले छिमेकी देशका नाताले शान्ति कायम गर्नु अनिवार्य रहेको र चीन र भारतका बीच केही मुद्दामा असहमति कायम नै रहेको भए पनि ती असहमतिहरूलाई उपयुक्त समयमा समीक्षा हुँदै जाने जनाएको छ ।

    त्यसैगरी दुवै देशका सेनाहरूको छलफललाई निरन्तर जारी राख्ने, दुवै देशका सेनाहरूलाई उचित दूरी बनाइराखी तनाव कम गर्ने, सीमा क्षेत्रमा शान्ति बनाइराख्न यसअघि भएका प्रोटोकललको पालना गर्ने तथा कुनै पनि सैन्य कारबाही नगर्ने, यदि असमझदारी बढ्न पुगेमा सीमा क्षेत्रमा शान्ति बनाइराख्न एक–आपसमा भरोसा बढाउने रहेका छन् ।

    यसअघि गत २० जुनमा दुवै देशका सैनिकबीच लद्दाख क्षेत्रमा झडप हुँदा २० भारतीय सैनिकको मृत्यु भएको थियो भने चीनतर्फ के–कति क्षति भएकोबारे अहिलेसम्म चीनले कुनै जानकारी दिएको छैन ।

    भारत र चीन विश्वमा धेरै जनसंख्या भएका देश मात्र नभई विश्वमा धेरै चलायमान सेना भएका राष्ट्रका रूपमा पनि रहेका छन् । यसैवैला दुवै देशले सहमति पहिल्याएपछि एसिया क्षेत्रमा गर्माएको अशान्तिको माहोल तत्कालका लागि रोकिन पुगेको छ । दुवै देशबीच भएको सहमतिअनुसार एकअर्कामा रहेको असहमतिहरूलाई लिएर सीमामा तनाव हुन नदिने उल्लेख छ ।

     

    प्रतिक्रिया
    थप समाचार