Online Nepal सोमबार, जेष्ठ ७ २०८१

शृंखलाबद्ध बम विस्फोटपछि श्रीलंकामा संकटकाल घोषणा

शृंखलाबद्ध बम विस्फोटपछि श्रीलंकामा संकटकाल घोषणा


मध्यान्तर
  • मंगलबार, बैशाख १० २०७६

  • कोलम्बो । श्रीलंकामा सोमबार मध्यरातदेखि देशभर संकटकाल लगाइएको छ । आइतबार भएको शृंखलाबद्ध बम विस्फोटपछि सरकारले संकटकारल लगाउने घोषणा गरेको हो । यसअघि आइतबार विभिन्न ८ स्थानमा भएका विस्फोटका घटनामा २ सय ९० जनाको मृत्यु र ५ सय भन्दा बढी घाइते भएपछि श्रीलंकाली सरकारले देशभर १२ घण्टे निषेधाज्ञा जारी गरेको थियो ।

    गलत सूचना प्रवाह हुनबाट रोक्ने भन्दै फेसबुक, ह्वाट्सएप लगायतका समाजिक सञ्जाल समेत सरकारले बन्द गरेको छ । विभिन्न गिर्जाघर र होटलमा गराइएको विस्फोटमा ज्यान गुमाउनेको सम्झनामा आज राष्ट्रिय शोकको समेत घोषणा गरिएको छ । आक्रमणको अनुसन्धानका लागि ३ सदस्यीय समिति बनाइएको छ । उक्त समितिलाई राष्ट्रपतिसमक्ष जाँचबुझ रिपोर्ट बुझाउन २ साताको समय दिइएको छ ।

    श्रीलंकाले आइतबार भएका शृङ्खलाबद्ध विस्फोट अन्तर्राष्ट्रिय सञ्जालको सहयोगमा भएको दाबी गरेको छ । सरकारका प्रवक्ता रजित सेनारत्नेले विदेशीको सहयोग बिना हमला नभएको दाबी गरेका हुन् । ‘हामीलाई लाग्दैन कि यो देशमा सीमित एउटा समूहका मानिसहरूले मात्रै हमला गराएका हुन्,’ उनको भनाइ छ, ‘एउटा अन्तर्राष्ट्रिय समूह छ जसको सहयोग विना ती हमलाहरू गराउन सम्भव थिएन ।’

    यसअघि श्रीलंकाली सरकारले स्थानीय मुस्लिम समूह नेसनल तौहिद जमात (एनटीजे)को हात रहेको बताएको थियो । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले हमलाकारीहरूको अन्तर्राष्ट्रिय सम्बन्धबारे पत्ता लगाउने कार्यमा सघाउन विदेशी सहयोगका लागि अपील गर्ने बताइएको छ ।

    प्रतिक्रिया
    थप समाचार