Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

शिक्षा क्षेत्र जागीर खाएर बस्ने ठाउँ होइन,पढाउन सक्दिन भन्ने लाग्छ भने ठाउँ छाड्नुहोस्– गिरिराजमणि पोखरेल

शिक्षा क्षेत्र जागीर खाएर बस्ने ठाउँ होइन,पढाउन सक्दिन भन्ने लाग्छ भने ठाउँ छाड्नुहोस्– गिरिराजमणि पोखरेल


मध्यान्तर
  • सोमबार, असार ९ २०७६

  • काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पढाउन नसक्ने शिक्षकलाई शिक्षण पेशा छाडेर ठाउँ खाली गरिदिन आग्रह गरेका छन् । चाँगुनारायण नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रम सार्वजनिक कार्यक्रममा आज मन्त्री पोखरेलले प्रभावकारी शिक्षण सिकाइ गर्न नसक्ने शिक्षकले ठाउँ ओगटेर बस्न नहुने बताए ।

    मन्त्री पोखरेलले भने, ‘शिक्षा क्षेत्र जागीर खाएर बस्ने ठाउँ होइन, यो सक्षम नयाँ पुस्ता बनाउने र भोलिको देश बनाउने ठाउँ हो, अबको सार्वजनिक शिक्षा प्रभावकारी हुनुपर्छ, कक्षाकोठामा प्रभावकारी शिक्षण सिकाइ गर्नुस्, पढाउन सक्दिन भन्ने लाग्छ भने ठाउँ खाली गरिदिनुस, नयाँ पुस्ता आउँछन ।’ मन्त्री पोखरेलले देशभर अहिले पनि करीब सात लाख शिक्षण अध्यापन अनुमतिपत्र लिएर बसेका शैक्षिक बेरोजगार भएको बताउँदै उनले शिक्षकले अधिकार मात्रै खोज्ने नभई कक्षाकोठाको सिकाइ उपलब्धि वृद्धि गर्नुपर्ने बताए ।

    नेपालको शिक्षा प्रणाली अझैपनि घोकन्ते विद्यामै सीमिति रहेको गुनासो गर्दै मन्त्री पोखरेलले भने, ‘एउटा विद्यार्थीलाई कक्षा कोठामा वर्षभरि घोकाउने र तीन घण्टाको परीक्षामा सीमित गरेर मूल्याङ्कन गर्ने शिक्षा प्रणाली नै गलत छ ।’ स्थानीय तहलाई खल्तीबाट शिक्षक भर्ना नगर्न आग्रह गर्दै उनले भने, ‘शिक्षक भर्ना गर्दा शिक्षक सेवाबाट उत्तीर्ण भएकालाई गर्नुस्, आफन्त, नातागोता खल्तीबाट झिकेर शिक्षक भर्ना नगर्नुस् ।’ देशभरका सार्वजनिक विद्यालयमा प्राविधिक शिक्षा पुर्‍याएर ८० प्रतिशत विद्यार्थीको हातमा सीप पुर्‍याउने, ३५ हजार विद्यालयमा बिरुवा रोपेर हरित विद्यालयको अभियान सञ्चालन गर्ने सरकारको लक्ष्य रहेको उनको भनाइ थियो ।

    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले चाँगुनारायण इञ्जिनियरिङ कलेज सरकारले लिन नसके चाँगुनारायण नगरपालिकालाई जिम्मा दिन मन्त्रीसँग माग गरे । उनले शिक्षा मन्त्रीले खुट्टा कमाउँदा यहाँका विद्यार्थी र यहाँका सम्पत्ति अलपत्र परेको भनाइ राख्दै चाँगुनारायणको सम्पत्ति नगरपालिकालाई सुम्पन आग्रह गरे ।

    प्रतिक्रिया
    थप समाचार