Online Nepal आइतबार, बैशाख ३० २०८१

सेयरमा जान्नै पर्ने बुक बिल्डिङ प्रणाली, यसरी हुन्छ निष्काशन

सेयरमा जान्नै पर्ने बुक बिल्डिङ प्रणाली, यसरी हुन्छ निष्काशन


गणेश खड्का
  • शनिबार, भाद्र ६ २०७७

  • काठमाडौं । धितोपत्र बोर्डले बुक बिल्डिङमार्फत प्राथमिक सेयर निष्काशन गर्ने नियमवली र निर्देशिका जारी गरेसँगै आम लगानीकर्ताहरु (विषेश गरी साना लगानीकर्ताहरु) अन्यौलमा परेका छन् । पहिलो बुक बिल्डिङ भनेको प्रतिश्पर्धात्मक माध्यमबाट सेयरको मूल्य निर्धारण गरी कम्पनीले आफ्नो सेयर जारी गर्ने प्रक्रिया हो । अहिलेको कानुनी व्यवस्था अनुसार कुनै कम्पनीले बुक बिल्डििङ मार्फत सेयर जारी गर्न इच्छुक भए धितोपत्र बोर्डबाट स्विकृत प्राप्त संस्थागत लगानीकर्ताबाट उनिहरुले तिर्न चाहेको मूल्य र किन्न चाहेको सेयर संख्याको आशयपत्र माग गर्दछ ।

    यसरी आशयपत्र माग गर्दा कम्तिमा १० वटा संस्थागत लगानीकर्ताबाट तिर्न चाहेको मूल्य लिनुपर्ने कानुनी व्यवस्था छ । जस्तो मानौं कुनै कम्पनीको सेयरलाई १५ वटा संस्थागत लगानीकर्ताबाट तिर्न चाहेको मूल्य र सेयर संख्याको सूचि गोप्य रुपमा प्राप्त भयो । त्यहि संस्थागत लगानीकर्ताबाट प्राप्त मूल्यबाट कम्पनीले एउटा आधार मूल्य (वेस प्राइस) निर्धारण गर्दछ । आधार मूल्य निर्धारण गरिसकेपछि त्यसको २० प्रतिशत कम र २० प्रतिशत बढी गरी अन्तिम बिक्रि मूल्यको सिमा निर्धारण गरिन्छ । जस्तै आधार मूल्य २०० रुपैंयाँ भए त्यसको २० प्रतिशत माथी गर्दा २४० रुपैंयाँ हुन जान्छ भने २० प्रतिशत कम गर्दा १६० रुपैंयाँ हुन जान्छ र यसैको आधारमा सेयरको बिक्रि मूल्यको सिमा न्युनतम १६० रुपैंयाँदेखि अधिकतम २४० रुपैंयाँ सम्म निर्धारण हुन्छ ।

    यहि सिमा भित्र कम्पनीको मूल्य बढाबढ गर्न लगाई निष्काशन गर्न लागेको कुल सेयरको ४० प्रतिशत सेयरको संस्थागत लगानीकर्तालाई बिक्रि गर्दछ । संस्थागत लगानीकर्ताहरुले १६० देखि २४० रुपैंयाँ प्रति सेयर सम्मको मूल्यमा बढाबढ गर्नुपर्दछ । कम्पनीले मूल्यको बढाबढ गोप्य शिलबन्दी वा नेप्सेको कारोबार प्रणाली अन्तर्गत कुनै एक माध्यमबाट गर्न सक्दछ । बिक्रि बन्द भएपछि सबैभन्दा बढी तिर्नेको माग अनुसार सेयर बाँडफाँड हुन्छ । जुन मूल्यमा सेयर बिक्रि हुन्छ, त्यसलाई कटअफ मूल्य भनिन्छ ।

    तसर्थ कटअफ मूल्य भन्दा कम मूल्यमा सेयर किन्न चाहनेहरुले सेयर प्राप्त गर्न सक्दैनन् । बुक बिल्डिङ प्रक्रियाबाट सेयर किनेको संस्थागत लगानीकर्ताहरुले ६ महिनासम्म बिक्रि वा हस्तान्तरण गर्न सक्दैनन् । संस्थागत लगानीकर्ताहरुलाई सेयर बाँडफाँडपछि कटअफ मूल्यमा १० प्रतिशत छुट गरी आम सर्वसाधारणलाई बाँकी ६० प्रतिशत सेयर जारी गरिन्छ । जस्तै कटअफ मूल्य २०० रुपैंयाँ छ, त्यसको १० प्रतिशत कम भनेको १८० रुपैंयाँ प्रति सेयरमा सर्वसाधारणलाई जारी गरिन्छ । यसरी जारी गरेको सेयरमा सर्वसाधारणले आवेदन दिंदा कम्तीमा ५० कित्ता हुनुपर्दछ भने आवेदन, जसरी अहिले मेरो सेयर वा सि–आस्वाबाट दिइन्छ, त्यसरी नै दिन सकिन्छ । अर्को कुरा सबैलाई ५० कित्ता पुग्नेभए ५० कित्ता नै दिइन्छ यदी पुग्दैन भने गोला प्रथाबाट ५० कित्ताका दरले बाँडफाँड गरिन्छ ।

    यस्तै सबै कम्पनीहरुले बुक बिल्डिङमार्फत सेयर जारी गर्न पाउँदैनन्, यसका केहि शर्त र मान्यताहरु छन् । धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ अनुसार कम्पनीले चारवटा शर्त पुरा गरेको हुनुपर्दछ । बुकबिल्डिङ मार्फत सेयर जारी गर्न पहिलो– कम्पनीले विगत ३ बर्षदेखी खुद नाफा कमाएको हुनुपर्ने, दोस्रो– साधारण सभाले बुक बिल्डिङ प्रक्रियामार्फत धितोपत्र जारी गर्ने निर्णय गरेको हुनुपर्ने, तेस्रो– प्रति सेयर नेटवर्थ प्रति सेयर चुक्ता पूँजीको १५० प्रतिशत रहेको हुनुपर्ने र चौथो– कम्तीमा औसत वा त्यो भन्दा बढी क्रेडिट रेटिङ ग्रेड प्राप्त गरेको हुनुपर्दछ ।

    उल्लेखित शर्त पुरा नगर्ने कम्पनीले अंकित मूल्य( रु.१००) मा नै सेयर जारी गर्छन । साथै लगानीकर्ताले न्युनतम १० कित्ताको लागि आवेदन दिन सक्नेछन् र बाँडफाँड पनि न्युनतम १० कित्ता नै हुनेछ ।

    प्रतिक्रिया
    थप समाचार