Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

२०१७ सालको परिवर्तनमा राजा महेन्द्र र बीपी कोइराला बीचका द्वन्दका कारण

२०१७ सालको परिवर्तनमा राजा महेन्द्र र बीपी कोइराला बीचका द्वन्दका कारण


दीर्घराज प्रसाई
  • बुधबार, भाद्र २४ २०७७

  • –दीर्घराज प्रसाई

    नेपालको राजनीतिक इतिहासमा कसरी २०१७ साल पौष १ गतेको घटना घट्यो भन्ने कुरा सबै नेपालीहरुले बुझन सक्नु पर्छ । बीपी प्रधानमन्त्री भएपछि इजरायलको भ्रमणको बेला उनलाई नेपालमा तपाईको लागि कुन शक्ति बाधक छ भनेर सोधिएकोमा उत्तरमा ‘राजसंस्था’ भनिएको कुरा ब्यायक प्रचारमा आएको थियो । उक्त कुरा भित्रभित्रै वैमनश्यताको कारक बन्न सकेको हुन सक्छ । तर राजा महेन्द्र र बीपीको बीचमा त्यस्ता मतभेदका कुरै थिएनन् । बीपी प्रधानमन्त्री भएपछि राजा महेन्द्र र बीपी सँगसँगै पैदलबाटोबाट दाङ देउखुरी पुगेका थिए । त्यहाँ एउटै मञ्चबाट भाषण भएको थियो । त्यसपछि राजा महेन्द्र नेपालगञ्ज र बीपी काठमाडौं फर्के । नेपालगञ्जमा राजा महेन्द्रले गरेको भाषणलाई विवादमा उतारियो, गोर्खापत्रमा छापिएन । पछि राजा फर्केपछि नेपालगञ्जको भाषण छापियो । यस्तै सानातिना कुराले राजा र बीपी बीचमा कुरौटेहरुले भाँजौ हाल्ने काम हुन थालेका थिए । प्रतिपक्षहरु कांग्रेसको सत्ताको बिरुद्ध खनिन लागेका थिए । त्यसपछि गोर्खा काण्डले विकराल रुप लियो । २०१७ साल साउन महिनामा कर्मवीर महामण्डलका अध्यक्ष योगी नरहरिनाथ असोजतिर गोर्खा पुगेका थिए । २०१७ साल कार्तिक ९ गते दिउँसो ३ हजार जति मानिसहरुको जुलुस कर्मवीर महामण्डलको झण्डा लिई “नेपाली कांगे्रस धोका हो, पक्षपाती सरकार मान्दैनौं” भन्ने कांगे्रस विरोधी कडा नारा लगाउँदै अड्डा अगाडि जुलुस आउँदा प्रहरीहरुसंग भिडन्त भई ढुङ्गामुडा लाठी चार्जपछि गोलीकाण्ड भयो जसमा ७ जना ठहरै मरेको र १० जना गोलीबाट घाइते र ७/१० जनाको हातखुट्टा भाँचिएकाले आतङ्कको सिर्जना भयो । यी सबैकुरा योगी नरहरिनाथको उग्र भाषणको कारणले भएको भनियो ।

    नरहरिनाथलाई पक्राउ गर्ने आदेश पनि भयो । कांग्रेसी कार्यकर्ताले कांगे्रस मास्न राजदरबारले योगीलाई लिखत दिएर पठाएको छ भन्ने झुठा रिपोर्ट वि.पी.का कानमा पारेछन् । बी.पी. पनि योगी नरहरिनाथको कुरालाई विश्वास गरेर दरबारको बिरुद्ध बोल्न थालेका थिए । बेलायतबाट राजा महेन्द्र फर्केर आएपछि प्रधानमन्त्रीलाई बोलाएर बेलायतबाट ल्याएका उपहार श्रीमती प्रधानमन्त्री सुसिलालाई छालाको ब्याग, विपीलाई टेपरिकर्डर, घडि, ब्रास्लेट दिदै राजा महेन्द्रले बीपीले योगी नरहरिसँग जोडेर राजालाई दोषारोपण गरेका सबै कुरा झूठा भएको कुरा छलफल भयो । यी कुरा बीपीले आफ्नो आत्मवृतान्तमा उल्लेख गरेका पनि छन् । तर गोर्खाकाण्ड र योगी नरहरिनाथ बारेको वास्तविकता त्यस्तो थिएन । राजदरबाटबाट ‘कर्मवीर महामण्डलले गरेको अनुरोध अनुसार रु.५०० चन्दा श्री ५ महाराजाधिराज सरकारबाट बक्सेकोछ’ भन्ने कुरा राजा महेन्द्रका सैनिक सचिव शेरबहादुर मल्लले लेख्नु भएको कागज योगीजीले बोक्नु भएको र त्यही कागजलाई अरुहरुले पनि देखेको हुँदा त्यसैलाई राजदरबारबाटै कांगे्रसको विरोधमा जनतालाई बिद्रोह गराउन योगीलाई पत्र दिई पठाइएको थियो भन्ने भ्रम खडा गराएर राजा महेन्द्र र बीपी बीच फाटोको जालो बन्न पुग्यो । राजा महेन्द्र र प्रधानमन्त्री कोइराला वीचको संवन्ध विच्छेत्को अध्याय नै यहींबाट हुन्छ । तथापि राजा र बीपी बीचको असामाञ्जस्य र अन्य कारण भन्दा वाह्य कारण २०१७ साल पौष १ गतेको काण्ड कसरी भयो भन्ने यथार्थता देखिन्छ ।

    भारतीय प्रधानमन्त्री नेहरुको समयमा २००७ साल साउनमा सन् १९५० को नेपाल–भारतबीचको असमान संधि र त्यसपछि दिल्ली दिल्ली संझौता भएकाबेलादेखि भारतले नेपालको सार्वभौमसत्ता माथि गिद्देदृष्टि लगाउँदै आएको हो । रहँदाबस्दा भारतले सहयोग गरेको जस्तो गर्छ तर त्यही सहयोग नेपाललाई सताउने कारक बन्दै आएको छ । नेपालमा प्रजातन्त्र स्थापनाको लागि सहयोग ग¥यो तर राजा त्रिभूवन २००७ साल कार्तिकमा दिल्ली पुगेपछि दिल्ली संझौता गराएर नेपाललाई आफ्नो प्रभावमा राख्ने थियो । दिल्ली संझौताका राष्ट्रघाती बुँदाहरुमध्ये श्री ५ त्रिभूवनको सुरक्षा र सहयोगको लागि राजदरबार गेटमा नेपाली सेना, भित्र पञ्जाबी सेना र श्री ५ को प्रमुख सचिवको रुपमा राजदरबारमा गोविन्दनारायण सिंह, मन्त्रीपरिषदको मुख्य सचिवमा भारतकै मुर्देश्वर, नेपालको कानूनी सल्लाहकारमा भारतकै आएंगार, नेपालको आर्मी हेडक्वाटरमा भारतकै जर्नेल शारदानन्दन सिंहलाई राखिएको थियो । यसरी भारतले नेपालको सुरक्षार्थ हरक्षेत्रमा कब्जा जमाएपछि भारतले नेपाल माथि कति दुष्ट दृष्टिकोण रहेछ भन्ने स्पष्ट हुन्छ । त्यस्तै त्रिभूवन राजपथ भारतीय सेनाबाट निर्मित भएकाले भारतीय सेनाको बढ्दो दवदवा थियो । उत्तरी सीमानामा भारतीय सेनाको चेकपोष्ट खडा गरिनुले नेपालको अस्तित्व नैं संकटमा थियो ।

    भारतको यस्तो हस्तक्षेप भएपछि हरक्षेत्रबाट प्रश्न उठ्न थाल्यो– ‘नेपालको सार्वभौसत्ता नेपाल र भारतमा कहाँ निहीत छ ? त्यस्तो अवस्थामा राजा त्रिभूवनबाट २०१० साल माघ ७ गते बिमारी अवस्थामा– ‘नेपालको व्यवस्थापिका, कार्यपालीका, न्यायपालीका अवदेखि श्री ५ मा नीहित रहेछ’ भन्दै लामो घोषणा गरेर नेपालको सार्वभौमसत्ता बचाएका थिए । राजा त्रिभूवनको घोषणाको पूर्ण अंश गृष्मबहादुर देवकोटाबाट संकलीत ‘नेपालको राजनीतिक दर्पण’ भाग १ को पहिलो भागमा उल्लेख छ । उक्त घोषणपछि दिल्ली संझौताको आडमा नेपाललाई भारतीयकरण गर्न भारतीयहरु लाखापाखा लागे । नेपाली कांग्रेस सत्तामा आएपछि बीपी कोइरालासँगको मित्रताको फाइदा उठाएर भारतले नेपालको जलस्रोत कोशी, गण्डक, दाङ देउखुरी जलकुण्ड योजना लगायत कोशी उच्च बाँध निर्माण गरेर नेपाल कब्जा गर्ने हिसाबमा थियो ।

    २०१७ साल अगाडि नेपाललाई भारतले एकलौटी रुपमा कब्जा गर्ने रणनीति बनाएको थियो । नेपालको सुरक्षार्थ भन्दै चेकपोष्टको नाममा उत्तरी सीमानामा भारतीय फौैज राखिएको थियो । ९० प्रतिशत भारतीय मुद्राको नेपालमा चलनचल्ती थियो । नेपालको जमीन खरिद गर्न र बिक्री गर्न भारतीयहरु स्वतन्त्र थिए । नेपालको एक जिल्लाबाट अर्को जिल्लामा जान भारतकै बाटो हिडनु पर्ने वाध्यता थियो, नेपालभित्र हिन्दी भाषाले ठूलो प्रभाव जमाएको थियो । एउटा स्वतन्त्र सावैभौम राष्ट्रका आफ्नै फौज हून्छन्, आफ्नै मुद्रा हुन्छ, आफ्नै भाषा हुन्छ । आफ्नो देशको भूभाग खरिद–बिक्री गर्ने अधिकार आफ्नै देशका नागरिकमा मात्र रहन्छ । तर २०१७ साल अगाडि नेपालको अवस्था त्यस्तो थिएन । त्यसैले देशको सार्वभौम सुरक्षाको लागि २०१७ सालको परिवर्तन आवश्यक हुन गएको बुझिन्छ । राजा महेन्द्रले संविधानको धारा ५५ प्रयोग गरेर संसद विघटन गरे । निर्वाचित संसदलाई विघटन गर्नु झट्ट हेर्दा नराम्रो मानिएता पनि राष्ट्रियको सवालमा पछिका दिनमा त्यो कदम समयानुकुल थियो कि भन्ने पनि बुझ्न थालियो । वास्तवमा पौष १ गते कांग्रेसको सत्ताको बिरुद्ध मात्र केन्द्रीत भएको देखिदैन ।

    २०१७ सालको परिवर्तन पछि राजा महेन्द्रको नेतृत्वमा कुनै पनि विदेशीलाई नेपालको जमीन खरिद बिक्रीमा रोक लगाइयो । नेपाली भाषालाई राष्ट्र भाषाको रुपमा लागु गरियो । नेपाली मुद्रालाई नेपाल अधिराज्य भरी अनिवार्य गराइयो । भारतीय फौज वीना सर्त नेपालबाट हटाइयो । नेपालको पेटमा पहाड मधेश दुबैलाई सुबिधा हुने गरी पूर्व पश्चिम राजमार्गको लागि २०१८ सालमा गैडाकोटमा राजा महेन्द्रबाट शिलान्यास भयो । राजा महेन्द्रले विश्वका ठूला राष्ट्रहरुको दवाबबाट मुक्त हुन असंलग्न परराष्ट्र नीतिको सिद्धान्त अवलम्वन गरेर संयुक्त राष्ट्र संघमा नेपालको अगुवाई गराउन सकेको थियो । आधुनिक चीनका शक्तिशाली नेता माउत्सेतुङ र भारतका शक्तिशाली प्रधानमन्त्री जवाहारलाल नेहरु यी दुबैसँग राजा महेन्द्रबाट सन्तुलित मित्रता कायम गर्न सकेको थियो । राजा महेन्द्रले नेपालमा विकासका पूर्वाधार, शिक्षा, स्वास्थ्य, यातायात, उद्योग धन्दा निर्माण गराउदै आर्थिक, सामाजिक व्यवस्थामा आमूल परिवर्तन ल्याएर विश्वभरी नेपालको प्रतिष्ठा जगाउने कार्य गर्न सकेका थिए । राजा महेन्द्रको राष्ट्रवादी सोचाईसँग बीपी कोइराला परिचित हुँदाहूँदै कसको षडयन्त्रले हो यी दुई व्यक्तित्व बीचमा घमासान असामाञ्जस्य खडा हुनु नैं अहिलेसम्मको नेपाल संकटको कारण हो । नेपालको प्रजातान्त्रिक अधिकारको लडाईंमा वि.पी. कोइरालाको ठूलो देन छ । राजा महेन्द्रको चर्चा गर्दा नेपाली कांग्रेसका नेता बीपी कोइरालाको प्रजातान्त्रिक दृढता र महानताको बिरोध गर्न खोजेको ठान्नु हुँदैन ।

    राजा महेन्द्र र बीपी कोइरालाको बीचमा कस्तो सौहार्दता थियो भन्ने कुरा बुझ्न राजा महेन्द्रको देहवसान २०२८ साल माघ २८ गते भएको अवस्थामा नेपाली कांग्रेसका नेता पूर्वमन्त्री दीनबन्धु अर्याल बीपी कोइरालासँगै बनारसमा हुनुहुन्थ्यो । राजा महेन्द्रको देहवासन भएको कुरा सुनेपछि बीपी कोइराला अत्यन्त चिन्तित हुनु भएको कुरा लेख्नु भएकोछ । उहाँ लेख्नु हुन्छ– ‘श्री ५ महेन्द्र स्वर्गीय भएको खबरले बीपीलाई रातभरी निन्द्रा परेन । राजा महेन्द्र महान राष्ट्रवादी राजा थिए भनेर बीपीले सजल नेत्रले भन्दा आफूप्रतिको अन्याय बिर्सेको हुनुपर्छ । बीपीले राजसंस्था र राजा व्यक्तिको भेद पनि राम्ररी बुझ्नु भएको थियो । राज्य एकीकरणमा पृथ्वीनारायणका भाइहरुले राज्य बाँडेर केही भाग हामीलाई पनि देउः भन्दा राज्य टुक्रयाउने चीज होइन भनेर दिएको उत्तरलाई बीपीले सुनाउनु हुन्थ्यो ।’ राष्ट्रनिर्माणमा प्रजातान्त्रिक मार्ग अनुकरणमा नेपाली कांग्रेसका नेता बीपी कोइराला २०३३ साल पौषमा सिक्किमलाई भारतले कब्जा गरेपछि राष्ट्रियताको नारा दिएर भारतको निर्वासनपछि राजासँग मेलमिलापको नारा लिएर नेपाल फर्केका थिए । राजा महेन्द्र र बीपीका विचारलाई बिर्सेर यो देशले निकास पाउँदैन । अव इतिहासका त्रुटिहरु सच्याउँदै हामी सबैले विदेशी हस्तक्षेपबाट देशलाई जोगाउन, राजा महेन्द्रको राष्ट्रवाद र बीपी कोइरालाको प्रजातान्त्रिक संसदवादलाई परिस्कृत गरेर समन्वय र सन्तुलनसाथ अगाडि बढ्ने सोचाई राख्न सक्नुपर्छ ।

                           Email:[email protected]

    प्रतिक्रिया
    थप समाचार