Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१
समाचार टिप्पणी

देशमा कोरोनाको कहर, सरकारलाई मन्त्री बनाउने रहर

देशमा कोरोनाको कहर, सरकारलाई मन्त्री बनाउने रहर


गणेश खड्का
  • शुक्रबार, असोज २३ २०७७

  • ६ महिनाको लकडाउनपछि देशमा मानिसहरुको केहि चहलपहल सुरु भएको छ । एक जनामा कोरोना संक्रमित हुँदा गरेको लकडाउन ९० हजार पुगेपछि खुलाएको छ । लकडाउनको अबस्थामा संक्रमित घट्नुपर्नेमा झन्झन् बढेको बढ्यै छ । यस्तै मृत्यु हुनेको संख्या पनि बढीरहेकै छ । ६–६ महिना जनतालाई घरभित्रै थुन्दा सरकारले कोरोना नियन्त्रण सम्बन्धि न कुनै योजना ल्याउन सक्यो न जनतालाई राहत प्याकेज नै व्यवस्था गर्न सक्यो । खाली कोरोना नियन्त्रणका नाममा भ्रष्टाचार, अनियमितता जस्ता कामहरु सरकारले गर्न भ्यायो । अहिले हजारौं बेरोजगार भएका छन् । हजारौंको व्यवसाय टाट पल्टेको छ । सरकारलाई यसको कुनै मतलव छैन । आखिर किन र केका लागि गरियो त लकडाउन ? अहिले लकडाउनको समयमा पनि दैनिक २ हजार २५ सयको हाराहारीमा संक्रमित थपिएका छन् । अझ एकदिन अगाडी संक्रमितको संख्या ४ हजार नाघेको छ । दिनदिनै दर्जन मानिस मरिरहेका छन् । अब यसको क्षतिपूर्ति सरकारले दिनु पर्दैन ? अहिले बढीरहेका संक्रमितलाई घरैमा बस भन्छ । घरमा बस्दा उसका परिवार, आफन्त र घरमा अरुलाई सर्दैन ? यो सरकारले कोरोना संक्रमणतलाई नियन्त्रण गर्न लागेको हो की बढाउन लागेको हो ?

    देशमा यत्रो विषम परिस्थिति छ । तर सरकार भने आफ्नालाई कसरी नियुक्ति सिफरिस गर्ने ध्याउन्नमा छ । अहिलेसम्म कोरोना भाइरसलाई नियन्त्रण गर्ने विषयमा छलफल र क्याविनेट बसेको छैन । तर नेकपाको भागबण्डा नियुक्ति, मन्त्रीहरुको हेरफेरसम्बन्धि सयौं मिटिङ बसे, यो कस्तो सरकार ? जनता भोकभोकै छन्, आफ्ना बालबच्चाको स्कुल कलेज बन्द छ, उनिहरुले रोजगारी गुमाइराखेका छन्, यसमा सरकारलाई कुनै मतलब छैन । हामी कस्तो शासन प्रणाली अभ्यास गरिरहेका छौं ? शासन पद्धती बेठिक हो की शासक बेठिक हो अब छुट्याउने समय आएको छ । लकडाउन सुरु हुँदा नेकपा र सरकारबिच द्वन्द बढेको अझै सकिएको छैन । उनिहरुको लडाईंमा जनता मारमा परिरहेका छन् । बिहानबेलुका जहिल्यै मिटिङ–मिटिङ तर निष्कर्ष सून्य । यता जनता भने कोरोननाको त्रासमा बसिरहने ।

    कोरोनाले गर्दा देशको अर्थतन्त्र तहसनहस भएको छ । तर सरकारमा बस्नेहरु पद र गुटमा रमाइरहेका छन् । यहि हो त दुई तिहाइ कम्युनिष्ट सरकारको विकास र समृद्धिको मोडल ? खाली भाषण र आश्वासनले सत्ता कति दिन टिकाइ राख्ने ? यो देश कुनै एक पार्टी र व्यक्तिको होइन । देशमा करोडौं मानिसमा परेको समस्यासँग जुध्न र समाधान गर्न नसक्ने सरकार किन चाहियो ? सरकारको काम खाली मन्त्री कसलाई बनाउने, नबनाउने, नियुक्ति कसलाई गर्ने नगर्ने भन्ने मात्र हो ? जनताको समस्या सुन्नु पर्दैन ? अब दैनिक हजारौंको संख्यामा कोरोना संक्रमित बढीरहेका छन् । यीनिहरुलाई उपचार गर्ने अस्पताल खोई ? आइसोलेशनको खोई ? सरकारको कार्यक्रम खाली बालुवाटार र सिंहदरबार डुलेर कोरोना नियन्त्रण हुन्छ ? अब जनताले यो सरकार र नेकपाको गम्भिर समिक्षा गर्ने दिन आएको छ ।

    प्रतिक्रिया
    थप समाचार