Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

नारायण नदीको किनारमा र भक्तपुर हनुमानघाटमा आश्रम कायम गरेका महर्षि बाल्मिकिको जन्मजयन्ती

नारायण नदीको किनारमा र भक्तपुर हनुमानघाटमा आश्रम कायम गरेका महर्षि बाल्मिकिको जन्मजयन्ती


दीर्घराज प्रसाई
  • बिहिबार, कार्तिक २० २०७७

  • –दीर्घराज प्रसाई

    बाल्मिकि ऋषिको जन्मजयन्ती यो साल २०७७ साल कार्तिक १५ गते कोजाग्रत पूर्णियमाका दिन परेको छ । हिमवत्खण्ड नेपालको चितौन तथा भक्तपुरको हनुमानघाटमा संस्कृत भाषाका आदि कवि बाल्मिकिले आफ्नो कर्मथलो बनाएका थिए । बाल्मिकि संस्कृत भाषाका आदिकवि हुन् । बाल्मिकि रामायण अनुवाद गरेर भानुभक्त नेपाली भाषाका आदिकवि बन्न पुगे । बाल्मिकिले नेपालको चितवन जिल्लाको दक्षिणतर्फ नारायण नदीको किनारमा आश्रम कायम गरेका थिए । त्यही ठाउँमा रामले सीतालाई त्यागेपछि सीताले आश्रय लिएकी थिइन् । त्यही ठाउँमा लवकुशको जन्म भएको थियो । ‘मा निसाद! प्रतिष्ठां त्गमयः शास्वस्ती समा, यादकौंचा मिथुनादेकः ममधि काममोहितम् ।’ यो संस्कृत साहित्यको पहिलो कविता हो ।

    बाल्मिकि आश्रमको किनारमा सोना र तमोसा नदीमा नुहाउन जादा एक ब्याधाले चलिरहेका एक जोडी बाजलाई काँडले हानेर घायल बनाएपछि त्यो विह्वल दृष्यबाट बिष्फोटित बनेर करुणरसमय श्लोक बाल्मिकिमा प्रस्फुटित हुन गयो र त्यही श्लोक प्रस्फुटित भएपछि बाल्मिकिले रामायण लेखे । बाल्मिकि ऋषि बने । बाल्मिकिले रामायणका केही भाग भक्तपुरको हनुमानघाटमा बसेर लेखेका थिए भन्ने प्रमाणहरु पनि धेरै जुटेका छन् । भक्तपुरको हनुमानघाट सानो छ, राम, सीता, लक्ष्मणको अखण्ड दीप प्रज्यलीत हनुमानघाट एउटा पवित्र धाम नै हो । यसको चियोचर्चा नभएकाले हनुमानघाट जस्तो पौराणिक स्थल अपरिचित हुन पुगेको हो । त्निबर्ष अगाडि मात्र हनुमानघाट अध्ययन–भ्रमणको मौका मिल्यो । तर २०३७ सालमा बाल्मिकि आश्रमको अध्ययन भ्रमण गर्दा र तीनबर्ष अगाडि महर्षि बाल्मिकिको समाधीस्थल देख्न पाउँदा मलाई अत्यन्त गौरव महसुस भयो । यी दुबै बाल्मिकिका कर्मक्षेत्र हुन् ।

    बाल्मिकिको जन्म कहाँ भएको थियो भन्ने कुरा एकीन गर्न नसकिएता पनि उनको देहवसान नेपालको भक्तपुरको हनुमानघाटमा बाल्मिकिको समाधी देख्न सकिन्छ । यस्तो महत्वपूर्ण कुरा पनि सुसुप्त अवस्थामा रहिरहेको अवस्थामा नेपालका खोजकर्ता चैतन्यप्रसाद देवकोटाबाट ५।६ बर्ष अगाडि पत्ता लगाउन सकेकाले बितेको केहीबर्षदेखि हेरकबर्ष कोजाग्रत पूर्णिमाको दिनमा महर्षि बाल्मिकिको संझनामा इतिहासकार, धार्मिक चिन्तक तथा विद्वानहरुको उपस्थितिमा जन्म जयन्ती मनाउने क्रम बसेको छ । महर्षिको जन्मजयन्तीको कार्यक्रम नेपालमा एक अध्यायको रुपमा प्रस्तुत हुन सकेको छ । तर अझै कतिपय मानिसहरुले भक्तपुर हनुमानघाटमा बाल्मिकिको समाधीस्थल छ भन्ने कुरालाई विश्वास गरेका छैनन् तर जोकोहीले पनि उक्त क्षेत्रमा पुगेर समाधीस्थल देख्न सकिन्छ । त्यही नै आज हामी नेपालीहरुको इतिहासको गौरवमय स्रोत हुन पुगेको छ ।

    हिमवतखण्ड नेपालमा महान ऋषिमुनीहरु, वेद, पुराण, उपनिषदहरु, नीतिशास्त्रहरुका निर्माता र रामायण लेख्ने बाल्मिकि जस्ता महान व्यक्तित्वहरुको जन्मस्थल तथा कर्मस्थल हिमवतखण्ड नेपाल नैं भएकाले यो हामी नेपालीहरुको लागि गौरवको कुरा हो । बाल्मिकि जस्ता अनेकौं ऋषि महर्षिहरुबाट मानव सभ्यताका गौरवमय परम्परा स्थापित हुन सकेकाले हामी नेपालीहरु गौरवान्वित छौं । ऋषिमहर्षिहरुका अथक चिन्तनबाट संसारमा अविछिन्नरुपमा चलिरहने समयलाई सत्य, त्रता, द्वापर र कलियुग गरी चार भागमा विभाति गरेका थिए । यसैको आधारमा मानव सभ्यताको आरोहण प्रत्यारोहण हुनेक्रम जारी छ । मानव सभ्यतामा निरन्तरता दिलाउन सामाजिक सुव्यवस्थाको लागि मानिसको आयुलाई सयबर्ष कायम गरी २५/२५ बर्षको चार अवधिमा विभाजन गरिदिएका थिए । विश्वमा सबै सुखी हऊन्, संसारमा कोही पनि दुःखी र रोगी नहऊन्, सबै उदार हऊन्, विश्वका सम्पूर्ण मानव हाम्रा आफन्त हुन् । उदात्त विचार लिएर विश्ववन्धुत्वको लागि क्रियाशील बनौं भन्ने यो वैदिक सनातन परम्परा हो । हिमतखण्डनेपाल हिन्दु तथा बौद्धको आधिकारिक थलो हो । पूर्वमा ब्रम्हपुत्र पश्चिममा हिन्दुकुश, उत्तरमा कैलाश–मानसरोवर र दक्षिणमा गंगासम्मको भूभागलाई नैं ‘हिमवत्खण्ड’ भनिन्छ भने गंगादेखि हिन्दमहासागरसम्मको भूभागलाई भारतखण्ड भनिन्छ । संसारमा हिन्दु अस्मिता बोकेका राष्ट्रहरुमा ‘हिमवतखण्ड नेपाल’ र ‘भारतखण्ड’ हुन् । यी दुबै राष्ट्रबाट विश्वभर हिन्दु दर्शन, संस्कृति र सभ्यताको विस्तार भएको हो ।

    वैदिक–हिन्दुसभ्यता विस्तार गर्ने क्रममा श्रृषिहरु भन्थे–‘कृण्वन्तो विश्वमार्यम्’ अर्थात विश्वलाई सभ्य बनाऔं । प्राचीन समयदेखि हिमवतखण्ड नेपाल तथा भारतको सभ्यतालाई विश्वले ठूलो महत्व राख्दै आएकोछ । हिमवतखण्ड नेपाल तथा भारत बीचमा यगगौंयुगदेखि गहन तादाम्यता छ । इतिहासविद् योगी नरहरिनाथले उल्लेखगर्नु भएकोछ– ‘कैलास–मानसरोवरदेखि हिन्दमहासागरसम्म जस्को राज्य र घर छ त्यो हिन्दु हो । सभ्यता विकासमा विश्व जगज्जेष्ठ हिमालय हो । मानव जेष्ठ हाम्रो दर्शन जेष्ठ हो । मनु यही जन्मेका, वेद यहीं जन्मेका, उपनिषद् तराइमा बनेका हुन् । विश्व सभ्यता हाम्रो दर्शनको मूल उदेश्य हो ।’ यही हिसावले नेपाल तथा भारत हिन्दुहरुको लागि पवित्र पूण्यभूमि मानिन्छ । भारतमा मुसलमान र अंग्रेजको अधिक्रमणको कारणले भारतमा हिन्दुअस्मिता नष्ट गराउने काम भयो । तर गोरखाका राजा पृथ्वीनारायण शाह र उनीपछि उनका कान्छा छोरा बहादुर शाहकाको सक्रियतामा स–साना टुक्राहरुमा विभाजीत हिमवतखण्डका ५४ स–साना हिन्दु राज्यहरुको एकीकरण गरेर हिन्दु र बौद्धहरुको सार्वभौम अस्तित्व र प्रतिष्ठा जोगाएर हिन्दु अधिराज्य स्थापित गर्ने कायम भएको हो । यसउसले यो भूमि कहिले पनि बिटुलो भएन ।

    गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालको गौरवमय क्षेत्र भएझैं बाल्मिकि आश्रम र हनुमानघाट पनि नेपालको ठूलो सम्पत्तिको स्रोत बन्नसक्छ । पर्यटनको हिसावले पनि हरेक बर्ष हजारौं तीर्थयात्रीहरुको आगमन हुनसक्छ । यो क्षेत्रलाई अन्तराष्ट्रिय धामको रुपमा सरकारले विकास गरेर विश्वब्यापी बनाउनु पर्छ । बाल्मिकि आश्रम र हनुमानघाटलाई अन्तराष्ट्रियकरण गर्न सकियो भने नेपालको ठूलो प्रतिष्ठा कायम हुन्छ । नेपाली भूमिमा रहेर रामायणलाई संस्कृत भाषामा बाल्मिकिबाट प्रतिपादित भएकोमा हामी नेपालीहरु गैरवान्वीत छौं । बाल्मिकिका कृतित्व पर्व अनुसार संस्कृत भाषामा प्रकाशित गराउन संस्कृतका ‘महर्षि बाल्मिकि‘’ नामक पत्रिका वेनी माधव ढकाल,कमल रिजाल लगायत जीवन अधिकारीहरुको सम्पादनमा प्रकासित गराउने काम भएको छ । पहिलो अंक प्रकाशित भइसकेको छ । यसको लागि सम्पादनक मंडल धन्यवाका पात्र बन्नु भएको छ ।

    महर्षि बाल्मिकिबाट लिखित रामायणलाई भानभक्तले नेपाली भाषामा अनुवाद गरेर नेपाली भाषाका आदिकवि भए । यस हिसावले बाल्मिकि र भानुभक्त नेपालका नै आदिकवि हुन् । भानुभक्तलाई विद्याउपार्जन गराउनमा उनका पितामह श्रीकृष्ण आचार्यबाट प्राप्त भएको र ती गन्थहरु भनुभक्तले राम्ररी अध्ययन गर्न सकेकाले बाल्मिकि रामायण अध्ययन गर्नमा उनलाई सजिलो हुन गयो । अध्ययन नगरी कोही पनि स्रष्टा बन्न सक्तैन । उनको मिहेनतको प्रतिफल नेपालले भानुभक्तबाट रामायण पायो ।

    भानुभक्तले नेपाली भाषामा राम गीता, बधु शिक्षा जस्ता कैयौं काव्यहरुको रचना गरेर नेपाली समाजलाई सिर्जनात्मक बाटो देखाएको थिए । भानुभक्तको नामसँगै मोतीराम भट्टको नाम पनि सँगसगै आउछ । भानुभक्तका कीर्तिहरुलाई ब्यापक प्रचार गर्नमा उनको ठूलो देन छ । महर्षी बाल्मिकिको रामायणबाटै भानुभक्त अत्यन्त प्रेरित भएकाले नेपाली समाज रामायणलाई आत्मसाथ गर्न सकेका छन् । जस्तोसुकै परिवर्तनमा पनि संस्कृत भाषाका आदिकवि बाल्मिकि नेपाल लगायत संसारमा प्रसंसनीय छन्, भाषिक जगतमा अजर अमर छन् ।

    प्रतिक्रिया
    थप समाचार