Online Nepal शनिबार, बैशाख २९ २०८१

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज, एक वरिष्ठ उपाध्यक्षका लागि तीनजनाको प्रतिस्पर्धा

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज, एक वरिष्ठ उपाध्यक्षका लागि तीनजनाको प्रतिस्पर्धा


मध्यान्तर
  • बुधबार, चैत्र २९ २०७९

  • काठमाडौं ।  निजी क्षेत्रहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज हुँदै छ । एक वरिष्ठ उपाध्यक्षसहित ५९ पदाधिकारी चुन्न अहिले बिहान ८ देखि अपराह्न ४ बजेसम्म  कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मतदान हुनेछ ।

    महासंघको विधान अनुसार ६३ पदाधिकारीका लागि निर्वाचन हुने भएपनि कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेका छन् । आज हुने निर्वाचनले एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चुन्नेछ ।

    सर्वसम्मत निर्वाचन हुनेमा कार्यसमिति सदस्यतर्फ लुम्बिनी प्रदेशबाट जम्शेर मिया छन् भने द्विराष्ट्रिय उद्योग वाणिज्य संघको तर्फबाट सुनिल केसी, संस्थापक सदस्यको तर्फबाट भीष्मप्रसाद न्यौपाने र सुदूरपश्चिम प्रदेशको तर्फबाट जंगबहादुर मल्ल रहेका छन् ।

    एक वरिष्ठ उपाध्यक्षका लागि व्यवसायी उमेशलाल श्रेष्ठ, उपाध्यक्ष अन्जन श्रेष्ठ र उपाध्यक्ष रामचन्द्र संघईले उमेदवारी दिएका छन् । तीनजनामध्ये एक जना महासंघको वरिष्ठ उपाध्यक्ष चुनिने छन् । त्यस्तै, उद्योग वाणिज्य, वस्तुगत र एसोसिएटमा गरी तीनजना उपाध्यक्षका लागि आठजनाले उमेदवारी दिएका छन् ।

    विधान अनुसार कार्यसमिति सदस्यमा सात प्रदेशबाट सातजना, उद्योग वाणिज्य संघबाट १८ जना, वस्तुगत संघबाट १४ जना, एसोसिएटबाट १९ जना, द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट एकजना र संस्थापक सदस्य समूहबाट एकजना कार्यसमिति सदस्य रहनेछन् । सात प्रदेशमध्ये लुम्बिनी र सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सर्वसम्मत भएका छन् भने संस्थापक सदस्य र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट पनि सर्वसम्मत भएका छन् ।

    उद्योग वाणिज्य संघतर्फ १८ जनाका लागि ३२ जनाले प्रस्तिस्पर्धा गर्दै छन् भने वस्तुगत संघतर्फ १४ जना कार्यसमिति सदस्यका लागि २८ जनाले प्रस्तिस्पर्धा गर्दैछन् । त्यसैगरी एसोसिएटतर्फ १९ जनाका लागि ३० जनाले प्रस्तिस्पर्धा गर्दैछन् ।

    प्रत्येक तीन वर्षपछि अध्यक्ष बन्नको लागि यो अधिवेशनमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुपर्छ ।

    प्रतिक्रिया
    थप समाचार