Online Nepal आइतबार, बैशाख २३ २०८१

उत्तर कोरिया शताब्दीकै सबैभन्दा ठूलो खडेरीको मारमा

उत्तर कोरिया शताब्दीकै सबैभन्दा ठूलो खडेरीको मारमा


मध्यान्तर
  • शुक्रबार, जेष्ठ ३ २०७६

  • काठमाडौं । उत्तर कोरियामा यस शताब्दीकै सबैभन्दा ठूलो खडेरी परेको छ । यसबाट यहाँको जनजीवन नराम्ररी प्रभावित हुने बताइएको छ ।

    खडेरीका कारण यहाँका धेरै नागरिक प्रभावित भएका र थप हुनसक्ने भन्दै यसप्रति विश्व खाद्य कार्यक्रमले पनि गहिरो चासो व्यक्त गरेको छ । ’उत्तर कोरियामा सिर्जित अवस्थाको बारेमा हामीले गम्भीर चासो लिएका छौँ,’ विश्व खाद्य कार्यक्रमका एकजना अधिकारीले बताए । त्यहाँ खाद्यान्नको चरम संकट हुनसक्ने उनीहरुले जनाएका छन् ।

    उत्तर कोरियाले विगतमा गर्ने गरेका आणविक परीक्षणका कारण उसमाथि कडा खालका आर्थिक लगायतका नाकाबन्दीहरु लगाइएको छ । नाकाबन्दीका कारण विगतमा पनि उत्तर कोरियाले खाद्यान्न संकट व्यहोर्नुपरेको थियो । यसपटक खडेरी नै परेकोले उनीहरुलाई खाद्यान्न संकट पर्नसक्ने अनुमान गरिएको छ । यस प्राकृतिक प्रकोपका कारण अन्न उत्पादनमा करिब पाँच लाख टन कमी आउने अनुमान गरिएको छ । त्यसैगरी कृषि उपजको कमी आउने र सिँचाइको प्रबन्धको कमीका कारण खाद्य उत्पादनमा समस्या उत्पन्न हुने अनुमान गरिएको छ ।

    यस वर्ष उत्तर कोरियामा सन् १९१७ यताकै सबैभन्दा थोरै पानी परेको छ । वर्षभरमा गत बुधबार ५६.३ मिलीलिटर मात्र पानी परेको थियो । जुन सन् १९१७ यताकै सबैभन्दा थोरै पानी परेको वर्षका रुपमा लिन सकिन्छ ।

    यहाँको एक सरकारी पत्रिकाले खडेरीका कारण गहुँ, मकै, आलु, सिमी तथा अन्य खाद्यान्न बाली लगाउने समय पनि गुज्रिएकोले अब बिस्तारै खाद्यान्न संकटको समस्या देखिँदै जाने जनाएको छ ।

    उक्त पत्रिकाले विश्व खाद्य कार्यक्रम र संयुक्त राष्ट्रसंघलाई उद्धृत गर्दै जनाएअनुसार यहाँका करिब एक करोड नागरिकले खाद्यान्न संकटको सामना गरिरहेका छन् । यो यस शताब्दिकै सबैभन्दा ठूलो खडेरीको अवस्था हो र यसबाट उत्तर कोरियाका करिब ४० प्रतिशत नागरिकले यस्तो समस्या भोगिरहेको जनाइएको छ ।

    तर, उत्तर कोरियाले भने विश्व समुदायप्रति तिक्तता पोखेको छ। उसले वर्षौंदेखि आफ्नो आणविक कार्यक्रमको मात्र विरोध गर्ने गरेका र आफ्नो खाद्यान्न समस्याको बारेमा नसोचेको बताएको छ ।

    प्रतिक्रिया
    थप समाचार