Online Nepal मंगलबार, बैशाख २५ २०८१

साताको पहिलो कारोबार दिन नेप्सेमा दोहोरो अंकको वृद्धि

साताको पहिलो कारोबार दिन नेप्सेमा दोहोरो अंकको वृद्धि


मध्यान्तर
  • आइतबार, असार २७ २०७८

  • काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ७३.३३ अंक बढेर २८९८.४३ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १३.५१ अंक, फ्लोट इण्डेक्स ५.६४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.४५ प्रतिशत बढेको छ।

    नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार देखिएको छ। गत साता दैनिक औषतमा साढे ४ अर्ब कारोबार भएको बजारमा यस दिन ८ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ। यस दिन २२५ कम्पनीको ८२ हजार ४९ पटकको कारोबारमा ८ अर्ब ६ करोड १३ लाख ८२ हजार रुपैयाँ बराबरको ३ करोड १५ लाख ८८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

    यस दिन कारोबारमा आएका २१ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमध्ये अधिकांश फाइनान्स कम्पनी र विकास बैंकहरु रहेका छन्। यस दिन गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र आइसीएफसी फाइनान्सको शेयरमूल्य १० प्रतिशत बढेको छ। कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य भने यस दिन ३।७५ प्रतिशत घटेको छ।

    आइतबार कारोबारमा आएका सबै उपसमूहको परिसूचक उकालो लागेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ८.३९ प्रतिशत बढेको छ भने विकास बैंकको ८.२४ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन बैंकिङ्ग, जलविद्युत, निर्जीवन बीमा, लघुवित्त, जीवन बीमा र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

    आर्थिक वर्षको अन्त्यमा हुने क्लोजिङ्गको प्रेशर कम भएसँगै धितोपत्र बजारमा सुधार देखिएको छ। असारको मध्येदेखि नै शेयर बजारमा क्लोजिङ्गको प्रेशर पर्न थालेको थियो।

    बैंक तथा वित्तीय संस्था र ब्रोकरहरुले पनि हिसाब मिलान तर्फ लाग्दा विगतका दुई साताको नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको थियो। तर, अहिले त्यसको प्रेशर कम भएसँगै बजारमा पुनः उत्साह छाएको हो।

    कम्पनीहरुले हिसाब मिलान लगभग सकाइसकेका छन् भने ऋण लिएका लगानीकर्ताहरुले पनि ब्याजको जोहो गरिसकेको यस दिनको बजारले संकेत गरेको छ।

    प्रतिक्रिया
    थप समाचार