Online Nepal शनिबार, बैशाख २२ २०८१

नेपाल एयरलाइन्सको व्यवस्थापनमा विदेशी साझेदार भित्र्याउने तयारी

नेपाल एयरलाइन्सको व्यवस्थापनमा विदेशी साझेदार भित्र्याउने तयारी


मध्यान्तर
  • मंगलबार, असार २४ २०७६

  • काठमाडौं । नेपाल वायुसेवा निगमको संचालन तथा व्यवस्थापनमा विदेशी साझेदार भित्र्याउने तयारी सुरु गरिएको छ । निगमले विश्वव्यापी बोलपत्र आह्वान गरी ‘व्यवस्थापन करार’का माध्यमबाट निगम भित्रका केही विभागको नेतृत्व सम्हाल्न विदेशी व्यवस्थापन साझेदार कम्पनी भित्र्याउने तयारी भएको हो । निगमका कार्यकारी अध्यक्ष मदन खरेलका अनुसार निगमको ‘अपरेशन’ र ‘इन्जिनियरिङ’ विभाग विदेशी व्यवस्थापन कम्पनीमार्फत गर्ने तयारी भइरहेको छ । त्यसबाहेक आवश्यक परेको बेला अन्य विभागमा पनि व्यवस्थापनले सहयोग लिन सक्ने गरी करार सम्झौता गरिनेछ ।

     

    निगम व्यवस्थापनले यसै साता एक समिति बनाएर व्यवस्थापन करारको ढाँचा निर्माणको काम शुरु गरिसकेको खरेलले बताए । उनले भने– ‘बढीमा १० दिनभित्र समितिले प्रतिवेदन बुझाउने छ । त्यसपछि उक्त ढाँचा सञ्चालक समितिबाट पास गराएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइने योजना छ । नेपाल सरकारले प्रस्ताव स्वीकृत गरेपछि विश्वव्यापी बोलपत्र आहृवान गरी दक्ष कम्पनीलाई नेपाल वायुसेवा निगमको व्यवस्थापनमा साझेदारका रुपमा भित्र्याइने छ ।’

     

    निगमले लामो समयेदखि व्यवस्थापन करारमा जाने योजना बनाए पनि ठोस निर्णय गर्न सकेको थिएन । १ जुलाईमा निगमको ६१ औं वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले निगमको सुधारका लागि व्यवस्थापनसँग व्यवस्थापन सुधारको ठोस कार्ययोजना माग गरेका थिए । सोहीअनुसार निगमले व्यवस्थापन करारका माध्यमबाट निगमको व्यवस्थापनलाई सुदृढ बनाउने योजना बनाएको हो ।

    व्यवस्थापन करारका लागि निगमले गर्ने आर्थिक प्रस्ताव स्वीकार गर्ने कम्पनीले काम गरेवापत पारश्रमिक लिन्छ । निगमले आफूले सुधार गर्न नसकेका मुख्य विभाग इन्जिनियरिङ र सञ्चालन हुन् । ती विभागको नेतृत्व व्यवस्थापन साझेदारका रुपमा भित्रने कम्पनीले नै पाउने छ । उनीहरुले ती विभागबारे निर्णय लिन सक्ने अधिकार पाउनेछन् ।

    प्रतिक्रिया
    थप समाचार