Online Nepal शुक्रबार, बैशाख २१ २०८१

बुद्ध जन्मस्थल लुम्बिनीमा इन्टरनेसनल पर्यटन बजार शुरु, डेढ दर्जन देशका पर्यटन व्यवसायीको जमघट

बुद्ध जन्मस्थल लुम्बिनीमा इन्टरनेसनल पर्यटन बजार शुरु, डेढ दर्जन देशका पर्यटन व्यवसायीको जमघट


मध्यान्तर
  • शुक्रबार, पुष २७ २०७५

  • बुटवल । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा इन्टरनेसनल बुद्धिस्ट ट्राभल मार्ट (पर्यटन बजार) शुरु भएको छ । भेलामा करिब डेढ दर्जन पर्यटन व्यावसायीहरुको जमघट समेत भएको छ ।
    मार्टको उद्घाटन शुक्रबार लुम्बिनीस्थित पवित्र उद्यानमा हुनेछ । नेपालका विभिन्न पर्यटकीय गन्तव्य अवलोकनपछि १७ देशका पर्यटन व्यवसायी बुद्ध जन्मस्थल लुम्बिनीमा भेला भएका हुन् । तीन दिनसम्म चल्ने मार्टमा विभिन्न बौद्ध विद्धान, पर्यटन व्यवसायी लगायतले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

    सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०७६ र प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षलाई समेत सफल बनाउन उक्त कार्यक्रमले सहयोग गर्ने अपेक्षा गरिएको छ । मार्टमा म्यानमार, थाइल्याण्ड, बंगालादेश, अष्ट्रेलिया, जर्मनी, अमेरिका, भारत, माल्दिभ्स, श्रीलंका, भुटान, चीन लगायत गरी १७ वटा मुलुकबाट टूर अपरेटर, ब्लगरहरु, सम्बन्धित देशका सरकारी प्रतिनिधिहरु सहभागी छन् ।

    यस्तै चीनको एउटा टेलिभिजनका संचारकर्मी पनि यहाँ आएका छन् । मार्टका सदस्य सचिव तथा नाट्टाका केन्द्रिय वरिष्ठ उपाध्यक्ष अच्युत शर्मा गुरागाईका अनुसार लुम्बिनीमा विभिन्न मुलुकका पर्यटन सम्बद्ध ६७ जना व्यवसायी, ब्गलर, संचारकर्मीहरु आएका छन् । विश्व बजारमा नेपालका पर्यटकीय स्थलहरुको व्यापक प्रचारप्रसार गर्न मार्ट आयोजना गरिएको गुरागाईले बताए ।

    नेपालका पर्यटकीय स्थलहरुमा अधिक विदेशी पर्यटक भित्राउने उद्देश्यसहित नेपाल ट्राभल्स एण्ड टुर्स एशोसिएसन ९नाट्टा० र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा पहिलोपटक बुद्ध जन्मस्थलमा मार्ट सुरु भएको हो । मार्टले लुम्बिनी क्षेत्रमा आउने पर्यटकहरुको बसाई लम्ब्याउन समेत सहयोग गर्ने उनले बताए ।

    मार्टको पहिलो दिन सहभागी विदेशी पर्यटन व्यवसायीले विभिन्न पर्यटकीय स्थलहरु घुमाइएको छ । बिहीबार उनीहरुलाई नवलपरासीको रामग्राम नगरपालिकाले अभिनन्दन समेत गरेको छ । अभिनन्दनपछि व्यवसायीको टोलीले बुद्ध मावली रुपन्देही देवदहको अवलोकन गरेको थियो । त्यहाँ देवदह नगरपालिकाले स्थानीय परिकारसहितको ‘मेयर लञ्च’ गराएको थियो । त्यसपश्चात व्यवसायीहरुले कपिलवस्तु र बुद्ध जन्मस्थल लुम्बिनी अवलोकन तथा भ्रमण गरेका छन् । यसअघि उनीहरुलाई काठमाडौं र चितवनका विभिन्न पर्यटकीय क्षेत्रमा घुमाइएको थियो ।

    ट्राभल मार्टले बौद्ध पर्यटकीय स्थल र सेवाहरुको अन्तर्राष्ट्रिय क्रेता तथा राष्ट्रिय बिक्रेताहरुबीच सेवा तथा व्यापार विनिमयको अवसर श्रृजना गर्ने स्थानीय आयोजकका संयोजक सागर अधिकारीले बताए । लुम्बिनीसहित कपिलवस्तु, देवदह, रामग्रामलगायतका स्थानमा विदेशी पर्यटन व्यवसायी र टूर गाइडहरुलाई अवलोकन गराइएकाले यस क्षेत्रमा पर्यटकहरुको बसाइ लम्ब्याउनसमेत मार्टले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको छ ।

    कार्यक्रममा पर्यटन लक्षित बिभिन्न कार्यपत्र र नेपालका बौद्ध सर्किटको प्रबद्र्धनका बारेमा छलफल समेत हुनेछ भने बिटुबी मुख्य कार्यक्रम भएको आयोजकले जनाएका छन् । मार्टले नेपालमा होटल व्यवस्थापन राम्रो र पर्याप्त छैनन् भनेर विश्व बजारमा परेको गलत प्रभाव मेटाउन समेत भूमिका खेल्ने पर्यटन व्यवसायीको विश्वास छ । मार्टबाट लुम्बिनीसँगै बुद्ध जिवनीमा आधारित अन्य क्षेत्र र पाल्पाको रानीमहल, रिडी, रेसुंगा, स्वर्गद्वारी, सुपादेउराली, बर्दिया राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, पोखरा, काठमाडौं, मुक्तिनाथ, सगरमाथा, पशुपतिनाथ, जानकी मन्दिर लगायत महत्वपूर्ण स्थलहरुको प्रबद्र्धन हुने जनाइएको छ ।

    प्रतिक्रिया
    थप समाचार