Online Nepal शनिबार, बैशाख २२ २०८१

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३७ औं वार्षिक साधरण सभा सम्पन्न, निक्षेपमा उल्लेख वृद्धि

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३७ औं वार्षिक साधरण सभा सम्पन्न, निक्षेपमा उल्लेख वृद्धि


मध्यान्तर
  • बुधबार, चैत्र २१ २०८०

  • काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३७ औं वार्षिक साधरण सभा सम्पन्न भएको हो । मंगलवार सञ्चालक समितिका अध्यक्ष पृथ्वी बहादुर पाँडेको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाले गत आर्थिक वर्ष ०७९-८० को वासलात लगायतका थुप्रै एजेण्डाहरु सर्वसम्मतिले पारित गरेको छ ।

    आर्थिक वर्ष २०७९-८० मा बैंकले ३ अर्ब ७२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७८-७९  बैंकले कूल निक्षेप ३ खर्ब ४३ अर्ब रुपैयाँ रहेकोमा १६ अर्ब ९७ करोड रूपैयाँले बृद्धि भई आर्थिक वर्ष २०७९-८० को अन्त्यमा बैंकको निक्षेप ३ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ ।

    त्यसैगरी आर्थिक वर्ष २०७९-८० को अन्त्यमा बैंकको कूल कर्जा तथा सापटी रकम ३ खर्ब १२ अर्ब रुपैयाँ कायम रहेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा साविक नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडको गरी कूल कर्जा तथा सापटी रकम ३ खर्ब १४ अर्ब रुपैयाँ रहेको थियो । मेगा बैंकले बिगतमा प्रदान गरेको केही खराब कर्जाका कारण मुनाफा कम भएपनि बैंकका अन्य सूचकहरु सकारात्मक रहेका छन् ।

    विगत केही वर्षदेखि नेपाल राष्ट्र बैंकले बैंकहरुको संख्या घटाउन लिएको मर्जर नीतिलाई समर्थन गर्दै आर्थिक वर्ष २०७९-८० मा साविक नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेड एक आपसमा गाभिई २०७९ पुस २७ गतेबाट नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको नाममा एकीकृत कारोबार सञ्चालन गरेको थियो ।

    मर्जरपछि यो बैंकको चुक्ता पूँजी ३४ अर्ब १३ करोड रुपैयाँ र कुल शेयरधनी कोष ५५ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।

    हाल बैंकले २७० शाखा, २६७ एटीएम, १६ राजश्व संकलन काउन्टरसहित ६३ एक्टेन्सन काउन्टर र ४६ शाखारहित बैंकिङमार्फत ३२ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आएको छ । गुणस्तरीय सेवा तथा सुविधा प्रदान गरेका कारण समीक्षा अवधिमा बैंकले अन्तराष्ट्रिय प्रकाशन-युरोमनीबाट “बेस्ट बैंक २०२३” को उपाधि समेत प्राप्त गर्न सफल भएको छ ।

    सर्वोच्च अदालतको निर्णयलाई पालना गर्दै सञ्चालकहरूको निर्वाचन हाललाई स्थगित गरिएको बैंकले जनाएको छ भने साधारणसभामा प्रस्तुत भएका अन्य सबै एजेण्डाहरु सभाद्वारा स्वीकृत र अनुमोदन भएका छन् ।

     

    प्रतिक्रिया
    थप समाचार