Online Nepal सोमबार, बैशाख १७ २०८१

आन्तरिक उडान खोल्नेदेखि विदेशी पर्यटकलाई नेपाल ल्याउन पर्यटन मन्त्री भट्टराईको प्रस्ताव

आन्तरिक उडान खोल्नेदेखि विदेशी पर्यटकलाई नेपाल ल्याउन पर्यटन मन्त्री भट्टराईको प्रस्ताव


मध्यान्तर
  • बिहिबार, भाद्र २५ २०७७

  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा ४ वटा महत्वपूर्ण प्रस्ताव पठाएको छ । प्रस्तावमा आन्तरिक उडान खोल्नेदेखि नेपाली आयोजनामा काम गर्ने विदेशी र पर्यटकलाईसमेत नेपाल ल्याउने विषय उल्लेख गरिएको छ ।

    बिहीबार आर्थिक पत्रकार समाजसँगको आर्थिक बहसमा भाग लिँदै पर्यटनमन्त्री योगेश भट्टराईले असोज १ गतेबाट आन्तरिक उडान खोल्ने प्रस्ताव गरेको बताए । उनले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पनि योजनावद्ध रुपमा काम भइरहेको जानकारी दिए ।

    मन्त्री भट्टराईले पहिलो चरणमा कोरोना भाइरसको संक्रमण कम भएको जिल्लामा रहेको विमानस्थलमा उडान सुरु गरिने बताए । ‘प्राथमिकतामा हिमाली र पहाडी इलाकामा रहेका एयरर्पोर्टबाट आन्तरिक उडान शुरु हुन्छ,’ उनले भने ।

    त्यस्तै मन्त्रालयले आज सीसीएमसीमा पठाएको प्रस्ताव अनुसार अब विदेशमा रोकिएका नेपाली आयोजनामा काम गर्ने कामदारलाई समेत नेपाल आउन अनुमति दिने प्रस्ताव माग गरिएको छ । त्यसैगरी मन्त्री भट्टराईले गैरआवासीय नेपाली र पर्यटकलाईसमेत स्वास्थ्य प्रोटोकल पुरा गरी नेपाल आउन अनुमति दिने गरी केन्द्रमा प्रस्ताव लगिएको बताए ।

    ‘पर्यटन क्षेत्रले ६ महिनाभन्दा लामो समय धैर्य गरेको छ, उनले भने, ‘अब क्रमशः स्वास्थ्यका नियम पालना गरी हामी पर्यटन गतिविधि अगाडी बढाउने योजनामा छौं ।’

     

     

    प्रतिक्रिया
    थप समाचार