Online Nepal आइतबार, बैशाख १६ २०८१

यस्तो छ ‘महाजात्रा’ को ट्रेलर

यस्तो छ ‘महाजात्रा’ को ट्रेलर


मध्यान्तर
  • सोमबार, फाल्गुन २१ २०८०

  • काठमाडौँ । नेपाली फिल्म ‘महाजात्रा’ को ट्रेलर सार्वजनिक गरिएको छ । आज यहाँ सुन्धारास्थित सिभिल मलमा रहेको क्युएफएक्समा एक कार्यक्रमको आयोजना गर्दै षट्कोण आर्ट्सले निर्माण गरेको ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’ मा आपतकालीन रुपमा पैसा व्यवस्थापन गर्न आइपर्ने अवसरलाई देखाएइको छ ।

    सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउतसँगै हरिवंश आचार्य देखिएका छन् । सिचुएशनल कमेडीलाई दर्शक माँझ ल्याएर लोकप्रिय भएको फिल्मको तेस्रो भागलाई हतार गरेर नभई आइडिया फुरेपछि निर्माण गरिएको निर्देशक तथा लेखक प्रदीप भट्टराईले बताए ।

    ‘म आफैँ पनि सिक्वेल बनाउनु पर्छ भन्ने पक्षमा छैन । तर, यसको कथा फुरेपछि यसलाई दर्शकसम्म लैजानु पर्छ भनेर निर्माण गरेका हौँ । हाम्रो ध्यान बक्सअफिस भन्दा पनि राम्रो फिल्म के कसरी दर्शकलाई दिने भन्ने मै केन्द्रीत छ’, निर्देशक भट्टराईले भन्नुभयो,‘युवालाई बेरोजगारीले कसरी अपराधको बाटोमा लैजान्छ र त्यसमा कस्ता व्यक्तिले भूमिका खेलिरहेका हुन्छन् भन्ने फिल्ममा देखाएका छौँ । यसले के गर्न हुन्छ र हुदैन भन्ने विषयमा पनि सोच्न बाध्य बनाउँछ ।’

    अभिनेता आचार्यले आफूलाई ‘जात्रा’ शृङ्खलामा जोडिन मन लागेको र अहिले आएर पुरा भएको बताउनुभयो । ‘मलाई यो फिल्ममा अभिनय गर्ने इच्छा थियो । सन्दर्भ मिलेर म यसमा एक भ्रष्ट नेताको भूमिकामा छु । मैले निर्धक्क विश्वास गर्ने निर्देशक भट्टराई र जोशिला युवाको समुह भएकाले पनि अभिनय गरें’, अभिनेता आचार्यले भन्नुभयो,‘यसले सामाजिक संदेशलाई मनोरन्जनात्मक रुपमा भनेका छौँ । यसले हाम्रो विकृति र त्यसले समाजमा परिरहेको असरलाई पनि ऐना झैँ देखाउँछ ।’

    अभिनेता तथा कार्यकारी निर्माता बानियाँले आफ्नो फिल्मको प्रतिष्पर्धा आफैँसँग रहेको बताए । उनले भने,‘व्यावसायिक होस् वा कलात्मक पाटोमा हाम्रो प्रतिष्पर्धा अन्यसँग नभई आफैँसँग छ । हामी दर्शकलाई राम्रो फिल्म दिईरहेका छौँ र आगामी दिनमा पनि दिने नै छौँ । यो अघिल्ला सिरिज भन्दा कुनै हिसाबले कम बनेको छैन ।’
    फिल्म चैत ९ मा नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुँदैछ । नेपाल र भारत बाहेकको प्रदर्शन र वितरणको अधिकार खरिद गरेको एमएसएम इन्टरटेन्मेन्टस्का अनुसार संयुक्त राज्य अमेरिका र क्यानाडामा नाम्लो इभेन्ट्स र कोसेली कोलोराडो, मिडलइस्ट अन्तर्गतका देशमा कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिव्युसन, युरोप अन्तर्गतका देशमा एनएमटी डेनमार्क, जापानमा आन्वी इन्टरटेनमेन्ट्स, कोरियामा विशाल आवाज मल्टिमिडिया प्राली, न्युजिल्यान्डमा लाखे इभेन्ट्स र अष्ट्रेलियामा स्वयम् एमएसएम इन्टरटेनमेन्टस् र रोटे पिङले फिल्मलाई वितरण र प्रदर्शन गर्दैछ ।
    आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसमे निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’ले फागुन २१ गतेदेखि मोफसल यात्राको सुरुआत पोखराबाट गर्दैछ । फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।

    फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल र काली प्रसाद बाँस्कोटा सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर, अनिल खड्का मुख्य सहायक निर्देशक रहेका छन् ।

    प्रतिक्रिया
    थप समाचार