Online Nepal बिहिबार, बैशाख २० २०८१

सबाल्टर्न

सबाल्टर्न


मध्यान्तर
  • शनिबार, असोज १० २०७७

  • हरघडी म ठिङ्ग उभिन्छु,
    सर्वश्रेष्ठ प्राणीका साथमा,
    हरदम लाचार माैन समर्थन,
    आफ्नै छायाले गिज्याइ रहन्छ ।

    निरीह शिर लर्याकलुरूक भई,
    प्रभुत्वकाे छप्काइमा नतमस्तक हुँदा,
    क्रान्तिकारी  आत्म विश्वास,
    डगमगाइ दर्बिलाे बन्न नसक्दा ।

    बुलन्द आवाज अन्तर्मनमा,
    काप्दै अधीनस्थ हुँदा,
    पराधीन, अभिजात, कुलीन काक्रो,
    चपाउदै काेर्याककाेर्याक,
    परमाधिपत्य स्वाधीन,
    राज्य ओकल्न मन छ ।

    म जस्तै अबाेला, निमुखाहरू जम्मा गर्दै,
    बन्दै विजयास्त्र,
    रणभूमिमा वर्ग विभेदलाई,
    सदा निर्मूल पार्दै,
    यही खुसियालीमा,
    चाैरासी व्यञ्जन मिष्टान्न,
    समतामूलक भाग लाउदै,
    भाेजकाे वर्षा गरि,
    निर्लिप्त भई वर्ग विभेदका,
    कैयौं दुर्दशाहरू पखाल्नु मन छ ।

    सबाल्टर्नकाे निष्पक्ष न्यायालयमा,
    विचरण गर्ने पथ ध्वस्त हुँदा,
    अनगिन्ती आर्तले चर्याइएका दर्दनाक,
    घाउसँग आत्म समर्पण गर्दै,
    काैडीकाे भाउमा आफ्नै,
    अस्तित्व बेच्दै आखिर,
    बरफ जस्तै विलीन म ।

    प्रतिक्रिया
    थप समाचार