Online Nepal आइतबार, बैशाख २३ २०८१

९वौं अन्तर्राष्ट्रिय व्यापार मेला चैतको पहिलो हप्ता, प्रदर्शनीमा ३ सय भन्दा बढी स्टल हुने

९वौं अन्तर्राष्ट्रिय व्यापार मेला चैतको पहिलो हप्ता, प्रदर्शनीमा ३ सय भन्दा बढी स्टल हुने


मध्यान्तर संवाददाता
  • बिहिबार, माघ २३ २०७६

  • काठमाडौं । आगामी चैत्रको पहिलो हप्तादेखि काठमाडौंमा नेपाल अन्तराष्ट्रिय व्यापार मेला (Nepal International Trade Fair-NITF)  आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकारको समेत सहयोगमा हरेक वर्ष आयोजना गर्दै आएको यो वर्षको मेला आगामी चैत्र ६ देखि १० गतेसम्म भृकुटीपण्डपमा आयोजना हुने महासंघ सचिवालयमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । साथै सोही अवसरमा आजैबाट स्टल बुकिङ खुला भएको समेत जानकारी गराइयो ।

    स्वदेशी उद्योग व्यवसायको प्रवद्र्धन, नेपाली उत्पादन तथा सेवाहरूको राष्ट्रिय अन्तराष्ट्रिय बजार विस्तार गर्ने, बाह्य लगानी तथा प्रविधि आकर्षण गर्ने, स्वदेशी एवं विदेशी लगानीकर्ताहरू बीच व्यवसायिक सम्बन्ध र सहकार्यको वातावरण बनाउने र नेपाल सरकारले नेपाल व्यापार रणनीति अन्तरगत पहिचान गरेका एनटीआईएस वस्तुहरूको प्रवद्र्धन गर्ने मुख्य हेतुले महासंघले हरेक वर्ष नेपाल अन्तराष्ट्रिय व्यापार मेला आयोजना गर्दै आएको छ । अन्तराष्ट्रिय व्यापार मेला, नेपाल सरकार/वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धनमा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह-आयोजनामा क्यालेन्डर इभेन्टको रूपमा आयोजना हुंदै आएको छ । यस वर्षको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला–२०२० नवौं संस्करण हो ।

    काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने मेलामा चीनबाट ८० वटा, भारतबाट ४० वटा, बंगलादेशबाट ६० वटा, थाइलैण्डबाट २० वटा तथा पाकिस्तानबाट ५ वटा स्टल बुकिङ्गको लागि पत्राचार भई सकेको छ भने नेपाली उद्योग/फर्म/कम्पनीको लागि स्टल बुकिङ्ग खुल्ला गरिएको छ । एनटीआईएस अन्तरर्गतका वस्तुहरूको एक छुट्टै प्याभेलियनको व्यवस्था गरिने छ । कूल ३०० भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने छ । मेलामा नेपाल सहित सार्क मुलुकहरू, चीन, थाइल्याण्ड लगायतका देशहरूको सहभागिता रहनेछ । साथै अन्य देशहरूबाट पनि सहभागिताका लागि पत्राचार भैरहेको जानकारी सो अवसरमा गराइयो ।

    नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा हस्तकलाका उत्पादनहरू, एनटीआइएस प्रोडक्टहरू हुने छन् । त्यस्तै मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी, शिक्षा, आदिका छुट्टाछुट्टै स्टलहरू रहने छन् । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई समेत सफल बनाउन मेलामा नेपालका पर्यटन गन्तव्य स्थलको प्रचार प्रसार तथा छलफल कार्यक्रम आयोजना गरिने छ । साथै स्टलबाटनै पर्यटन प्याकेजको बुकिङ्गको पनि व्यवस्था गरिने छ । मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गराउने कार्यक्रम छ ।

    मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय व्यवसायिक सम्बन्ध विस्तारमा एक महत्वपूर्ण कडीका रूपमा हेरिएको कुरा पत्रकार सम्मेलनमा महासंघका उपाध्यक्ष किशोर कुमार प्रधानले बताउनु भयो । महासंघका कोषाध्यक्ष निरक केसीको उपस्थिति रहेको कार्यक्रममा महासंघको व्यापार मेला समितिका सभापति दीलसुन्दर श्रेष्ठले मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानी वारे छलफल समेत हुने जानकारी गराउनु भयो ।

    महासंघका महानिर्देशक धरणीधर खतिवडाले मेलालाई भव्यरूपमा सफल पार्न संचार माध्यमहरूबाट सदाझै महत्वपूर्ण सहयोगको अपेक्षा गरेको र मेला सम्बन्धी आवश्यक तथ्यांक संचार माध्यमलाई उपलव्ध गराउन महासंघ सचिवालय तयार रहेको विश्वास दिलाउनु भयो । मेला समितिका सह–सभापति सविनलाल श्रेष्ठले यस वर्षको मेलामा स्वदेशी र विदेशी गरि करिव १ लाख अवलोकनकर्ताहरूले अवलोकन गर्ने लक्ष्य राखिएको बताउनु भयो । पत्रकार सम्मेलनमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत मीन बहादुर कुँवरको पनि उपस्थिति थियो ।

    महासंघकै नेतृत्वमा यस वर्ष अघिल्लो वर्षहरूमा जस्तै मुलुकभित्र प्रादेशिक, जिल्लास्तर एवं बस्तुगत गरी करिव ३० देखि ४० वटा मेलाहरू विभिन्न भागमा आयोजना हुदै आईरहेका छन् । केहि मेला सम्पन्न भैसकेका छन् भने केहि तयारी गर्दै रहेका छन् । जिल्लामा उत्कृष्ट रहेका वस्तु तथा सेवाहरूलाई यस मेलामा १० वटा निःशुल्क स्टलको व्यवस्था पनि गरिएको छ ।

    महासंघले सफलतापूर्वक सम्पन्न गरेको अघिल्लो वर्षको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०१९ मा एकलाखभन्दा बढी स्वदेशी एवं विदेशी आगन्तुकहरूले अवलोकन गरेका थिए भने स्वदेशी विदेशी गरी ३ सय २५ प्रर्दशीकर्ताहरूबाट वस्तु तथा सेवाको प्रदर्शनी गरिएको थियो । मेलामा चीन, भारत, बंगलादेश, कोरिया, जापान, लगायतका देशबाट खरिदकर्ताहरू आएका थिए । मेलामा नेपाली निर्यात योग्य बस्तुहरूका साथै बहुराष्ट्रिय नेपाली कम्पनीहरूको समेत उल्लेख्य सहभागिता थियो । मेलामा सहभागी स्टलहरूले दिएको जानकारीका आधारमा गत वर्ष प्रत्यक्ष अप्रत्यक्ष गरी करिव ९ करोडको कारोवार भएको, व्यापारिक सम्बन्ध विस्तार भएको, आपसी सहकार्यका लागि कम्पनीहरू बीच क्षेत्रगत सहमतीपत्रमा हस्ताक्षर भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण हुन नसकेको कारणले अन्तर्राष्ट्रिय सहभागिता बढाउन सकिरहेको छैन ।

    राष्ट्रिय अन्तराष्ट्रियतहमा एउटा विशिष्ठ पहिचान बनाइसकेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्न, नेपाली उत्पादनहरूको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पुर्‍याउने आशा एवं विश्वास महासंघले लिएको छ । यस वर्षको मेलामा टिकट दर ५०।- रुपैयां तथा विद्यार्थी सहुलियत दर ३०।- रुपैयांं तोकिएको छ भने अपाङ्ग तथा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था समेत गरिएको छ ।

    प्रतिक्रिया
    थप समाचार