Online Nepal सोमबार, बैशाख २४ २०८१

काम गर्ने तत्परता खोई ?

काम गर्ने तत्परता खोई ?


मध्यान्तर
  • मंगलबार, असोज ९ २०७५

  • नेपालीहरुको महान चाड दशै नजिकीएको छ । दशैमा धेरै नेपालीहरुले मेची महाकाली वा बिदेशमा काम गर्न बसेको भएपनि घर फर्केर आउने चलन छ । बागलुङबाट काम गर्न गएका धेरैले दशैलाई घर फर्कने टुंगो लगाएका छन् । तर सबैको घर बागलुङ बजारमा छैन । सदरमुकाममा सिमित मानिस भएपनि अधिकांस ग्रामीण क्षेत्रमा बसोबास गर्छन् । तर उनीहरुको गाउँ जाने सडकहरु अहिले पनि बेहालको अवस्थामा छन् । दशै आईसक्दा लामो समयदेखी अबरुद्ध भएका ठूला आयोजनाका सडकदेखि ग्रामीण सडक पनि मर्मत हुन सकेका छैनन् । कालीगण्डकी कोरिडोरमा यात्रीले घण्टौसम्म सास्ती खेप्न बाध्य छन् । सेनाले ट्रयाक खोलेको र राष्ट्रिय गौरवको आयोजनामा सूचिकृत भएकोले स्थानीय तहले पनि उक्त सडक खुलाउन लगानी गरेका छैनन् । जसको परिणाम जनताले सास्ती खेपेका छन् । सवारी साधनहरु घण्टौ हिलोमा फस्छन् । केही समयअघि त राष्ट्रिय सभाका सदस्य तथा पूर्वमन्त्री दिननाथ शर्मा समेत यो सडकमा घण्टौ फसेर फर्केछन् । यस्ता उदाहरण कति छन् । तर पनि सडक सहज बनाउने तर्फ कसैको ध्यान गएको छैन ।

    राज्यले नदेखेपनि स्थानीय तहले मर्मत गरेर सवारी चल्नेसम्म बनाउनु पर्ने भएपनि त्यसमा ध्यान गएको देखिंदैन । कोरिडोर मात्र हैन मध्यपहाडीमा पनि यो समस्या छ । कतै कालोपत्रे भएको लोकमार्गको २५ किमी खण्ड भने हिलाम्मे छ । एउटा मात्र ट्रयाकले सवारी फसेपछि अर्को पास हुने अवस्था छैन । दुई साताअघि खसेको पहिरोले ४ सय मिटर खण्ड अबरुद्व भएको सबैले देखेका छन् तर बिकल्प खोज्ने गरी काम भएका छैनन् । न त पहिरो पन्छाएर तत्काल सेवा दिईयो । दुई सातापछि खुलाउने प्रयास शुरु भएको छ । तर समयमै खुल्छ भन्ने कुनै ग्यारेन्टी छैन । ढोरपाटन सालझण्डी सडकको अर्को सास्ती छ । यो खण्डको कुनैपनि स्थानमा अहिले सवारी साधन चल्न सक्ने अबस्था छैन । राष्ट्रिय गौरवको नाम झुण्डाएपछि देशै समृद्ध बन्छझै गरेर धेरैले आशा गरेका थिए । तर काम गर्ने प्रतिवद्धता नभएपछि उल्टै सास्ती खेप्नुपर्ने बाध्यताबारे बुझेर बुझ पचाएको जस्तो देखिएको छ ।

    गौरवका अयाोजनाबाटै दर्जनौं ग्रामीण सडक जोडिएका छन् । मुल सडकमै समस्या भएपछि ग्रामीणमा यो रोग सरेर जानेनै भयो । दशै लागि सक्ने बेलासम्म सडक मर्मतका कुनै योजनाहरु समेत सम्झौता नहुनुले कामप्रति जनताको विश्वास कम भएको छ । स्थानीय तहहरुले पनि हिउँदमा काम गर्ने बर्षा लागेपछि भत्कने गरी गरिने आलटाललाई नै स्विकारोक्ति गरेको जस्तो देखिन्छ । जब बर्षात् लाग्छ त्यसपछि मात्र काम हुने गरेको छ । नत्र यतिबेला सम्झौता भएर काम थाल्ने र हिउँदकै दिनमा काम सक्नेतर्फ कुनै पहल भएन । सिंहदरवार गाउँमा आएको भनेपनि कुर्सी मात्र आएको भान सबैमा परेको छ । हरेक गाउँमा जनप्रतिनिधिको नाउँमा सिंहदरवारको कुर्सी आयो तर काम गर्ने सोच, तत्परता आएन । जसको कारण जनताले उत्तिकै सास्ती, उत्तिकै समस्या र पिडा भोगिरहेका छन् । त्यसको समाधानका लागि जनप्रतिनिधिहरुले सोच्ने बेला आएको छ । हामी पुरानै ढर्राका जनप्रतिनिधि हौं की जनतालाई सिंहदरवारको अधिकार जनताको घरदैलोमा ल्याउने नारा बाँडेर आएका हौं भन्ने एकपटक सोच्ने की ?

    प्रतिक्रिया
    थप समाचार