Online Nepal आइतबार, बैशाख १६ २०८१

दुई तिहाइ मतको इज्जत जोगाउ

दुई तिहाइ मतको इज्जत जोगाउ


मध्यान्तर
  • शुक्रबार, कार्तिक २१ २०७७

  • बिक्रम संवत २०१५ सालको बिपि कोइराला सरकारपछि अहिलेको केपी ओलीको सरकारलाई नेपाली जनताले दुइतिहाइ मत दिएका छन् । निकै आशा र भरोसा गरिएको अहिलेको कम्युनिष्ट सरकार र केपी ओलीप्रति जनताको ह्वात्तै निरासा बढेको छ । अहिलेसम्मको बलियो सरकार कमजोर प्रतिपक्ष, तीन तहमा कम्युनिष्ट पार्टीको दुइ तिहाइको सरकार काम गर्न कहिल्यै कतै बाट पनि अबरोध नभएको बेला इतिहासकै निकम्मा सरकारको दर्जा पाएको छ । दुइ तिहाइ मत देश विकासको लागि होइन रहेछ, आफु र आफ्नालाई समृद्ध बनाउन रहेछ । अब जनताले दुइ तिहाइ र कम्युनिष्ट पार्टीलाई घृर्णा गर्न थालिसकेका छन् । खाली भागबण्डा र नियुक्ति, सरुवा बढुवामा नै केन्द्रीत यो सरकार कहिल्यै जनताको सरकार बन्न सकेन ।

    कोरोना भाइरसले गर्दा देशको अर्थतन्त्र तहसनहस भएको छ । लाखौंले रोजगार गुमाएका छन्, लाखौं संक्रमित भएका छन्, मृत्यु हुनेको संख्या हजार नाघिसक्यो । यस्तो अवस्थामा पनि सरकार गम्भिर बन्न सकेको छैन । अस्पतालले विरामीको भर्ना लिंदैन, लिएपनि लाखौं धरौटी राख्नुपर्छ । अदालतको आदेशलाई कार्यान्वयन गर्दैन, यो दुइ तिहाइको सर्वहारा सरकार हो की जनतामारा सरकार हो ? आम जनताले प्रश्न गर्न थालेका छन् । जनताप्रति कहिल्यै संवेदनशिल भएन यो सरकार । खाली कोरोना अगाडी काण्डै काण्डमा मुछिएको र कोरोनापछि भ्रष्टाचारमा डुबेको यहि हो दुइ तिहाइको सरकार ? यहि हो समृद्ध नेपाल सुखी नेपाली ? देशमा यति ठूलो संकट परेको बेलामा सरकार भने खाली आन्तरिक पार्टी झगडामा रमाइरहेको छ ।

    खालि बालुवाटार र खुमलटार रमाइरहेको सरकारले गर्दा दुइ तिहाइ भन्ने शब्द पनि अहिले जनताको नजरमा घृर्णाको शब्द बन्न पुगेको छ । प्रमुख प्रतिपक्षको भूमिका अहिले शुन्य छ । कांग्रेस आफैं आन्तरिक द्वन्दमा फसेको छ । समयमा अधिवेशन गर्न सकेको छैन । यस्तो प्रतिपक्ष हुँदा सरकार चाहिं खाली कहाँबाट भ्रष्टाचार गर्न सकिन्छ ? कहाँ बाट आफ्ना मान्छे नियुक्त गर्न सकिन्छ ? भनेर लागिरहेको छ । अब जनता दुइ तिहाइ होइन तिन तिहाइ भएपनि चुप लागेर बस्ने छैनन् । यो सरकारले गर्दा अहिलेको राज्य व्यवस्थामाथि नै खतरा बढेको छ । यहि सरकारले संविधानको मर्म विपरित देशलाई संघिय गणतान्त्रिक मुलुक भन्ने वाक्य हटाएको छ । अनि यो सरकारले के गर्न खोजिरहेको छ ? आज संविधानबाट हटाउको चिजलाई भोली हजारौंले वलिदान गरेर ल्याएको व्यवस्थालाई चुनौति दिने हिसावले यो सरकारका काम गतिविधि अगाडी बढीरहेको छ । अब जनताले यस्तो बिसंगतीबिकृतीको सरकारको बिकल्प खोज्ने दिन कुरिरहेका छन् ।

    प्रतिक्रिया
    थप समाचार