Online Nepal शनिबार, बैशाख १५ २०८१

एसईई परीक्षा आजदेखि सुरु

एसईई परीक्षा आजदेखि सुरु


मध्यान्तर
  • बिहिबार, चैत्र १५ २०८०

  • काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजदेखि सुरु भएको छ ।  परीक्षा २७ गतेसम्म चल्नेछ । राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार यो वर्ष पाँच लाख चार हजार ४१४ विद्यार्थी परीक्षा दिन फारम भरेका छन् ।

    एसइईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न केन्द्राध्यक्ष लगायत जनशक्तिलाई तालिम दिइएको थियो ।

    यो वर्षको परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयबाट विद्यार्थीले परीक्षा दिँदै छन् । जसमा दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुने पौडेलले बताए । कूल परीक्षार्थीमध्ये ५०६ विद्यालयका १५ हजार ७४९ जना विद्यार्थी प्राविधिक धारका छन् ।

    देशभरका दुई हजार ६४ परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन भएको हो । त्यस्तै नेपाल बाहिर जापानमा समेत एक परीक्षा केन्द्र तोकिएको छ । जहाँबाट २३ जना विद्यार्थीले एसईई दिँदै छन् ।

    जापानमा रहेको एभरेस्ट स्कुल परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिन लागेका हुन् । परीक्षाका लागि आवश्यक पर्ने प्रश्न पत्र र उत्तर पुस्तिकालगायतका सामग्री यसअघि नै सम्बन्धित जिल्ला पुर्‍याइएको थियो ।

    परीक्षा सञ्चालनका लागि देशभरबाट ७७ हजार बढी जनशक्ति खटिएका छन् । ७७ हजार ४८५ जना जनशक्ति परिचालन भएको छ  ।

    यो वर्षदेखि विद्यार्थीले न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनै पर्ने व्यवस्था गरिएको छ । ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ यो वर्षदेखि कार्यान्वयनमा आएको विद्यार्थीले प्रत्येक विषयको सैद्धान्तिकमा ३५ प्रतिशत अङ्क ल्याउनै पर्नेछ ।

     

    प्रतिक्रिया
    थप समाचार