काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गण्डकी प्रदेशसभा बहिष्कार गर्ने जनाएको छ । गण्डकी प्रदेशसभा बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
सर्वोच्च अदालतको अन्तरिम आदेश र मुद्दाको पेसी समेतलाई वेवास्ता गर्दै प्रदेशसभा बैठक बोलाइएको भन्दै कांग्रेसले बहिष्कार गर्ने भएको हो ।
आज बसेको कांग्रेस गण्डकी प्रदेश संसदीय दलको बैठकले अदालतको आदेशको अवहेलना हुने गरी प्रदेशसभा अधिवेशन आह्वान गर्न सिफारिस गर्नु र प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्नु गैरजिम्मेवार कदम रहेको निष्कर्ष निकालेको छ । अदालतबाट मुद्दाको अन्तिम फैसला नहुँदासम्म आह्वान गरिने प्रदेशसभाको कुनै पनि बैठकमा सहभागी नहुने कांग्रेसले निर्णय गरेको छ ।