काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) को २९ औँ केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनमा डा. बद्री रिजालको समूहले वर्चस्व कायम गरेको छ । आज बैशाख २२ गते अपरान्ह सार्वजनिक अन्तिम मत परिणामअनुसार अध्यक्ष र महासचिवसहित अधिकांश महत्वपूर्ण पदमा डा.रिजाल समूहका उम्मेदवार विजयी भएका छन । अध्यक्ष पदमा डा. बद्री रिजालले ३ हजार १ सय ९६ मत प्राप्त गर्दै विजयी भएका छन । उनका निकटतम प्रतिस्पर्धी डा. मंगल रावलले २ हजार ९ सय ४० मत प्राप्त गरेका छन । डा.रिजालले डा.रावललाई २५६ मतान्तरले पराजित गरेका छन । अध्यक्षका अर्का प्रत्यासी डा. नारायण प्रसाद भुसालले ८६९ मत पाएका छन ।
यस्तै महासचिवमा डा. विश्वराज दवाडीले २ हजार ७ सय २२ मतका साथ निर्वाचित भएका छन । उनका प्रतिस्पर्धी डा. कालु सिंह खत्रीले २,४२३ मत प्राप्त गरेका छन। डा. दवाडीले डा. खत्रीले भन्दा २९९ मत बढी ल्याएर विजयी भएका छन ।
वरिष्ठ उपाध्यक्षमा डा. संजीव तिवारीले ३ हजार ३६ मतका साथ विजयी भएका छन। सातै प्रदेशको संयोजक (उपाध्यक्ष) मा पनि मिश्रित परिणाम आएको छ । बागमती प्रदेशमा डा. सुवास भट्टराईले डा. अरुण शाहीलाई १०९ मतको झिनो अन्तरले पराजित गरेका छन । यस्तै गण्डकीमा डा. यज्ञराज सिग्देल, कोशीमा डा. रोशन खड्का, मधेशमा डा. अमित रंजन मिश्रा, लुम्बिनीमा डा. नन्दाकुमारी गुरुङ र कर्णालीमा डा. रविन खड्का विजयी भएका छन । सुदूरपश्चिम प्रदेश संयोजकमा डा. प्रमोद जोशीले ३ हजार ४ सय ८० मत प्राप्त गर्दै सानदार विजय हासिल गरेका छन ।
यस पटकको निर्वाचनमा सह-सचिव पदका उम्मेदवार डा. हुलास अग्रवालले सबैभन्दा धेरै लोकप्रिय मत प्राप्त गरेका छन। उनले ३ हजार ५ सय १० मतका साथ विजयी भएका छन। जुन यो निर्वाचनकै सर्वाधिक मत हो । यस्तै कोषाध्यक्षमा डा. संयुक्ता आचार्य र सह-कोषाध्यक्षमा डा. तेजसु सिंह मल्ल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
६ जना केन्द्रीय सदस्य पदमा डा. पल्पसा श्रेष्ठ र डा. बीना श्रेष्ठले सानदार जित हासिल गरेका छन । डा. पल्पसा २ हजार ७ सय ७८ मतका साथ तेस्रो स्थानमा विजयी भएकी छिन। डा. बीना श्रेष्ठले २ हजार ५५१ मतका साथ चौथो स्थान हासिल गरेकी छिन।
विजयी अन्य सदस्यहरूमा डा. अमित झा (२,७८७), डा. राकेश शाह (२,७८०), डा. सुस्मित काफ्ले (२,४९७) र डा. शेषराज घिमिरे (२,४३८) छन । सदस्य पदकै बलिया प्रतिस्पर्धी डा. अरुण उप्रेती भने २ हजार ३ सय ९९ मत प्राप्त गर्दै सातौँ स्थान हासिल गरेर मात्र ३९ मतको अन्तरले पराजित भइन । उनी डा. विश्वबन्धु शर्माकी श्रीमती हुन। साथै पाेषणविद चिकित्सक पनि हुन।
चिकित्सक संघकाे निर्वाचनमा कुल ७ हजार १०० मत खसेको थियो । नयाँ कार्यसमितिको कार्यकाल २०८२ देखि २०८५ सम्म रहनेछ ।