काठमाडौं । प्रसिद्ध गायक रामकृष्ण ढकालले आफ्नो चरित्र हत्या गरिएको भन्दै प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराएका छन्। सामाजिक सञ्जालमा विभिन्न भ्रामक पोस्ट र ट्रोलमार्फत आफ्नो मानमर्दन गरिएको भन्दै उनले कानुनी उपचारको बाटो रोजेका हुन्।
साइबर ब्युरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) नविन्द अर्यालका अनुसार गायक ढकालले शुक्रबार इमेलमार्फत उजुरी दिएका हुन्। ढकालले उजुरीसँगै आफूलाई लक्षित गरी बनाइएका ट्रोल र सामाजिक सञ्जालका लिंकहरू पनि प्रमाणका रूपमा बुझाएका छन्।
यो विवादको जड केही दिनअघि ढकालले एक सञ्चारमाध्यममा दिएको अन्तर्वार्तासँग जोडिएको छ। उक्त अन्तर्वार्तामा उनले ‘जेनजी’ आन्दोलन र आफ्नो भूमिकाबारे चर्चा गरेका थिए।
सोही क्रममा उनले गत भदौ २४ गते नक्खू कारागारबाट रवि लामिछानेलाई भगाउँदा आफूले गाडी चलाएको भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए। उक्त भनाइ सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा उनको व्यापक आलोचना र ट्रोल सुरु भएको थियो।
गायक ढकालको उजुरी दर्ता भएसँगै साइबर ब्युरोले यस विषयमा गम्भीरतापूर्वक अनुसन्धान अगाडि बढाएको जनाएको छ। सामाजिक सञ्जालमा जथाभाबी सामग्री पोस्ट गर्ने र अरूको चरित्र हत्या गर्ने कार्यमा संलग्नहरूको पहिचान गरी कानुनी दायरामा ल्याइने प्रहरीले बताएको छ।
ढकालले भने आफ्नो अभिव्यक्तिलाई गलत ढंगले व्याख्या गरेर सामाजिक रूपमा अपमानित गर्ने कार्य भएकाले न्यायका लागि प्रहरीको शरणमा पुग्नुपरेको उल्लेख गरेका छन्।